हेटौँडा : हेटौँडा–११, नवलपुरस्थित भाइरलपुलबाट ४ किलो ८१० ग्राम लागूऔषध गाँजासहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ ६ बजेर ३० मिनेटको समयमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भाईरलपुलमा शंकास्पद रुपमा हिँडिरहेका हेटौँडा–१२, आल्दमारका ६० वर्षीय छविलाल वाईबालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वाईबासँग सोधपुछ गर्ने क्रममा पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–१ का २५ वर्षीय कृष्ण कुमार सोनारले मगाएको भनी बताएपछि प्रहरीले गाँजा मगाउने कृष्णकुमार सोनारलाई पनि शुक्रबार हेटौँडा–१२, पदमपोखरीबाट पक्राउ गरेको जानकारी दिएको छ । मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर प्रहरीले वाईबा र सोनार दुबैजनालाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।