हेटौंडा ४ कर्रास्थित श्रमिक माविमा सरस्वती पुजाका लागि तयारी अवस्थामा मन्दिर परिसरमा विद्यार्थी र शिक्षकहरु ।

हेटौंडाः प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने श्रीपञ्चमी पर्व आज बिहीबार मनाइँदैछ । देशभर शिक्षण संस्था तथा सरस्वती मन्दिरहरुमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाउने गरिन्छ ।

वसन्त पञ्चमीका नामले समेत चिनिने श्रीपञ्चमीका दिन देवी सरस्वतीको पूजा आराधना गर्नाले विद्या, बुद्धि बढ्ने विश्वास रहँदै आएको छ । यस दिन सरस्वती मन्दिरहरुमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ । सरस्वती पूजा विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ मनाउने गर्दछन् ।

‘सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी, हंस वाहन संयुक्ता विद्यादानं करोतु मे ।’ भन्ने मन्त्र बाचन गरेर सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार विद्याकी देवी सरस्वतीलाई भारती, हंसवाहिनी, शारदा, सरस्वती, जगन्माता, कौमारी, बागीश्वरी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, भुवनेश्वरी र चन्द्रघण्टा गरी १२ वटा नामले पुकारिन्छ । संस्कार, सभ्यता र संस्कृतिकी प्रेरक सरस्वतीको जन्मदिनका रुपमा श्रीपञ्चमीलाई लिइन्छ ।

पौराणिक धर्मग्रन्थमा भगवान् श्रीकृष्णले सरस्वतीसित खुशी भएर श्रीपञ्चमीका दिन तिम्रो आराधना गरिनेछ भनी वरदान दिएको उल्लेख छ । सेतो वस्त्रले सजिएकी सरस्वती सधैँ मुस्कुराइरहने र प्रत्येक मानव जातिलाई मुस्कुराउन प्रेरित गर्ने जनविश्वास छ ।

विद्यालय जाने उमेर भएका बालबालिकालाई श्रीपञ्चमीकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास पाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी विद्यार्थी, शिक्षक, गायक, संगीतकार, साहित्यकार, कलाकार, पत्रकार आदिले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्दछन् ।

श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन जुनसुकै नयाँ कार्यको थालनी गर्दा शुभ हुने मान्यता पनि पाइन्छ । यस दिन बालबालिकाको नाक–कान छेडिदिने कार्य पनि गरिन्छ ।

सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न राष्ट्रिय पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले माग गर्दै आएको छ । महासंघले आफ्नै पहलमा यस दिन विभिन्न कार्यक्रम गरी राष्ट्रिय पुस्तक दिवस मनाउ“दै आएको छ । विसं २०७० सालदेखि सरस्वती पूजाको दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न महासंघले सरकारस“ग माग गर्दै आएको छ ।