हेटौँडा : लागूऔषध खैरो हेरोईनसहित एक दम्पत्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार साँझ ६ बजेर २० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट लागूऔषध खैरो हेरोईनसहित मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ घर भई हाल हेटौँडा–१, चौकीटोलमा डेरा गरी बस्ने २४ वर्षीय रुपेश घलान र उनकी श्रीमति २१ वर्षीया एलिसा थिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आइतबार मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर दुबैजनालाई हिरासतमा राखी थप अनुसन्धान सुरु गरेर प्रहरीले घटनाबारे जानकारी गराएको छ । बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०२–००१ ख ४१४७ नम्बरको बसमा सवार रुपेश र एलिसाको साथबाट ३ ग्राम ३१० ग्राम लागूऔषध खैरो हेरोईन बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा डेढ वर्षदेखि दुबैजनाले लागूऔषध प्रयोग गर्न थालेका हुन् । छिमेकी देश भारतको सीमावर्ती सहर रक्सौलबाट लागूऔषध प्रयोगकर्ता र कारोबारीले खैरो हेरोईनसहित औषधीजन्य लागूऔषध तस्करी गर्ने गरेका छन् ।