गुगल तस्विर ।

हेटौंडाः नेपाली महिलाहरुको महत्वपूर्ण पर्व तीज सुरु भएको छ । यस वर्षको तीजको पहिलो (दर खाने) दिन आज सोमबार विभिन्न परिकार बनाएर दर खाएर मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज पर्दछ । हरितालिका तीजमा व्रत बस्न सहज होस् भन्ने उद्देश्यले अघिल्लो दिन दर खाने परम्परा रहेको छ । दर खाने दिनमा विभिन्न मिठा तथा आडिला परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । तीजको अवसरमा सकेसम्म चेलीबेटीहरु माइतीमा जम्मा भएर दर खाने गरिन्छ । माइतीघर वा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई महिलाहरुले दरको रुपमा खाने गर्दछन् । प्रायः साँझमा साविकको खाना खाएर मध्य रातमा दरको रुपमा विशेष परिकार खाने गरिन्छ ।

दर खाने दिनको भोलिपल्ट तीज पर्वको मुख्य दिन पर्दछ । उक्त दिन तीजको ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ आडिलो र पोषिलो खानेकुरा खाने चलन चलेको बताइन्छ । पहिले हरितालिका तीजको अघिल्लो दिनमात्र दर खाने परम्परा रहेको भए पनि पछिल्लो समय तीजको हप्तौं अघिदेखि दर खाने प्रचलन बढ्दै गएको छ ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन तीजको निराहार ब्रत बसेको र कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायू र प्रगतिको कामना गर्दै तीजमा ब्रत बस्ने चलन रहेको छ ।

भाद्र शुक्ल द्वितीयाको दिन दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व भाद्र शुक्ल पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।