स्थानीय तहहरुले आफ्नो पालिकालाई बालमैत्री घोषणा गर्ने क्रम चलिरहेको छ । देशभरका ७ सय ५३ तहहरुमध्ये हालसम्म ४ वटा स्थानीय तह बालमैत्री घोषणा भएका छन् । जसमा मकवानपुरका ३ वटा गाउँपालिका बालमैत्री घोषणा भइसकेका छन् भने अरु पालिकाले पनि तयारी गरिरहेका छन् । बालमैत्री घोषणाका लागि देशका अन्य पालिकाहरु भन्दा मकवानपुरका पालिकाहरुले बढी सक्रियता देखाएका छन्, जुन सकारात्मक छ । तर, बालमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने कार्यहरु प्रभावकारीरुपमा कार्यान्वयन नगरी बालमैत्री घोषणामा हतार गरिनु हुन्न । जिल्लाका बालमैत्री घोषणा भइसकेका मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिकाका बालबालिकाको हविगत अरु पालिकाको भन्दा फरक छैन । यसले बालमैत्री पालिका घोषणामा मात्र सिमित हुने सम्भावना बढाएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई पनि चालु आर्थिक वर्ष २०७९/८० भित्रै बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअन्तर्गत् पालिकालाई बालमैत्री नगर घोषणा गर्ने भनिएको छ । हेटौंडाले बालमैत्री घोषणाका लागि विगत ३ वर्षदेखि तयारी गरिरहेको छ । जिल्लाका इन्द्रसरोवर, भीमफेदीलगायत अन्य पालिकाहरु पनि बालमैत्री घोषणाको तयारीमा छन् । बालमैत्री घोषणाका लागि हेटौंडा उपमहानगरपालिकाले महिलाको क्षमता विकास तथा एकल महिला चेतनामूलक कार्यक्रमलाई जोड दिएको छ । यस्तै, किशोरकिशोरीका लागि सचेतनामूलक कार्यक्रमलाई समेत उपमहानगरपालिकाले प्राथमिकता दिएको छ । उपमहानगरपालिकाले छोरी बचाउ कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने भएको छ । हेटौंडा उपमहानगरपालिकाले बालमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने थुप्रै सूचकहरु पूरा गर्न बाँकी छ । उपमहानगरपालिकाले बालबालिकालक्षित विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि त्यतिले मात्र बालमैत्री घोषणा हुन सक्ने देखिँदैन ।

पालिकालाई बालमैत्री घोषणाका लागि तोकिएका ५१ वटा सूचक पूरा हुनुपर्दछ । बालमैत्री स्थानीय शासनका लागि बाल बचाउसम्बन्धी १४ वटा, बाल संरक्षणसम्बन्धी १० वटा, बाल विकास तथा बाल सहभागितासम्बन्धी ६–६ वटा र संस्थागत विकाससम्बन्धी १५ वटा सूचक पूरा भएको हुनुपर्छ । बालमैत्री घोषणाका लागि यी सूचकहरु अधिकांशमा शतप्रतिशत र केही सूचकहरुमा ८० भन्दा माथि अंक प्राप्त गरेको हुनुपर्छ । बालमैत्री घोषणाका लागि स्थानीय तह पूर्ण खोपयुक्त हुनुपर्ने, बालविवाहमुक्त हुनुपर्ने, खुला दिशामुक्त हुनुपर्ने, निकृष्ट बालश्रम अन्त्य भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य हुनुपर्ने, विद्यालयहरुले बालबालिकालाई कुनै यातना नदिने, ५ देखि १४ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा (कक्षा ८) पूरा गरेको हुनुपर्नेजस्ता सूचक शतप्रतिशत पूरा गर्न निकै चुनौतीपूर्ण छ ।

बालमैत्री घोषणा गर्न पूरा गर्नुपर्ने तोकिएका सबै सूचक पूरा गर्न सहज छैन । तोकिएका सूचकको प्रभावकारी कार्यान्वयनबिना हतारमा गरिने बालमैत्री घोषणा निरर्थक हुनेछ । विगतमा सरकारी स्तरबाट घोषणा भएका खुला दिशामुक्त, पूर्ण साक्षर, बालश्रममुक्त, बालविवाहमुक्त, पूर्ण खोपयुक्त आदि घोषणाले सार्थकता पाउन सकेको छैन । बालमैत्री अवधारणा नबुझी कुनै पनि पालिकाले बालमैत्री घोषणामा हतार गर्नुहुन्न । सबै सूचकहरु बास्तवमै पूरा भएपछि बालमैत्री घोषणा हुनुपर्छ । देशका सबैजसो पालिकाले बालमैत्री घोषणा गर्न नसकिरहेको अवस्थामा मकवानपुरका पालिकाहरुले बालमैत्री घोषणाका लागि हतार गर्नु आवश्यक देखिँदैन ।