हेटौंडाः विद्यालयमा जुनियर रेडक्रस सर्कलको पदाधिकारी चयन तथा विद्यालयको क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन चयनका लागि शुक्रबार निर्वाचन भएको हो । विद्यालय परिसरमा आम निर्वाचनकै झल्को दिने गरी निर्वाचन भएको छ ।
विद्यालयले निर्वाचन आयोगको कार्यालयबाट निर्वाचनमा प्रयोग हुने सामग्री व्यवस्थापन गरेर निर्वाचन गराएको छ । विद्यालयका शिक्षक, कर्मचारीले निर्वाचन अधिकृत, मतदान अधिकृतको रुपमा भूमिका निर्वाह गरी निर्वाचनको प्रक्रियालाई सहजीकरण गरेका छन् । विद्यार्थीको नेतृत्व एवम् व्यक्तित्व विकासका लागि सहजीकरण गर्ने उद्देश्यले व्यवस्थित रुपमा निर्वाचन गरिएको प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभयो ।
निर्वाचनबाट विद्यालयको रेड हाउस क्याप्टेनमा कक्षा–८ की आयुसा खातुन, भाइस क्याप्टेनमा कक्षा–९ की श्रीया खत्री, ग्रीन हाउस क्याप्टेनमा कक्षा–७ का अनिक गुप्ता, भाइस क्याप्टेनमा कक्षा–७ की कृष्टिना लोप्चन विजयी भएका छन् । एल्लो हाउस क्याप्टेनमा कक्षा–५ की खुशी मगर, भाइस क्याप्टेनमा कक्षा–८ की प्रियंका साह, ब्लु हाउस क्याप्टेनमा कक्षा–८ का सुसन लामा, भाइस क्याप्टेनमा कक्षा–८ की सलिना आले मगर विजयी भएका छन् । यस्तै जुनियर रेडक्रस सर्कलको अध्यक्षमा कक्षा–९ का सुमन घलान, उपाध्यक्षमा कक्षा–९ कै पूर्ण वाईबा, सचिवमा कक्षा–८ का नेमत खातुन, कोषाध्यक्षमा कक्षा–७ की रिदिमा शाही निर्वाचित भएका छन् ।
विद्यालयले कात्तिक ३० गते निर्वाचनको घोषणा गरेको सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेलले जानकारी दिनुभयो । कक्षा ४ देखि ९ कक्षासम्मका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको जानकारी गराउनुहुँदै सहायक प्रधानाध्यापक प्याकुरेलले भन्नुभयो, ‘कक्षा ४ देखि १० कक्षासम्मका ३ सय ७ जना विद्यार्थी मतदाताको रुपमा सहभागी भएका छन् ।’
जुनियर रेडक्रस सर्कलको सहसचिवमा मनिषा स्याङ्तान, सदस्यमा लक्ष्मी कुमारी राम, कृष्ण कुमार साह, युलिसा चौलागाई र सुजिता गोङ्बा सर्वसम्मत निर्वाचित भएका छन् भने स्कूल भाइस क्याप्टेनमा प्रगति मालि सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचनको प्रक्रियामा सहभागी विद्यार्थीलाई व्यवस्थित रुपमै प्रमाणपत्र वितरण गरी उनीहरुलाई विद्यालयको जिम्मेवार व्यक्ति र विद्यालयको समग्र विकासमा उनीहरुले प्रतिनिधिमूलक सुझाव, सल्लाह र विद्यालयको शैक्षिक वातावरण निर्माणमा सहयोगी भूमिकामा क्रियाशील गराइने प्रधानाध्यापक दाहालले जानकारी दिनुभयो ।