हेटौंडाः मकवानपुरगढी गाउँपालिका–२ स्थित वंशगोपाल माध्यमिक विद्यालय(प्राविधिक शिक्षालय)को आयोजना तथा मकवानपुरगढी गाउँपालिका–२ को प्रायोजनमा न्यानो कपडा वितरण गरिएको छ । सोमबार विद्यालयमा अध्ययनरत ३ सय ५० जना विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरेको विद्यालयका प्रधानाध्यापक सन्देश तुम्सिङ्ग मगरले जानकारी दिनुभयो ।
नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीलाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको मगरले बताउनुभयो । कार्यक्रम वंशगोपाल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पुडासैनीको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका–२ का वडा अध्यक्ष बखान सिंह पाख्रिनको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि पाख्रिनले विद्यार्थीलाई आवश्यक पर्ने सामग्री वितरणले शैक्षिक गुणस्तरमा वृद्धि हुने धारणा राख्नुभयो ।
त्यस्तै विद्यालयका अध्यक्ष पुडासैनीले सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्नुभयो । कार्यक्रममा मकवानपुरगढी–२ का जनप्रतिनिधिहरु पातली माया गोले, राम प्रसाद चौरेले, लक्ष्मी वि.क, सुधारजित गोले, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थीको समेत उपस्थिति रहेको थियो ।