प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणामले मतदाताको छनौटमा परिवर्तन देखिएको छ । यसले आगामी दिनमा पुराना दल तथा नेतृत्वका लागि ठूलो चुनौती बन्ने सम्भावना बढाएको छ । मतगणनाको हालसम्म सार्वजनिक परिणामले राजनीतिक दलहरुको हैसियतमा पनि व्यापक परिवर्तनको संकेत देखाइरहेको छ । यसले अब बन्ने सरकारका लागि दलहरुबीचको समीकरण पनि फेरिने सम्भावना व्यापक बनेको छ । सरकार गठनमा पनि जटिलता बन्ने अवस्थाले देशमा फेरि राजनीतिक अस्थिरताले प्रश्रय पाउने आशंका बढेको छ । निर्वाचनको अहिलेसम्मको मतपरिणामबाट कुनै पनि दलको बहुमत आउने सम्भावना देखिएको छैन । नेपाली कांग्रेस र नेकपा एमाले क्रमशः पहिलो र दोस्रो दल बन्ने सम्भावना रहेका र यी दुबै दल मिलेर सरकार बनाउने अवस्था नभएमा बाँकी सबैजसो साना दलहरुलाई साथ लिएर एउटा दलले सरकार बनाउनुपर्ने हुनसक्छ ।

हरेक निर्वाचनसँगै राजनीतिक दलहरुको वरियतामा परिवर्तन भइरहेको छ । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनको परिणामलाई हेर्ने हो भने राजनीतिक दलहरुलाई मतदाताले परीक्षण गरिरहेको देखिन्छ । २०४८ सालको आम निर्वाचनमा बहुमतसहित ठूलो दल बनेको कांग्रेस २०५१ को मध्यावधी निर्वाचनमा एमालेभन्दा पछि पर्‍यो । मतदाताले एमालेलाई पहिलो र कांग्रेसलाई दोस्रो दल बनाए । २०५६ को आम निर्वाचनमा फेरि कांग्रेसले बहुमतसहित पहिलो दल बन्दा एमाले दोस्रो बन्यो । २०६४ सालको संविधानसभा निर्वाचनमा नयाँ शक्तिको रुपमा देखिएको माओवादीलाई मतदाताले पहिलो दल बनाए भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मतदाताले फेरि कांग्रेसलाई पहिलो दल बनाए भने माओवादी तेस्रो स्थानमा पुग्यो । २०७४ सालको आम निर्वाचनमा कांग्रेसलाई दोस्रो नम्बरमा पु¥याउँदै एमालेलाई पहिलो दल बनाए । यस पटकको निर्वाचनमा मतदाताले पुनः एमालेलाई दोस्रो नम्बरमा पु¥याएर कांग्रेसलाई पहिलो दल बनाउने सम्भावना मतपरिणामले देखाइरहेको छ ।

प्रत्येक पटकको निर्वाचनमा आम मतदाताले नयाँ विकल्प खोजेको भए पनि उपयुक्त विकल्प नहुँदा भएकै दलहरुलाई पालैपालो मौका दिएको निर्वाचनको परिणामले देखाएको छ । मुलुकमा ३ दशकदेखि कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी दल बनिरहेका छन् । शासन व्यवस्था नै परिवर्तन गर्न र देशमा आमूल परिवर्तन गर्न भन्दै १० वर्षसम्म जनयुद्ध लडेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादीलाई पनि एक पटक आम मतदाताले मौका दिएकै हुन् । त्यसबाट पनि आशाअनुरुप काम नभएपछि आम मतदाता कांग्रेस र एमालेलाई नै पालैपालो परीक्षण गर्न बाध्य बनिरहेको निर्वाचन परिणामले देखाएको छ । यस पटकको निर्वाचनमा पनि मतदाताले केही नयाँ परीक्षण गर्न खोजेको देखिन्छ । पुराना दलहरुको विकल्प बन्न सक्ने सम्भावना देखाएको नयाँ दल तथा युवा नेतृत्वको परीक्षण गर्न खोजेको आभाष मतपरिणामले देखाएको छ ।

राजनीतिक दल तथा त्यसका नेतृत्वले नागरिकको सेवाभन्दा सत्ता स्वार्थमा केन्द्रित भएकै कारण कुनै पनि दलप्रति मतदाता विश्वस्त हुन सकेको देखिँदैन । दलहरुले राम्रो काम गर्न सकेको भए प्रत्येक निर्वाचनमा जनमत परिवर्तन हुँदैन थियो होला । राम्रो काम गर्ने दल तथा नेतृत्वलाई आम मतदाताले पक्कै साथ दिन्थे होला । व्यक्तिगत र सत्ता स्वार्थ एवम् राजनीतिक भागवण्डा र दाउपेचमा रुमल्लिएको वर्तमान राजनीतिक दलहरुप्रति मतदाताको असन्तुष्टिलाई अहिलेको निर्वाचन परिणामले उजागर गरेको छ । यसलाई बुझेर वर्तमान राजनीतिक दल तथा त्यसको शीर्ष नेतृत्व नसच्चिने हो भने आगामी दिनमा मतदाता ती दल तथा नेताप्रति अझ कठोर बन्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।