आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी । प्रत्येक वर्ष झैं आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर श्रीपञ्चमी मनाइँदैछ । श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास रहेको छ । विद्या आर्जन, साधना र कला क्षेत्रमा लागेकाहरुले यो पर्वलाई महत्वका साथ मनाउने गर्दछन् । ब्राह्मी, श्री, शारदा, विद्यादायिनी नामले चिनिने सरस्वतीको आराधनाले विद्या प्राप्ति हुने र बोलीमा प्रभाव बढ्ने विश्वास रहेको छ । यस दिन विद्यार्थीहरु बिहान सबैरै स्नान गरी भगवती सरस्वतीसहित पुस्तक, कलम, कापीलगायत पाठ्यसामग्रीको पूजा गर्ने गर्दछन् । श्रीपञ्चमीको अवसर पारेर विद्यालय तथा क्याम्पसमा विभिन्न कार्यक्रम हुने गर्दछन् । यस दिन विशेषगरी बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गर्ने प्रचलन पनि बढ्दै गएको ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रुपमा पूजा–आराधना गर्दछन् । यहि विश्वासका कारण पनि देशभरका शैक्षिक संस्था तथा सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रहेकै कारण विद्यालय नपठाइएका साना बालबालिकालाई श्रीपञ्चमीकै दिनदेखि अक्षरारम्भ गराउने चलन व्यापक बनिरहेको छ । पछिल्ला वर्षहरुमा मन्टेश्वरीलगायत अधिकांश निजी तथा केही सामुदायिक विद्यालयहरुले यसै दिन अक्षरारम्भ गराउने क्रम बढिरहेको छ । सरस्वती पूजाको दिन अक्षरारम्भ गराउनु स्वभाविक भए पनि सबैजसो शिक्षण संस्थाले यस्तो कार्य गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने र अभिभावकहरु प्रभावमा पर्ने सम्भावना बढेको छ ।
श्रीपञ्चमी वा सरस्वती पूजा वसन्त ऋतुको आगमनसँगै मनाइने पर्व भएकाले यसलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । यसैले यस दिन प्रातकालमा वसन्त श्रवण गर्ने परम्परा पनि पाइन्छ । धार्मिक मान्यताअुनसार सबै ज्ञानका साधक सरस्वतीका उपासक हुन् । सरस्वतीको कृपाबिना ज्ञानका चक्षु खुल्नु असम्भव मानिन्छ । आद्यशक्ति भगवतीका कर्मअनुसार भिन्नभिन्न रुप हुने धर्मशास्त्रहरुमा उल्लेख छ । संहार गर्न महाकाली, पालन गर्न महालक्ष्मी र ज्ञानको दीप बाल्न महासरस्वतीको स्वरुप प्रकट भएको धार्मिक विश्वास छ । विद्याकी देवी सरस्वतीको महिमा अपरम्पार छ । ज्ञानको दिव्यज्योति प्रज्वलित गराई संसारको सागरबाट पार लगाउने आद्यशक्ति सरस्वती हुन् । समस्त कला जगतकी प्रतिमूर्ति, ज्ञानकी खानी सरस्वतीलाई विद्याकी देवी मानिन्छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने विशेष दिनका रुपमा पनि यो दिन प्रसिद्ध छ ।
विद्याकी देवी सरस्वतीको विशेष प्रिय दिन वसन्त पञ्चमीलाई सबै क्षेत्रमा भव्यरुपमा मनाइने गरिने भए पनि तराई क्षेत्रमा अझ व्यापकरुपमा मनाउने गरिन्छ । जसले विद्या वा कलाको साधना गर्छ, उसैलाई सरस्वतीको बरदान प्राप्त हुने विश्वास गरिन्छ । यसकारण परिश्रम र मेहनत नै सरस्वतीको अर्को नाम हो भनेर बुझ्नु आवश्यक छ । सरस्वतीको बास्तविक पूजा, आराधना गर्नु भनेको विद्याको चिन्तन, अध्ययन, मनन र अभ्यास गर्नु हो भन्ने सम्पूर्ण विद्यार्थी तथा साधकले बुझ्नु आवश्यक छ । सरस्वतीको मन्दिर तथा मूर्तिमा पूजा गर्दा मनलाई पवित्र बनाई अध्ययनतर्फ रुचि जगाउन प्रेरित गर्दछ । यसकारण आज श्रीपञ्चमीका दिन गरिने सरस्वतीको पूजा आराधनाले सम्पूर्ण विद्यार्थी तथा साधकको मनलाई शुद्ध बनाएर अध्ययन तथा साधनामा मन जाओस्, शुभकामना ।