साहित्य अध्ययन र साहित्य सिर्जनाले व्यक्तिको जीवनमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने गरेको छ । साहित्य अध्ययन र साहित्य सिर्जनाका लागि विद्यालयको वातावरण महत्वपूर्ण रहन्छ । औपचारिक शिक्षा लिँदै गरेका विद्यार्थीलाई साहित्य अध्ययन, साहित्य सिर्जनामा अग्रसर गराउन सके उनीहरुको औपचारिक शिक्षामा पनि उल्लेखनीय सुधार हुने दावी गरिन्छ । यसै सन्दर्भमा झरना साहित्यिक परिवारका उपाध्यक्ष एवम् शिक्षक विश्वनाथ सन्जेलसँग समृद्ध समाज दैनिकका लागि नवसर्जकद्वय रचना भण्डारी र रियाज कार्कीले गर्नुभएको कुराकानीः
तपाईको विचारमा साहित्य भनेको के हो ?
सन्जेलः साहित्यलाई समाज परिवर्तनका लागि लेखिने, सबैले मन पराउने एक सिर्जनशील विधाका रुपमा लिन सकिन्छ । यसले समाजका विविध विषयहरुलाई सिर्जनात्मक शब्दहरु मार्फत अभिव्यक्त गर्दछ ।
तपाई पेशाले शिक्षक पनि हुनुहुन्छ, साहित्य लेखन र शिक्षण पेशालाई सँगसँगै लैजान कतिको सजिलो छ जस्तो लाग्छ ?
सन्जेलः साहित्य र शिक्षणलाई सँगसँगै लैजान असाध्यै सहज छ । किनभने म नेपाली भाषाको शिक्षक भएकोले पनि नेपाली भाषा शिक्षण गर्दा हामीले कविता, गीत, निबन्ध, कथा, जीवनी लगायतका साहित्यका विभिन्न विद्याहरुको शिक्षण गराउछौं । आफु पनि लेख्ने र पढाउने भएकोले यी दुवैलाई सँगसँगै लैजान निकै सजिलो भएको महसुस गरेको छु ।
साहित्य क्षेत्रमा सामाजिक सञ्जालको भूमिका कस्तो हुन्छ ?
सन्जेलः पछिल्लो समय साहित्यिक रचनाहरुको अभिव्यक्ति गर्ने थलोको रुपमा सामाजिक सञ्जालको प्रयोग हुँदै आएको छ । यसरी सामाजिक सन्जालको प्रयोग गरेर साहित्य लेखन, साहित्यिक सिर्जना कर्मलाई अरुका रचना पढ्ने र लेख्ने कार्यमा थप सहजता बनाएको छ ।
तपाई संलग्न रहेको संस्थाले नवसर्जकहरुलाई अघि बढ्न कस्तो भूमिका खेलिरहेको छ ?
सन्जेलः म संलग्न रहेको झरना साहित्यिक परिवारले स्थापनाकालदेखि नै नवसर्जकहरुलाई नै केन्द्रित बनाएर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै सन्दर्भमा हामीले “सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान” भन्ने अभियान पनि चलाउँदै आएका छौं । र अबको नयाँ पुस्ता चाहिँ सिर्जनशील हुनुपर्छ, पठन संस्कृति भएको हुनुपर्छ र पढ्ने तथा लेख्ने कुरामा अगाडि बढेको हुनुपर्छ भन्ने हाम्रो सोच छ । त्यसै अनुसार हामीले जिल्लाका विभिन्न ६० भन्दा बढी विद्यालय तथा क्याम्पसहरुमा गएर साहित्यको विभिन्न विधासम्बन्धी प्रशिक्षण दिँदै आएका छौं । त्यस सन्दर्भमा हामीले विभिन्न व्यक्तित्वहरुलाई लिएर साहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ र नव पुस्तालार्ई कसरी सिर्जनशील बनाउन सकिन्छ भन्ने कुरामा हामी निरन्तर लागिरहेका छौं ।
एउटा साहित्यकारका लागि पठन संस्कृतिको कस्तो महत्व रहेको हुन्छ ?
सन्जेलः साहित्य सिर्जना गर्नका लागि विशेषतः प्रतिभा, अध्ययन र अभ्यास गरी ३ वटा कुराले भूमिका खेल्दछ ।
तपाईको अनुभवको आधारमा अहिलेको समयमा साहित्य लेखेर जीविकोपार्जन गर्न सकिएला त ?
सन्जेलः मेरो पछिल्लो समयको अनुभवको आधारमा भन्नुपर्दा नेपाली समाजमा साहित्य लेखेर मात्र जीविकोपार्जन गर्न अलि कठिनाई नै छ । किनभने नेपाली साहित्यको बजारमा राम्रा र गहन किताबहरु पढ्ने पाठकहरु भन्दा पनि हल्लाको पछाडी लाग्ने र हल्ला बढी बिकेको वा पुस्तक कम हल्ला बढी बिकेको अवस्था छ । जसले हल्ला गर्न सक्छ, जसले बजार पिट्न सक्छ उसको कृति तथा पुस्तकहरु बिक्छ भने अरु सर्जकहरुको कृति चाहिँ नबिकिरहेको अवस्था छ । नेपाली साहित्यको यस्तो स्थितिका कारण साहित्य लेखेर मात्र जीवन धान्न निकै कठिन छ ।
विद्यार्थीलाई साहित्यमा अग्रसर गराउन, साहित्यप्रति उनीहरुको रुचि बढाउन विद्यालयमा कस्ता क्रियाकलाप हुने गरेको छ ?
सन्जेलः हामीले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलापहरु गर्ने र विद्यार्र्थीहरुलाई गराउँछौं । त्यस सन्दर्भमा कहिलेकाहीँ हामीले साहित्यका विभिन्न विधाका बारेमा पनि विभिन्न कार्यक्रम तथा शिक्षण र प्रशिक्षण गराउँदै आएका छौं । र साहित्यिक समूहहरु बनाएर छलफल गर्छौ । केही रुपमा हामीले गर्न सकेका छौं तर पूर्ण रुपमा चाहि गर्न सकेका छैनौं ।
साहित्य, समाज र जीवनबीच के कस्तो सम्बन्ध रहेको हुन्छ ?
सन्जेलः सामाजिक सम्पूर्ण प्राणीहरु बस्ने साझा थलो हो । हामी मानव पनि समाज मै बस्छौं । समाजबिना मानिसले जीवनको कल्पना गर्न सकिँदैन । त्यसैले समाज मानिसको आवश्यकता पनि हो । समाजसँग विभिन्न प्रकारका जीवनहरु छन् । समाज रंगीन छ । अनेक सोँच, विचार भएका मानिसहरु समाजमा बसेका छन् । कतै दुःख, कतै सुख, कतै रमाइलो, कहीँ शोक, कहीँ पीडा छ । समाजका यिनै विविधताहरु, राम्रा नराम्रा पक्षहरु, जसलाई हेरेर सर्जकले आफ्ना सिर्जनाहरु गर्छन् । त्यसैले साहित्य, समाज र जीवनबीच अनोन्याश्रित सम्बन्ध रहेको हुन्छ ।
सन्जेल झरना साहित्यिक परिवार मकवानपुरको उपाध्यक्ष हुनुहुन्छ ।