बागमती प्रदेश सरकार मातहत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पूर्वाधार निर्माण गरी सेवा विस्तारतर्फ अग्रसर भएको छ । स्थापनाको ५ वर्ष पूरा गरेको प्रतिष्ठानले राजनीतिक दाउपेचको सामना गर्दै भौतिक संरचना निर्माण र अस्पताल सञ्चालनतर्फ अग्रसर बनिरहेको छ । बागमती प्रदेशको गौरवको आयोजनामा राखिएको प्रतिष्ठानले स्वास्थ्य सेवासम्बन्धी स्नातक तहका विभिन्न विषय अध्यापन गराउँदै आएको छ । २०७६ सालमा बागमती प्रदेशसभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन जारी गरिएपछि पदाधिकारी नियुक्त गर्न एक वर्ष लाग्यो । चिकित्सा शिक्षा अध्ययन, स्वास्थ्य उपचार र अनुसन्धानका काम गर्दै आएको प्रतिष्ठानअन्तर्गत् हेटौंडा अस्पताल समावेश गराएपछि राजनीतिक उल्झन थपिएको छ । अहिले पनि विभिन्न राजनीतिक दल तथा स्थानीयहरु हेटौंडा अस्पताललाई प्रतिष्ठान अन्तर्गत राख्नुपर्ने र प्रतिष्ठानबाट अलग बनाउनुपर्ने दुई ध्रुवमा विभाजित बनिरहेका छन् ।

सरकार परिवर्तन र राजनीतिक दाउपेचको निरन्तर सिकार बनिरहेको प्रतिष्ठानले सोचअनुरुप काम गर्न सकेको छैन । राजनीतिक अन्योलकै बीच प्रतिष्ठानले केही शैक्षिक कार्यक्रम अघि बर्ढा पनि त्यसले स्थायित्व पाउन सकेको छैन । कार्यालय सञ्चालन, पठनपाठन, अनुसन्धान र प्रयोगात्मक कार्य गर्न प्रतिष्ठानसँग स्थायी र पर्याप्त संरचना छैन । संघीय सरकारले प्रदेशलाई हस्तान्तरण गरेको जिल्ला अस्पताल (हेटौंडा अस्पताल)लाई प्रतिष्ठानले प्रयोगात्मक कार्य गर्ने पूर्वाधार बनाएको छ । प्रतिष्ठानले हेटौंडा–११ र हेटौंडा–४ मा व्यक्तिको घर भाडामा लिएको प्रतिष्ठानले हेटौंडा–१० मा रहेको टिसीएनको पुरानो भवन पनि भाडा तिरेर प्रयोग गरिरहेको छ । वार्षिक ६१ लाख रुपैयाँ भाडा तिर्ने गरी घरहरु भाडामा लिएर आफ्ना क्रियाकलाप सञ्चालन गरिरहेको प्रतिष्ठानले हेटौंडा–१६, गौरीटार रंगशाला र हेटौंडा–८, कमानेस्थित लोकतान्त्रिक पार्कको भवन निःशुल्क प्रयोग गरिरहेको छ । ती भवनहरु शैक्षिक कार्यक्रम, अनुसन्धान, कार्यालय सञ्चालन, गोदाम व्यवस्थापनमा प्रयोग गरिएका छन् ।

प्रतिष्ठानले ४ वटा संकायमा अध्यापन कार्य गर्दै आएको छ । स्नातक तहको बिएस्सी नर्सिङ, बिफार्मेसी, बिपीएच (पब्लिक हेल्थ) र बिएस्सी ल्याब मेडिसिन संकायमा ३ सय ५९ विद्यार्थीलाई अध्यापन गर्दै आएको छ । केही महिनाअघि चिकित्सा शिक्षा आयोगबाट प्रतिष्ठानलाई स्नातकोत्तर तहको विशेषज्ञ स्वास्थ्य शिक्षा (पिजी) अध्यापनको अनुमति प्रदान गरेको छ । स्त्री तथा प्रसुतिको २, फिजिसियन, सर्जरी विभाग, बालरोग विभाग, हाडजोर्नी तथा नशारोग विभाग, फेमिली फिजिसियन, एनेस्थियोलोजीका १/१ सिटमा अध्यापन गराउने अनुमति प्राप्त गरेको हो । पिजी अध्यापनका लागि प्रतिष्ठानले हेटौंडा अस्पतालको प्रयोग गर्नेछ । संघीय सरकारको विशेष अनुदानमार्फत् ५० करोड लागतमा हेटौंडा–१०, भुटनदेवी चौरमा ६ तले भवन निर्माण गरिरहेको छ भने २३ करोड रुपैयाँ लागतमा हेटौंडा अस्पतालमा ६ तले भवन निर्माण भइरहेको छ ।

प्रतिष्ठानको प्रशासनिक भवन र अस्पताल भवन निर्माण भएपछि केही सहज हुने भए पनि अझै शैक्षिक र अनुसन्धानका लागि आवश्यक भवन प्रतिष्ठानसँग छैन । हेटौंडा अस्पतालको भौतिक विकास र स्वास्थ्य उपचार सेवा विस्तारमा प्रतिष्ठानले सहयोग गरिरहेको छ । अब पिजी कक्षा सञ्चालन भएपछि अस्पतालको स्वास्थ्य सेवाको गुणस्तर थप वृद्धि हुने आशा गर्न सकिन्छ । विशेषज्ञ चिकित्सा सेवाहरु विस्तार गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएपछि हेटौंडामै सबै प्रकारका स्वास्थ्य उपचार सुविधा पाउन सकिनेछ । निकट भविष्यमा एमबीबीएस अध्यापन गराउने तयारी गरिरहेको प्रतिष्ठानले स्थायी प्रकृतिका भौतिक संरचना निर्माणमा ध्यान दिनु आवश्यक छ । प्रतिष्ठानले भोग्दै आएको विवाद र समस्याहरु हल गर्दै संरचना विकास, सेवा प्रवाह र अनुसन्धानको कामलाई तिब्रता दिन सकेमा हेटौंडामा स्थास्थ्य र शिक्षाको सुविधा थप हुने निश्चित छ ।