विश्वकै जटिल समस्या बनिरहेको लागूऔषध दुव्र्यसनको समस्याबाट नेपाल पनि ग्रसित बनिरहेको छ । प्रहरीले विशेष सूचनाको आधारमा तथा आकस्मिक चेकजाँचको क्रममा लागूऔषध सेवनकर्ता र कारोबारीलाई पक्राउ गर्दै आएको छ । मकवानपुर प्रहरीले पनि दिनहुँजसो लागूऔषधसहित मानिस पक्राउ गरिरहेको छ । यसले गाँजा तथा अफिमजस्ता लागूऔषधको उत्पादन र औषधिजन्य लागूऔषधको कारोबार निकै फस्टाइरहेको पुष्टि हुन्छ । मकवानपुर जिल्ला लागूऔषध कारोबारको ‘ट्रान्जिट’जस्तै बनिरहेको छ । मध्ये तराईका भारतीय नाकाबाट हेटौंडा आइपुगेका र मकवानपुरमा उत्पादन गरेर अन्यत्र बिक्री गर्न लाँदै गरेको लागूऔषध प्रहरीले बरामद गर्दै आएको छ । प्रहरीले लागूऔषधसहित पक्राउ गरेकामध्ये अधिकांश युवा हुने गरेका छन् । लागूऔषधको बढ्दो कारोबारले धेरै युवाले आफ्नो अमूल्य जीवन बर्बाद गरिरहेका छन् । हजारौं अभिभावकको सपना तुहिएको छ ।
मंगलबार एकै दिन मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित ६ जनालाई पक्राउ गरेको छ । हेटौंडा–८, ओमनगरबाट ३ जना र हेटौंडा–१०, न्युरेनीबाट ३ जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । २.२९ ग्राम लागूऔषध खैरो हेरोईनसहित ओमनगरबाट ३२, ३५ र ३७ वर्षका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, १.४३ ग्राम खैरो हेरोईनसहित न्युरेनीबाट २०, २४ र ४३ वर्षका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । मकवानपुर प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्म एक सय ११ जनालाई लागूऔषध मुद्दामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक सय ४ जना पुरुष र ७ जना महिला छन् । यस अवधिमा मकवानपुर प्रहरीले लागूऔषधसम्बन्धी ७३ वटा मुद्दा दर्ता गरेको छ । उक्त अवधिमा प्रहरीले ३ हजार ४ सय १० किलोग्राम लागूऔषध गाँजा र ५२ किलोग्राम चरेस बरामद गरेको छ । साउनदेखि पुससम्म प्रहरीले २ सय ५६ ग्राम खैरो हेरोईन बरामद गरेको छ । यस अवधिमा मकवानपुर प्रहरीले अफिम, नाइट्रोभेट, डाइजेपाम, ब्यप्रोनोरफिन, फेनारगन, नोर्फिन, एनार्गन, इन्फाडोल, ट्रामाडोल, कोरेक्सलगायत लागूऔषध बरामद गरेको छ ।
नेपाल सरकारले लागूऔषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय जगतमा प्रतिबद्धता जाहेर गर्दै आवश्यक कानुनी व्यवस्था लागू गरेको छ । लागूऔषध नियन्त्रणमा प्रहरी, प्रशासनले पनि सक्रियता देखाइरहेको छ । तर, दिनहुँ लागूऔषधसहित मानिस पक्राउ परेको समाचारले सबै प्रयत्न र कानुनी व्यवस्था निरर्थक जस्तै देखिएको छ । लागूऔषध कारोबार र दुव्र्यसनमा संलग्न अधिकांश ४० वर्ष मुनिका युवा छन् । अधिकांश युवा रोजगारी र उच्च शिक्षाको नाममा विदेश पलायन भइरहेको अवस्थामा देशभित्र रहेका सिमित संख्याका युवा शक्ति पनि लागूऔषध कारोबार र दुव्र्यसनमा फस्नुले अवस्था भयावह देखाउँछ । देशको मेरुदण्डको रुपमा मानिएको युवा पिँढी नै लागूऔषध ओसारपसारमा बढी संलग्न हुनु र उनीहरु नै दुव्र्यसनको शिकार बन्नुलाई सामान्यरुपमा लिन सकिँदैन ।
गाँजा, अफिम र चरेसजस्ता केही लागूऔषधको उत्पादन देशभित्रै हुने भए पनि अन्य लागूऔषध विदेशबाट भित्रिने गरेको छ । नेपाल–भारतबीच रहेको खुला सीमा र लागूऔषध कारोबारीको उच्च पहुँचकै कारण लागूऔषध तस्करी मौलाइरहेको मान्न सकिन्छ । औषधिको रुपमा उत्पादन गरिए पनि नेपालमा लागूऔषध दुव्यर्सनीहरुले प्रयोग गर्ने नुर्फिन, डाइजेपाम, लुप्रिजेसिक, फेनारगन, कोरेक्सजस्ता ट्याब्लेट, सुई र सिरप अत्यधिक मात्रामा भित्रिनु सुरक्षा निकायको लागि चुनौती बनेको छ । मकवानपुर जिल्लालगायत देशका विभिन्न ठाउँमा खेती गरिने गाँजा र अफिम रोक्न नसक्नु प्रहरी प्रशासनमात्र नभई स्थानीय सरकारको समेत कमजोरी मान्नुपर्छ । लागूऔषधको बढ्दो कारोबार रोक्न भरियामात्र पक्राउ गरेर हुँदैन । यसको मुख्य नाइकेसहितको गिरोह र सञ्जाल पत्ता लगाएर पक्राउ नगर्दासम्म लागूऔषधको चपेटाबाट युवालाई मुक्त गर्न सकिँदैन ।