हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाका सामुदायिक विद्यालयहरुले साना कक्षाका विद्यार्थीको सिकाइमा पर्याप्त ध्यान दिन सकेका छैनन् । बाह्य परीक्षा सञ्चालन हुने माथिल्ला केही कक्षाका विद्यार्थीको पठनपाठनमा विद्यालय बढी सक्रिय भएपनि साना कक्षाका विद्यार्थीको सिकाईमा भने विद्यालयको ध्यान जान सकेको छैन ।

साना कक्षाका विद्यार्थीको आन्तरिक परीक्षा हुने, निरन्तर मूल्यांकन प्रणाली र सहजै माथिल्लो तहमा कक्षा चढाउने प्रवृत्तिका कारण विद्यालयले उनीहरुको सिकाईमा बेवास्ता गर्ने गरेको हेटौंडा – १, चाइनाक्वाटरस्थित अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले बताउनुभयो । विद्यालयमा तोकिएको उपस्थिति (हाजिरी) संख्या, अतिरिक्त क्रियाकलापमा सहभागिताजस्ता सामान्य मूल्यांकनबाट कक्षा चढाउने मूल्यांकन पद्दतिका कारण पनि साना कक्षा र उनीहरुको सिकाइमा बेवास्ता भइरहेको उहाँले जानकारी दिनुभयो ।

कक्षा–१ मै सिक्नुपर्ने आधारभूत कुराहरुसमेत कक्षा – ३ मा अध्ययनरत कतिपय विद्यार्थीले सिक्न नसकेको प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभयो । विद्यालय तहको शिक्षामा कक्षा १० र कक्षा १२ लाई महत्वका साथ लिने गरिएको छ । देशभर उक्त कक्षाको नतिजाको विश्लेषण हुने र त्यसैका आधारमा विद्यालयको शैक्षिक स्तर मापन हुने गरेका कारण विद्यालयका साना कक्षाको सिकाइमा ध्यान कम हुने गरेको उहाँले बताउनुभयो । विद्यालयहरुले पालिकास्तरमा सञ्चालन हुने कक्षा ८, राष्ट्रियस्तरमा सञ्चालन हुने कक्षा १० र १२ को परीक्षाको तयारीलाई बढी प्राथमिकता दिने गरेको प्रधानाध्यापक उप्रेतीको धारणा छ ।

तल्लो तहबाटै सिकाइ उपलब्धि हासिल गर्न उचित सहजीकरणको अभ्यास विद्यालयले गर्दै आइरहेको प्रधानाध्यापक उप्रेतीले बताउनुभयो । विद्यालय प्रशासनले विद्यार्थीको नतिजालाई सुधारउन्मुख बनाउन अभिभावकसँग कक्षागतरुपमा अन्तरक्रिया गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । “बालबालिका सबैको अवस्था उस्तै नहुने भएकाले बाल मनोविज्ञानलाई बुझेर अध्यापन गर्नुपर्छ”, प्रधानाध्यापक उप्रेतीले भन्नुभयो– “जसले गर्दा तल्लो तहको शिक्षण सिकाइमा सुधार ल्याउन कठिन हुने गरेको छ ।” विद्यालयले गत भदौ १३ गतेदेखि सञ्चालन गरेको प्रथम त्रैमासिक परीक्षाको नतिजा सन्तोषजनक रहेको तर चित्ताबुझ्दो नभएको उहाँले बताउनुभयो ।

अमर माध्यमिक विद्यालयका शिक्षक राजनराज शर्माले विद्यार्थीको शिक्षण सिकाइप्रति लगाउने दोषारोपणमा सबै दोषी रहेको दावी गर्नुभयो । शिक्षण सिकाइमा सुधार नहुनुमा अभिभावक, शिक्षक र स्थानीय तहले लगाउने एकअर्काप्रतिको दोषारोपणमा ती जिम्मेवार निकाय पनि दोषी भएको उहाँको धारणा छ । विद्यार्थी संख्या बढी रहेकाले पनि माथिल्लो कक्षाको सिकाइमा प्रभाव पर्ने उहाँले बताउनुभयो । पढाउने जिम्मेवारी शिक्षकको भएकाले कस्तो शिक्षण विधिबाट विद्यार्थीलाई कसरी पढाउने भन्ने कुरा शिक्षकले बुझ्नुपर्ने उहाँको भनाइ छ ।

विद्यालय शिक्षासँग सम्बन्धित नीति र नियमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन नसक्नुमा सरकार दोषी हुने उहाँले दावी गर्नुभयो । सामुदायिक विद्यालयमा उपयुक्त लगानी र दरबन्दी उपलब्ध नगराउँदा स्थानीय तह पनि दोषी बन्ने गरेको शिक्षक शर्माले बताउनुभयो । साना बालबालिकालाई प्राथमिक तहसम्म संस्थागत विद्यालयमा अध्ययन गराउने परिपाटी भएकाले त्यस्ता विद्यार्थीले अँग्रेजी भाषा सजिलै सिक्ने भए पनि अन्य विषयमा प्रभावकारी सिकाइ कम हुने उहाँको धारणा छ ।