हेटौंडाः हेटौंडा ३ बसामाडीमा भएको एक दिन पशु स्वास्थ्य शिविरमा ३ सय पशुको स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा परिक्षण गरिएका पशुहरुमा देखिएको समस्याको समाधानको लागि निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
पशु शिविरमा २ सय २० वटा बाख्रा, १५ वटा सामुदायिक कुकुर र ६५ वटा गाई भैसीको स्वास्थ्य परिक्षण गरिएको पशु चिकित्सक डा. कमल अधिकारीले जानकारी दिनुभयो । पशुहरुमा आन्तरिक र बाह्य परजीविहरुको असर र कुपोषणको समस्या देखिएको उहाँले बताउनुभयो । पशुको स्वास्थ्यमा देखिएको परजीविको असरमा शिविरमा नै औषधि खुवाईएको छ । यस्तै, पशुहरुमा देखिएको कुपोषणलाई न्यूनिकरण गर्न किसानलाई मल्टी भिटामिन वितरण गरिएको छ । हेटौंडा ३ मा अधिकांश पशुहरु चरण गर्ने हुनाले विषालु घाँसको कारण पेट फुल्ने समस्या देखिने गरेको डा. अधिकारीले जानकारी दिनुभयो ।
शिविरमा पशुहरुलाई पेट फुल्ने समस्याको लागि औषधि, चोट पटक हुँदा लगाउने मलम वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको समन्वय तथा पशु सेवा केन्द्र बस्तीपुरको आयोजनामा आयोजनामा शिविर भएको हो । शिविरमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी कृषि तथा पशु शाखा प्रमुख गंगा चौलागाई, पशु चिकित्सक कमल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।