हेटौंडाः मकवानपुर प्रहरीले गएराति ८० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने फुलमाया तामाङको घरबाट गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरीको टोलीले तामाङको घरमा खानतलासी गर्दा चोटामा लुकाई छिपाई राखेको अवस्थामा ८० किलो लागु औषध गाँजा फेला पारेको थियो । घरधनी फुलमाया तामाङलाई लागु औषध गाँजा सहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिनुभयो ।
कानुनी प्रावधान अनुसार लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।