आवधिक निर्वाचन लोकतन्त्रको सबैभन्दा सबल र सुन्दर विशेषता हो । लोकतन्त्रमा सार्वभौमसत्ता जनतामा निहित हुन्छ । जनताले आफ्नो सार्वभौमसत्ता आवधिक निर्वाचनमा मतदानबाट व्यक्त गर्दछन् । संसदीय शासन व्यवस्था भएको मुलुकमा सबैभन्दा बढी जनताले मत दिएका उम्मेदवार जनताको प्रतिनिधि बनेर शासन सञ्चालन गर्दछन् । यो भनेको मतदानमा सहभागी भएका जनताले प्रदान गरेको सदर मतमध्ये बढी मत ल्याउने व्यक्ति निर्वाचित हुने हो । भलै आधाभन्दा बढी जनताले निर्वाचनमा मतदान नगरे पनि खसेको मतमध्ये सबैभन्दा बढी मत ल्याउने व्यक्ति विजयी हुने हो । बहुमत ल्याउने व्यक्ति विजयी हुने भनिए पनि मतदानमा मतदाताको आकर्षण घट्दै जाँदा वास्तविक बहुमत आउने अवस्था हुँदैन । अल्पमतमात्र मतदानमा सहभागी हुने, ती मत पनि दशौं व्यक्तिमा बाँडिने र कुल मतदाताको ८–१० प्रतिशतमात्र मत ल्याए पनि विजयी हुने निर्वाचन प्रणालीले वास्तवमा जनताको सार्वभौमसत्ताको प्रतिनिधित्व गर्न सक्दैन ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि मतदाताको उल्लेख्य सहभागिता देखिएन । कुल मतदातामध्ये करिब ६१ प्रतिशतले मात्र मतदान गरे । यो देशव्यापी आँकडा हो । जिल्ला र क्षेत्रगतरुपमा हेर्ने हो भने कतिपय ठाउँमा ५० प्रतिशतभन्दा कम मत खसेको पाइन्छ । सतहीरुपमा हेर्दा यसले निर्वाचनप्रति मतदाताको आकर्षण घट्दै गएको देखिए पनि यसले हाम्रो निर्वाचन पद्दति र संसदीय शासन व्यवस्थाको कमजोरी उजागर गर्दछ । देशभर १ करोड ७९ लाख ८८ हजार ७० मतदातामध्ये १ करोड ९ लाख ७३ हजार २७ जनाले मतदान गरेको निर्वाचन आयोगको तथ्यांक छ । यसबाट करिब ७० लाख मतदाताले मतदान नगरेको प्रष्ट हुन्छ । यति ठूलो संख्यामा मतदाता मतदानमा सहभागी नभएको अवस्था रहनु चिन्ता र चासोको विषय हो । अर्कोतिर मतदान गर्नपाउने उमेर भएर पनि विविध कारणले मतदाता नामावलीमा नाम समावेश नभएका मानिसहरुको आँकडालाई पनि नजरअन्दाज गर्नु हुँदैन ।
मतदाता नामावलीमा नाम भएर पनि मतदान गर्न नजाने, मतदान गर्नकै लागि भनेर आफ्नो मतदाता नामावली भएको क्षेत्रमा नजाने, मतदानको समयमा देशभित्रै नहुने अनि मतदाता नामावलीमा नाम समावेश नभएकै कारण मतदान गर्नबाट वञ्चित हुनेको यथार्थ तथ्यांक आउनुपर्छ । यस्तो तथ्यांकले निर्वाचनप्रति मतदाताको आकर्षण कम भएको हो वा राज्य संयन्त्रले मतदानका लागि मतदातालाई जागरुक बनाउन नसकेको हो भन्ने यकिन गर्न सकिन्छ । मतदानप्रति मतदाताको आकर्षण कम हुनुमा राजनीतिक दल र विगतमा विजयी भएका प्रतिनिधिको कार्यशैली पनि जिम्मेवार हुनसक्ने तथ्यलाई पनि केलाउन आवश्यक छ ।
मतदानप्रति मतदाताको आकर्षण बढाउनु आवश्यक छ । मतदान गर्न योग्य नागरिक कति छन् ? र तीमध्ये मतदाता नामावलीमा नाम उल्लेख नभएका कति छन् ? भन्ने पहिचान गरेर मतदाता नामावली अद्यावधिक गर्नुपर्छ । मतदाता नामावलीमा नाम दोहोरिएका र मृत्यु भइसकेका तर मतदाता नामावलीबाट नाम नहटाइएका मतदाताको नाम कसरी हटाउने भन्नेतर्फ पनि निर्वाचन आयोगको ध्यान जानुपर्छ । निर्वाचन घोषणा भएपछि ३–४ महिना सक्रिय भएर निर्वाचन गराउने र बाँकी ४ वर्ष निस्क्रियजस्तो बन्ने निर्वाचन आयोगको कार्यशैलीमा पनि सुधार गरिनुपर्छ । निर्वाचन आयोग र यसको प्रदेश एवम् जिल्लास्तरका कार्यालयले नियमितरुपमा निर्वाचन प्रक्रिया र त्यसको आवश्यक तयारी गर्नुपर्छ । साथै, निर्वाचनको महत्व आम नागरिकलाई बुझाउन पनि निर्वाचन आयोग गम्भीर बन्न सकेमा बदर मत घटाउन र मतदानप्रति मतदाताको आकर्षण बढाउन सकिन्छ ।