अन्तरक्रिया कार्यक्रममा सहभागि ।

हेटौंडाः हेटौंडा–४ स्थित भुटनदेवी माविले आगामी शैक्षिकसत्रका लागि सरोकारवालासँग सुझाव संकलन गरेको छ । मंगलबार विद्यालयमा अन्तरक्रियाको आयोजना गरेर सुझाव संकलन गरेको हो । विद्यालयले यसअघि विद्यार्थीसँग समेत सुझाव संकलन गरी शिक्षक–कर्मचारीबीच योजनाका विषयमा छलफल गरिएको प्रधानाध्यापक माधवप्रसाद दाहालले जानकारी दिनुभयो ।

छलफलमा सहभागीले विद्यालयका प्रधानाध्यापकको सशक्त नेतृत्व हुनुपर्ने, शिक्षकहरुको क्षमता विकास गरिनुपर्ने, विद्यार्थीलाई रचनात्मक हुन प्रेरित गर्नुपर्ने सुझाव दिएका छन् । भुटनदेवी माविले विद्यालयको शिक्षक–अभिभावक संघका अध्यक्ष नारायण तिमल्सिनाको संयोजकत्वमा नयाँ भर्ना अभियान सुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फूर्वा दोर्जे लामाले सर्वपक्षीय सल्लाह, सुझावका आधारमा विद्यालयले उपयुक्त काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । १० नम्बर वडा अध्यक्ष समेत रहनुभएका लामाले स्नातक तहमा सिभिल इन्जिनियरिङ विषय सञ्चालन गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभएको छ ।

अन्तरक्रियामा हेटौंडा–४ का वडा सदस्य जगन्नाथ पाण्डे, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार समितिका संयोजक गोविन्द दाहालको पनि उपस्थिति रहेको थियो । प्राविधिक विषय समेत पठनपाठन हुने भुटनदेवी माविमा एक हजार छ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।