मृत्यु सवैका लागि अप्रिय नै हुन्छ । त्यस माथि कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्वमा लाखौंको संख्यामा मानिसहरुको मृत्यु भएको छ । जतिसुकै शक्तिशाली देश पनि कोभिड–१९ को प्रकोपकबाट प्रताडित नै बनेका छन् । विश्वको महाशक्ती अमेरिका पनि कोभिड–१९ सँग पराजित भइसकेको छ । यसै क्रममा नेपाल पनि महामारीबाट संक्रमित र पीडित बन्दै गएको छ ।
जतिसुकै होशियारी अपनाए पनि कुनै न कुनै रुपमा अदृष्य शत्रुले आम नागरिकलाई छाडेको छैन । त्यसैले विश्व स्वास्थ्य संगठनदेखि सरकारहरुले नागरिक स्वयम् होशियार हुन अनुरोध गरेका छन् । व्यक्तिगत सतर्कता महामारीबाट बाँच्ने सवैभन्दा पहिलो उपाय हो । तरपनि भूलबस भएका क्रियाकलापबाट संक्रमित बनिरहेको अवस्था छ । जीवन निर्वाहका क्रममा हुने गतिविधिले थाहा नपाउँदै संक्रमण बढ्दै गएको छ ।
विश्व नै तहसनहस भईरहेको समयमा नेपाल केही शान्त देखिएको हो । संक्रमणको अवस्थालाई विश्लेषण गर्दा मानवीय क्षति निकै कम हुने आँकलन हुँदै आएको अवस्थामा पछिल्लो दुईदिन भएका दुईजनाको मृत्युले केही प्रश्नहरु उठाई दिएको छ । विशेषगरी क्वारेन्टाईनमै भएको मृत्युले व्यवस्थापन पक्षका बारेमा स्वभाविक प्रश्न उठ्ने छन् । क्वारेन्टाईनमा बस्नु भनेको परिक्षण गरेर संक्रमण भए नभएको पत्ता लगाउने अवधि हो । तर बाँके जिल्लाको एउटा क्वारेन्टाईनमा बसेका युवकले उपचार त के परिक्षण समेत गराउन पाएनन् । काभ्रेकी सुत्केरी महिलाको पनि मृत्युपछि मात्र कोरोना प्रमाणित भएको हो । तर बाँकेका युवा त संक्रमित क्षेत्र भारतको मुम्वईबाट आएका थिए । त्यसैले क्वारेन्टाईनमा राखिएको थियो । तर उनको परिक्षण नै नभई मृत्यु भएको घटनाले सरकारको व्यवस्थापकीय पक्षमा गम्भीर प्रश्न उठाई दिएको छ ।
क्वारेन्टाईनको अवस्था र त्यसको संचालन विधि महत्वपूर्ण पक्ष हो । आशंका लागेकाहरुलाई क्वारेन्टाईनमा राखेपछि सकेसम्म छिटो उनीहरुको परिक्षण गर्नु र नतिजाका आधारमा थप निर्णय हुनु पर्दछ । तर बाँकेको एउटा क्वारेन्टाईनमा किन त्यस्तो व्यवस्थापन भएन ? चार दिनसम्म पनि मृतक युवकको परिक्षण नुहनु, उनी विमारी भए पनि आवश्यक उपचारको व्यवस्था नगरिनु, समयमै अस्पताल पुर्याउने व्यवस्था नहुनु जस्ता कुरा लापर्वाहीका नमूना हुन् । हैन भने क्वारेन्टाईनमा आइपर्ने जस्तोसुकै अवस्थाको सामना गर्ने गरी तयारी हुनुपर्ने थियो । समय अभावमा यी काम हुन नसकेका भनेर उम्कने अवस्था छैन । कोरोना महामारी सुरु भएको करिव छ महिना भइसकेको छ । नेपालमा पनि चार महिनादेखि यसको परिक्षण सुरु भएको हो । दुई महिनादेखि त मुलुक लकडाउनमै छ । यति लामो समयसम्म पनि किन तयारी भएन ? बाँकेको मात्र नभई यो तयारी विहिनताको अवस्था अन्य जिल्लामा पनि छ ।
क्वारेन्टाईनका युवा २४ घण्टादेखि बिरामी पर्नु तर अस्पताल पुर्याउन नसक्नु दुखद पक्ष हो । अस्पताल लानका लागि एम्वुलेन्सको व्यवस्था हुन नसकेको भनिएको छ । क्वारेन्टाईन निर्माण गर्दा आउन सक्ने जोखिमको आँकलन र त्यसको व्यवस्थापनमा किन विचार गरिएन ? एम्बुलेन्स चालकलाई पीपीईको अभाव भनिएको छ । यो भन्दा लाजमर्दो व्यवस्थापन अरु के हुन सक्छ । जे भयो त्यो दुखद घटना हो । तर यसलाई अब शिक्षाका रुपमा लिएर क्वारेन्टाईन वा आईसोलेशनहरुको उचित सुधार हुन जरुरी छ । प्रत्येक क्वारेन्टाईनमा आवश्यक मात्रामा सुरक्षा सामाग्रीसहित स्वास्थ्यकर्मी, एम्वुलेन्स तथा सुरक्षाकर्मीको व्यवस्था हुनै पर्दछ । क्वारेन्टाईनमा राख्दैमा राज्यको दायित्व सकिँदैन बरु थपिन्छ । त्यसैले आशंका गरिएकाहरुको परिक्षण छिटो गर्ने र नतिजाका आधारमा थप निर्णय गर्न चुक्नु हुँदैन नत्र यस्ता घटनाहरु नदोहोरिएलान् भन्न सकिँदैन ।