आम निर्वाचनको प्राप्त हुँदै गएको मतपरिणामले आगामी राजनीतिमा नयाँ समीकरणको सम्भावना देखाएको छ । पुराना दलहरु भन्दा पनि पुरानो नेतृत्वप्रति आम नागरिकको असन्तुष्टि देखिएको छ । जसरी पनि निर्वाचन जित्नै पर्ने र सत्तामा पुग्नुपर्ने मनोविज्ञानबाट दलहरुले रणनीति बनाएका थिए तर नागरिकले मताधिकार मार्फत भिन्न परिस्थिति निर्माण गर्ने अवस्था देखिएको छ ।

नागरिक सेवा भन्दा सत्ता स्वार्थकै लागि दलहरुले सिद्धान्तविहिन गठजोड गरेर निर्वाचनमा भाग लिएका थिए । जनमतलाई दलहरुले भागवण्डा गरेको देखिन्छ । नागरिक भनेका दलहरुका निजी सम्पत्ति जस्तै भाग गर्दाको परिणाम यतिबेला पुराना दलका पुराना नेताहरुले भोग्ने अवस्था बन्दै गएको छ । आफुले ईच्छा गरेको दलको चुनाव चिन्हमा मतदान गर्न नपाउने अवस्था नागरिक अधिकार कसरी सुरक्षित भयो ?

जनतालाई भागवण्डा गर्दाको परिणाम यतिबेला दलहरुले भोग्दै छन् । आफ्नो सिद्धान्त एउटा तर मत अर्को दललाई दिनुपर्ने दलीय उर्दीलाई नागरिकले स्वतः अस्विकार गरिदिएका छन् । जसको प्रमाणका रुपमा भर्खरै मात्र गठन भएका स्वतन्त्र पार्टीले पाएको जनमतलाई लिन सकिन्छ । नयाँ दल प्रतिको आकर्षण भन्दा पनि पुराना दलको गैरराजनीतिक चरित्र प्रतिको विकर्षण निर्वाचनको पछिल्लो परिणाम हो ।

पूर्व सन्चारकर्मी रवि लामिछानेको दल यतिबेला देशव्यापी उदाउँदै गएको छ । आगामी सत्ता सन्चालनमा महत्पूर्ण भूमिका खेल्न सक्ने हैसियत देखिएको छ । लामिछानेको उमेर भन्दा निकै बढी राजनीतिक जीवन बिताएका नेताहरु अस्ताउने अवस्थामा पुगेका छन् । वर्तमान व्यवस्थाका लागि अनेक दुःख कष्ट गरेका नेताहरु प्रति किन नागरिकको भरोसा भत्कँदै गएको भन्ने पक्षबाट दलहरुले नै समिक्षा गर्नुपर्ने देखिन्छ ।

नागरिकले निर्वाचनको माध्यमबाट पुरानो दल वा सिद्धान्त त्यागेका भन्दा पनि नेतृत्व मात्र परिवर्तन खोजेको स्पष्ट छ । कांग्रेस, एमाले वा माओवादी भित्रका युवाहरुप्रति नागरिकको भरोसा अझै कायम राखेका छन् । उम्मेद्वार बनेका धेरैजसो युवाप्रति नागरिक अझै विश्वस्त देखिन्छन् । त्यसैले पुराना दलका नयाँ पुस्तालाई आगामी संसदमा पठाउने लक्षण देखिएको छ ।

आइरहेको मतपरिणामले राजनीतिप्रति वितृष्णा भन्दा पनि पुरानो पुस्ताका नेताहरुको व्यवहार, सोच, चिन्तनप्रति नागरिकले असहमति जनाएको देखियो । यस्तै नागरिकलाई रैती सम्झने र व्यवहार गर्ने दलीय एकाधिकार विरुद्धको नागरिक विद्रोहका रुपमा नयाँ शक्तिको उदयलाई लिन सकिन्छ ।

देशमा बढ्दै गएको कुशासन, वेरोजगारी, अन्याय, अविकास विरुद्ध नागरिकले आफ्नो मताधिकारबाट परिवर्तनको चाहना राखेका छन् । जनताको यो अभिमतलाई सम्मान गर्दै दल र नेतृत्व सच्चिन आवश्यक छ । सानै उमेरमा सत्तामा पुग्ने सपना नदेख्न नेताहरुले दिएको चेतावनीलाई युवापुस्ताले चुनौतीका रुपमा लिएका छन् ।

सत्तामा पुग्न आन्दोलन गर्नुपर्ने वा जेलजीवन बिताउनु पर्ने वा निश्चिन उमेर पार गर्नुपर्ने भन्ने सोचाई विरुद्ध नयाँ पुस्ता अघि आएको छ । नयाँ दल, नयाँ नेतृत्व वा पुरानै दल भए पनि नयाँ पुस्तालाई जिताएको देखिन्छ । आउँदै गरेको मत परिणामले आगामी सत्तामा पनि नयाँ समीकरण निर्माण हुन सक्ने देखिन्छ ।

पुरानै मध्येका दलहरु नै ठूलो हुने अवस्था छ । तर त्यस दलका युवाहरुले नेतृत्वका लागि अग्रसर हुने आँट गर्नु पर्दछ । आवश्यक परेमा संसदमै पनि विश्वासको मतका लागि नयाँ दल र युवा एक ठाउँमा भेला हुन सक्नु पर्दछ । दलीय घेरा भन्दा माथि नयाँ सोचका साथ अघि बढ्ने आँट गर्ने हो भने मात्र देशले खोजेको नयाँ पुस्ताको सार्थकता हुनेछ ।

आगामी सत्ताका लागि दुई गठवन्धन चुनावमा होमिएका हुन् । तर नतिजाले दुवै गठवन्धन भन्दा भिन्न शक्तिका साथ नयाँ दलको उदय हुँदैछ । जसले गर्दा गठवन्धनवालाहरुले सरकार बनाउन सक्छन र ? भन्ने प्रश्न उठेको छ । यदि दुवै तर्फका गठवन्धन भित्रबाट सरकार निर्माण गर्न नसेको खण्डमा नयाँ दलको साथ लिनुको विकल्प हुने छैन । नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीलाई वेवास्ता गरेर सरकार सन्चालन हुन नसक्ने अवस्था आउने देखिँदैछ ।

जसले जसरी गठजोड गरेर सरकार निर्माण गरे पनि हिजोको परम्परा धान्ने भन्दा नयाँ सोच र योजनाका साथ मन्त्रीहरुले काम गर्ने गरी व्यक्तिको छनौट गरिनु पर्दछ । नयाँ दलले पनि सत्ताकै लागि चावीको काम भन्दा नागरिकको सेवा सुविधाका सर्तमा मात्र सत्तामा जानुपर्ने छ । नत्र भने पुरानै वोतलमा नयाँ रक्सी मात्र हुनेछ ।

मतदानमा जनसहभागिता कम हुँदै गर्दा पनि नयाँ विकल्पको खोजी गरेको देखिन्छ । कम सहभागिताले निर्वाचनप्रतिको अविश्वास देखाएको छ भने कम सहभागिताबाट पनि नयाँ शक्तिको खोजी हुनुको सार्थकता त्यतिबेला मात्र पूरा हुनेछ जव परम्परागत नेतृत्वभन्दा नयाँ पुस्तामा हस्तान्तरणको वातावरण बन्नेछ ।