तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । ‘ल्हो’ले वर्ग अथवा वर्ष र ‘छार/सार’ले नयाँ अथवा फेरिनु भन्ने बुझाउँछ । हरेक वर्ष पुस १५ मा गुरुङ समुदायको वर्ग/वर्ष फेरिन्छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रबार तमु ल्होसार पर्व मनाउँदैछन् । विभिन्न धर्म, जातजातिले आफ्नो धर्म, संस्कृति र प्रचलनअनुरुप नयाँ वर्ष मनाउँछन् । नेपालमा रहेका विभिन्न जातिहरुले फरक–फरक समयमा मनाउने नयाँ वर्षले नेपालको जातीय एवम् सांस्कृतिक विविधतालाई उजागर गर्ने गरेको छ । गुरुङ जातिले २६०६ वर्ष अघिदेखि ल्होसार मनाउने गरिएको दावी गरिए पनि यो कहिलेदेखि मनाउन थालिएको भन्ने यकिन छैन । तर, गुरुङ जातिले परापूर्व कालदेखि पुस १५ लाई वर्ग फेरिने दिनको रुपमा मनाउने गरेको र यसै दिनलाई नयाँ वर्षको रुपमा धुमधाम मनाउँदै आएको विश्वास गर्न सकिन्छ । गुरुङ जातिको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा विशेष हुने ल्होसार देशका अन्य भागमा रहेका गुरुङ जाति र विदेशमा रहेका गुरुङहरुले पनि उत्तिकै महत्वका साथ मनाउने गरेका छन् ।

चिनियाँ पात्रोअनुसार ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन् । एसिया महादेशका केहि मुलुकहरुमा नयाँ वर्ष ल्हो पद्दतिमा आधारित छ । विभिन्न १२ वटा पशुपक्षीहरुको नामबाट १२ वटा ल्हो को नाम रहेको छ । हरेक १२ वर्षपछि फेरि सुरुकै वर्ग आउँछ । च्यु (मुसा), लोङ (गाई/गोरु), तो (बाघ), ह्यीव (बिरालो/खरायो), मुप्री/प्हु (गरुड), प्हस्/सप्रि (सर्प), त (घोडा), ल्हु (भेडा), प्र (बाँदर), च्ह्य (चरा), खि (कुकुर) र फो (मृग) गरी १२ वटा वर्ग छन् । यसवर्ष तमु ल्होसारदेखि बाघ वर्ग समाप्ता भई बिरालो वर्ग सुरु हुनेछ । गुरुङको हरेक शुभ/अशुभ कार्य गर्दा वर्ग हेरेर गर्ने गरिन्छ । हरेक वर्षजस्तै यस वर्ष पनि बिरालो वर्गको नयाँ वर्ष (ल्होसार)लाई सबैको शुभ होस् भनी तमु गुरुङ परम्पराअनुसार ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने तयारी गरिएको छ ।

नेपालमा गुरुङसँगै तामाङ, शेर्पालगायत अन्य हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले पनि ल्होसार पर्व मनाउँछन् । ल्होसारलाई तमु (तोला), सोनाम र ग्याल्बो तीन थरीले मनाउँदछन् । पौष कृष्ण प्रतिपदाको दिनदेखि तमु ल्होसार मनाउने गरिन्छ । नेपालमा गुरुङ (तमु)ले मनाउने ल्होसारलाई तोला पनि भन्ने गरिन्छ । माघ शुक्ल प्रतिपदादेखि तामाङ, थकाली, हेल्मो, शेर्पा आदि जातिले सोनाम ल्होसार मनाउँदछन् । सोनाम ल्होसार मनाउनेको संख्या नेपालमा बढी छ । त्यस्तै ग्याल्बो ल्होसार नेपालमा रहेका तिब्बतीहरुले फाल्गुण कृष्ण प्रतिपदाको दिनदेखि मनाउने गर्दछन् । ल्होसार नेपालमा मात्र नभई तिब्बत, चीन र मंगोलिया आदि देशहरुमा पनि मनाइन्छ । तमु ल्होसारको अवसरमा आज पुस १५ गते नेपाल सरकारले सार्वजनिक विदा पनि दिएको छ । देशका प्रमुख जातजाति र धार्मिक समुदायका मानिसले मनाउने चाडपर्वमा सार्वजनिक विदा दिएर सम्पूर्ण नेपालीले सबै जातजातिको पर्वको बारेमा बुझ्ने मौका पाएका छन् ।

कुनै पनि चाडपर्वले सम्बद्ध जाति तथा कर्म विशेषको सांस्कृतिक पहिचान उजागर गर्दछ । तमु ल्होसारले पनि गुरुङ जातिको संस्कृति, पहिचान र इतिहास बोकेको छ । गुरुङहरुको संस्कृति, सभ्यता र समग्र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको महत्व बढी देखिन्छ । विगतमा गुरुङ परिवार र समुदायमा सीमित यो पर्व अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचलित बनेको छ । यसलाई नेपालका गुरुङले मात्र नभएर विभिन्न देशमा बस्ने गुरुङले पनि मनाउन थालेका छन् । गुरुङ जातिका पहिचान झल्किने खालका विभिन्न कार्यक्रमसहित सामूहिक, संगठित र व्यवस्थित तरिकाले राष्ट्रिय पर्वकै रुपमा तमु ल्होसार मनाउने परिपाटी सुरु भइसकेको छ । त्यसैले तमु ल्होसारको अवसरमा गुरुङ समुदायका साथै सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।