प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु वा होली पर्व मनाइन्छ । नेपालीको चाडहरुमध्ये एउटा मुख्य चाड फागु वा होली हो । पहाडमा भन्दा तराई मधेशमा होलीको रौनकता बढी हुने गरेको छ । नेपाल, भारत तथा हिन्दूहरुको बसोबास भएको अन्य स्थानमा होली पर्व धुमधामसाथ मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै मनाइने होलीलाई रङहरुको पर्व पनि भन्ने गरिन्छ । एकआपसमा रङहरु खेलेर यो पर्व हर्षोल्लासपूर्ण मनाइन्छ । जाडो मौसम सकिने र गर्मी मौसम सुरु हुने बेलामा मनाइने यो पर्वको विशेष धार्मिक तथा सांस्कृतिक महत्व पाइन्छ । भातृत्व र आपसी सद्भावको पर्व होली नेपालको तराई र पहाडी क्षेत्रमा फरकफरक दिन मनाइन्छ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा वा होली मनाइन्छ भने । तराई मधेशमा पूर्णिमाको भोलिपल्ट (चैत्र कृष्ण प्रतिपदाका दिन) होली मनाइन्छ । परम्परागत मान्यताअनुसार फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरमा विधिपूर्वक चिर ठड्याएपछि होली पर्व सुरु हुन्छ ।
नेपालमा दिनहुँजस्तो कुनै न कुनै चाडपर्व मनाउने गरिन्छ । जातीय, धार्मिक, सांस्कृतिक, भाषिक र भौगोलिक विविधतायुक्त देश भएकाले नेपालमा धेरै प्रकारका चाडपर्व मनाउने गरिएको हो । हरेक चाडपर्वको आ–आफ्नै धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्व हुने गरेका छन् । चाड पर्वको अर्को महत्वपूर्ण पक्ष भनेको मनोरञ्जन हो । हरेक चाडपर्वले हामीलाई रमाइलो अनुभूति गराई आनन्द दिनुपर्छ । संघर्षमय मानिसको जीवनलाई ऊर्जा प्रदान गर्न यस्ता चाडपर्वले सहयोग गर्दछ । चाडपर्वको रौनक, खुशीयाली, आपसी भेटघाट तथा रमाइलोले हाम्रो संघर्षमय जीवनलाई केही आराम र आनन्द प्रदान गर्छ । चाडपर्वले जीवनका निराशा र थकानलाई हटाएर नयाँ ऊर्जा पैदा गर्न सहयोग पु¥याउँछ । असत्यमाथि सत्यको विजयको स्मरणस्वरुप विभिन्न रङहरु खेलेर मनाइने रंगीन पर्व होलीलाई निकै मनोरञ्जनात्मक पर्व मान्ने गरिएको छ । साथीभाइ तथा इष्टमित्र र परिवारका सदस्यसँग रङहरु खेलेर यो पर्वलाई उल्लासमयरुपमा मनाउने गरिन्छ ।
हरेक पर्व निश्चित देश र समाजका संस्कृतिसँग जोडिएका हुन्छन् । होली पनि यस्तै सांस्कृतिक पर्व हो । तर, पछिल्ला वर्षहरुमा होली खेल्ने क्रममा विभिन्न प्रकारका विकृति देखिने गरेको छ । परिवार, आफन्त, साथी–सङ्गीसँग आपसी सद्भावसहित खेलिने होलीमा जबरजस्ती हुने गरेको छ । फागु पूर्णिमा आउनुभन्दा हप्तौं अघिदेखि रङ छ्याप्ने तथा लोला हान्नेमात्र होइन, होलीका दिन सडकमा निस्कनै नसक्ने स्थिति बन्ने गरेको छ । अनुमतिबिना लोला हान्ने, फोहोर पानीले भिजाउने, हानिकारक रंगहरु दल्नेजस्ता विकृतिले यो पर्वको रमाइलो र आनन्दलाई ओझेलमा पार्ने सम्भावना बढाएको छ । होली खेलेर रमाइलो गर्ने भन्दै भाङ, धतुरोका विभिन्न परिकारका साथै मादकपदार्थ खाएर होहल्ला गर्ने क्रम बढ्दै गएको छ । यसले होली पर्वलाई भड्किलो बनाएको छ । होलीमा देखिएका यस्ता विकृतिले यसको मौलिकता र महत्वलाई घटाउँदै लगेको छ ।
हरेक चाडपर्व संस्कृतिका उपज हुन् भनेर सावित गर्न पनि चाडपर्व मनाउने शैलीमा रुपान्तरण वा सुधार खोज्नैपर्छ । होली खेल्ने क्रममा देखिने विकृतिले हाम्रो संस्कृतिलाई समृद्ध बनाउन सक्दैन । होली पर्वको गरिमा र महत्व जोगाउन आपसी हार्दिकता, भातृत्व र भाइचारा कायम राख्नुपर्छ । हाम्रा कतिपय चाडपर्व मनाउने क्रममा रुढीवादी परम्परामा सुधार ल्याउनु आवश्यक छ । तर, रुढीवादी मूल्य मान्यतालाई परिवर्तन गर्ने नाममा अराजकता र विकृति बढाउनु उचित हुँदैन । हरेक चाडपर्वभित्र रहेका रुढीवादी परम्परालाई त्याग्दै त्यस पर्वको धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अंगाल्नु आवश्यक छ । होली पर्वलाई पनि समयानुकूल परिमार्जन गर्दै यसमा देखिने विकृतिलाई अन्त्य गर्नु पर्छ । फागू पूर्णिमा वा होलीको अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना । ह्याप्पी होली ।