हेटौंडाः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित हुनुभएकी महालक्ष्मी उपाध्याय “डीना” ले प्राविधिक त्रुटिका कारण चुनाव हार्नुपरेको बताउनुभएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले पार्टी भित्रकै असन्तुष्टिले चुनावमा पराजित हुनु परेको बताउनुभएको हो ।
डीनाले निर्वाचनमा आफु मत र मनले नभई पार्टी भित्र प्राविधिक त्रुटि हुँदा हारेको बताउनुभयो । उहाँले निर्वाचनको बेलामा पार्टीभित्र भएको प्राविधिक त्रुटिहरुको बारेमा समिक्षा गरिने बताउनुभयो । चुनावमा सहभागिता हुँदा जित सुनिश्चित भएकै अवस्थामा होमिएको र केही त्रुटिका कारण चुनाव पराजित भएको उहाँको भनाई छ । हरेक पार्टीमा घात–अन्तरघात र सन्तुष्ट–असन्तुष्ट भइरहने बताउनुहुँदै डिनाले यसको बारेमा पनि पार्टीमा समिक्षा गर्ने बताउनुभयो ।
उहाँले चुनावी अभियानका क्रममा मतदाताहरुले भनेका कुरा, मतदाताहरुको सपना र जिल्लाको विकासका कुरामा आफु पनि उत्साहित रहेको बताउनुभयो । मतदाताहरुको त्यो उत्साह निर्वाचन पराजित भएपनि निराशामा परिणत हुन नदिने उहाँले प्रतिबद्धता समेत जनाउनुभयो । “घरदैलोमा जाँदा मतदाताहरुले भनेको कुराहरु र जनताहरुको आशा र भरोसा पराजित हुँदा पनि कानमा गुञ्जिरहेका छ, मतदाताहरुको यो आवाजलाई गठबन्धनको सरकारमा पार्टीको तर्फबाट पुर्याउने छु” उहाँले भन्नुभयो ।
आम मतदाताले उत्साहका रुपमा मतदान गरेकोमा उहाँले धन्यवाद प्रकट गर्नुभयो । कांग्रेस सहमहामन्त्री समेत रहनुभएकी डीना गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर १ मा साझा उम्मेदवार बन्नुभएको थियो । डीना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बहादुर सिंहसँग २ हजार ३ सय ८२ मतान्तरले पराजित हुनुभएको थियो ।
यस्तै, गठबन्धनकै तर्फबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्नुभएका आनन्दराम पराजुलीले पनि प्राविधिक कारणले चुनाव हार्न पुगेको बताउनुभयो । उहाँले यो चुनावमा एक–दुई सिट जितेर गएकाहरुले सदनमा के–कतिको काम गर्न सकिन्छ भनी जनतामाझ पुर्याउन र बुझाउन नसकेको होकी भन्ने लागेको बताउनुभयो । आफु पराजित भएपनि मतदाताबाट टाँडा नरहने उहाँले बताउनुभयो । उहाँले जनताको मत र मनको सम्मानलाई कहिल्यै पनि टुट्न नदिने बताउनुभएको छ ।