हेटौंडाः हेटौंडा—९ मा रहेको मानवसेवा आश्रमले आज सोमबार वार्षिकोत्सव मनाउँदैछ । साताव्यापी कार्यक्रमअन्तर्गत् अन्तिम दिन १० औं वार्षिकोत्सव मनाउन लागेको हो ।
भाँडाकुडा र लत्ताकपडा संकलन गरेर शुभारम्भ भएको आश्रमले सहयोगापेक्षीका लागि आफ्नै भवनमा स्थापना दिवस मनाउन लागेको मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । बिनाकसुर बाँधेर, थुनेर अमानवीय र कारुणिक अवस्थामा राखिएका कयौ मनोरोगीहरुको आश्रमले उद्धार गरेको छ । दिसापिसाब र फोहोरमा लत्पत्तिएर जीवन र मृत्युको मुखमा लडिरहेका हजारौंको उद्धार भएको अभियन्ता पौडेलले बताउनुभयो । सडकमा अपरिचितहरुबाट बारम्बार बलात्कृत हुँदै आइरहेका धेरै मनोरोगी चेलीहरुको उद्धार भएको भन्दै उहाँले त्रिपुरेश्वरको चौरमा फालिएकादेखि चारकोशे झाडीमा पुर्याइएकाहरुले नयाँ जीवन प्राप्त गरेको जानकारी दिनुभयो । सशस्त्र द्वन्द्वमा आफ्नो शरीरको समेत बेवास्ता गरेर युद्ध मैदानमा होमिएर अन्तमा कालकोठरीमा जीवन र मृत्युसँग लडिरहेकाहरुको समेत उद्धार गरिएको उहाँको भनाई छ ।
घरपरिवार र आफन्तविहीन भई अस्पतालको शैयामा छट्पटिइरहेकादेखि कुहिएको शरीर लिएर भोकप्यासले तड्पिएका दिनदुःखी र असहायहरुले घर पाएको उहाँले दावी गर्नुभयो । एक शहरबाट अर्को शहर र जंगलमा लगेर छाडिने प्रवृत्तिको करिबकरिब अन्त भएको उहाँको भनाई छ । मानवसेवा आश्रमले सञ्चालन गरेको अभियानकै कारण सडकमा लडिरहेका बेसहाराहरुको समाचार बन्न थालेको उहाँले बताउनुभयो । निर्वाचनको मैदानमा उत्रिएकाहरुले समेत सहयोगापेक्षी सडक मानवमुक्त गर्ने घोषणा गर्न थालेकोमा खुशी व्यक्त गर्दै अभियन्ता पौडेलले सहयोगापेक्षीको कुरा सरकारको नीति, कार्यक्रम र बजेटमा पर्न थालेको जानकारी दिनुभयो ।
सहयोगापेक्षी सडक मानवलाई पनि राज्यले नागरिक हुन् भन्ने बोध गर्न थालेकाले आश्रमको स्थापना दिवस (भदौ १३ गते) मानवताको दृष्टिकोणले एक सुनौलो दिन भएको पौडेलले बताउनुभयो । मानवसेवा आश्रमको मुख्य सेवाकेन्द्र हेटौंडा–९ मा विशेष कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।