विद्यार्थी भर्ना अभियानका क्रममा घरदैलो पुगेर छलफलपछि बालबालिकासँग फोटो खिचाउँदै ।

हेटौँडा ः आगामी शैक्षिक सत्रमा विद्यार्थी संख्या एक हजार पुर्‍याउने लक्ष्यसहित हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयले नयाँ शैक्षिकसत्र २०८२ का लागि भर्ना अभियान सुरु गरेको छ । वार्षिक परीक्षा सकिएलगत्तै सोमबारदेखि विद्यालयले भर्ना अभियानअन्तर्गत आफ्नो सेवाक्षेत्रमा घरदैलो गर्न सुरु गरेको छ ।

विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालको नेतृत्वमा सोमबार कर्रा, गर्दोई, कमलडाँडा क्षेत्रमा घरदैलो गरेको छ । आगामी शैक्षिकसत्रमा नेपाली माध्यममा एक सय र अंग्रेजी माध्यममा दुई सयको हाराहारीमा नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको प्रधानाध्यापक दाहालले जानकारी दिनुभएको छ । चालु शैक्षिक सत्रको वार्षिक परीक्षामा छ सय ५० भन्दा बढी संख्यामा विद्यार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो । वार्षिक परीक्षाको नतीजा चैत २९ गते सार्वजनिक गरिने प्रधानाध्यापक दहालले जानकारी दिनुभएको छ ।

विद्यार्थी भर्ना गर्न आव्हानसहितको हातेपर्चा अध्ययन गर्दै एक अभिभावक ।

पछिल्लो समय अभिभावकको विश्वास बढ्दै गएकोले यस वर्ष विद्यार्थी संख्या एक हजार पुर्‍याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । भर्ना अभियानअन्तर्गत नै विद्यालयले आज मंगलबार सरोकारवालासँग अन्तरक्रिया गर्दैछ । विद्यालयका क्रियाकलाप, उपलब्धी, आगामी योजनाका बारेमा जानकारी गराउनुका साथै गुनासा, सल्लाह, सुझाव सुन्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको प्रधानाध्यापक दहालको भनाइ छ । अन्तरक्रियामा स्थानीय, राजनीतिक एवम् सामाजिक व्यक्तित्व, पूर्वविद्यार्थीलाई सहभागी हुन आव्हान गरिएको प्रधानाध्यापक दाहालले बताउनुभयो ।

घरदैलो अभियानका क्रममा अभिभावकलाई विद्यालयको विषयमा जानकारी गराउँदै आफ्ना बाबुनानी भर्ना गराउन चाहने अभिभावकको नाम टिपोट समेत गरिएको छ । श्रमिक माविमा अहिले ९ कक्षासम्म नेपाली र अंग्रेजी दुबै माध्यममा पठनपाठन भइरहेको र शैक्षिकसत्र २०८३ देखि १० कक्षासम्मै अंग्रेजी माध्यममा पठनपाठन हुने प्रधानाध्यापक दहालले जानकारी दिनुभयो । विद्यार्थीको चाप बढ्दो क्रममा रहेको र नयाँ शैक्षिक भवन पनि निर्माणाधिन रहेकोले शैक्षिक सत्र २०८३ देखि विद्यार्थी संख्या एक हजार भन्दा बढी बनाउन सकिने प्रधानाध्यापक दहालले बताउनुभयो ।

विद्यार्थी भर्ना गराउन चाहने अभिभावकको नाम र सम्पर्क नम्बर टिपोट गर्नुहुँदै शिक्षक ।