डा. बज्रकिशोर ठाकुर, प्रमुख भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुर

मकवानपुर जिल्लामा अहिले पशुहरुमा लाग्ने खोरेत रोगविरुद्धको खोप लगाउने तयारी भइरहेको छ । मकवानपुरमा पनि वर्षेनि यो रोगले पशुचौपायाहरु संक्रमित हुने र मर्नेसमेत गरेको छ । यसै सन्दर्भमा समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददाता रवीन्द्र वाइबाले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा. बज्रकिशोर ठाकुरसँग गर्नुभएको कुराकानीः

खोरेत रोग भनेको कस्तो रोग हो ?

ठाकुरः खोरेत रोग गाई, भैंसी, बंगुरलगायत अन्य खुरफट्टा जनावरहरुमा लाग्ने रोग हो । यो पिकोर्ना जातिको विषाणुबाट अति छिटो सर्ने सरुवा रोग पनि हो । खोरेत रोग लागेको जनावरसँग सम्पर्क भएमा वा दूषित दाना, पानी र हावाको माध्यमबाट महामारीको रुपमा फैलने गर्दछ ।

खोरेत रोगको लक्षण के कस्ता हुन्छन् ?

ठाकुरः खोरेत लागेमा पशुले राम्ररी नखाने, मुख तथा गिजामा पानी फोका आउने र पछि फुटेर घाउ बन्ने, अत्याधिकर्‍याल बगाउने, झोक्राउने, ज्वरो १०५ देखि १०६ डिग्री फरेनहाइटसम्म आउने र खुरको कापमा घाउ हुन्छ र पशु लोसे हुने गर्दछ । यसले गर्दा दूधालु गाई, भैंसीको दूध उत्पादन घट्ने हुन्छ । यसले गर्भ रहेका पशुहरूको गर्भ तुहिन सक्ने र साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठीहरु मर्न सक्दछन् ।

खोरेत रोग कसरी वर्षेनि फैलिरहेको पाइन्छ ?

ठाकुरः नेपालमा खुला सिमानाले गर्दाखेरी प्रायः वर्षेनि खोरेत रोग आउने गरेको पाइन्छ । भारतबाट सिधै परीक्षण नगरी गाईभैंसी, खसीबोका, भेडाच्याङ्ग्रा नेपाल भित्र्याउँदा पनि रोग बढेको हो भन्ने लाग्छ ।

खोरेत रोग सर्ने तरिका के के हुन्छन् ?

ठाकुरः रोगी पशुहरुसँगै अन्य पशुहरु राख्दा, रोगी पशुको र्‍यालले दुषित बनाएको दानापानी खाएमा, फोहोर बनाएको भाँडाकुँडामा दानापानी खाएमा र रोगी पशुलाई राखेको खोरमा राखेमा यो रोग सर्नसक्छ । हामीले सकेसम्म रोगी जनावरको मासु र काँचो दूध खानुहुँदैन ।

खोरेत रोग लागे कसरी उपचार गर्ने ?

ठाकुरः खोरेत लागेमा सबैभन्दा पहिला त चिकित्सकको परामर्शमा उपचार गराउनुपर्छ । मुखको घाउ सफा गर्ने, खुट्टाको घाउमा पोटास पानी वा डिटोल वा निलोतुथो वा १० प्रतिशत कपर सल्फेटको झोलले किरा परेको घाउ सफा गर्ने र कुनै मलम औषधि लगाउने गर्नुपर्छ ।

खोरेत रोग कसरी रोकथाम गर्न सकिन्छ ?

ठाकुरः निरोगी पशुलाई ६–६ महिनामा खोरेत रोगविरुद्धकोे भ्याक्सिन लगाउनुपर्दछ । रोग लागेको पशुको अवैधरुपमा ओसारपसार गर्न बन्द गर्नुपर्छ । गोठलाई सफा गरी राख्ने र रोगी पशुलाई बेग्लै राख्ने गर्नुपर्छ । रोगबाट मरेकोलाई खाल्डोमा पुर्नुपर्दछ ।