समर्पण न्यौपाने

हरेक अनुकुल परिस्थिति प्रतिकुल हुन सक्छ र हरेक प्रतिकुल परिस्थिति अनुकुल हुन सक्छ, फरक दृष्टिकोणको मात्रै हो । सायद साहित्यकार दीपक गौतमले यही सोचका साथ सुरु गर्नु भएको थियो– नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षणको । हुन पनि, कोरोनाको कहाली लाग्दो कहरले सुनसान रहेका गाउँ सहर भित्रभित्रै त्रसित र आतंकित थियो । यस्तो परिस्थितिमा सबैभन्दा बढी प्रभाव परिरहेको थियो हामी बालबालिका र हाम्रो सिर्जनशीलतामा । यस्तो अवस्थामा पुस्तक पढ्न रुचाउने र साहित्यप्रति रुचि राख्ने हामी नवसर्जकहरूका लागि त यो साहित्यिक प्रशिक्षण कुनै वरदान भन्दा कम थिएन ।

विस्तारै देश विदेशका नवसर्जकहरू यस प्रशिक्षणमा जोडिन थाले र साहित्यका विभिन्न विधामा प्रशिक्षित भए । अब यो अभियान मात्र प्रशिक्षणमा सीमित रहन सक्ने भएन । अतः सो प्रशिक्षणबाट प्रशिक्षित नवसर्जकहरूकै सहभागितामा यस अभियानले संस्थागत रूप लियो र बन्यो– नवसर्जक साहित्य चौतारी नेपाल । वर्तमान अवस्थामा आइपुग्दासम्म चौतारीले ७ वटै प्रदेश र उपत्यका मात्र नभई विदेशमा पनि आफ्नो शाखा विस्तार गरिसकेको छ । स्थापनाको २ वर्ष पुग्दा नपुग्दै संस्थाले १५० भन्दा बढी साहित्यिक कार्यक्रमहरू सञ्चालन गरिसकेको छ । हालसालै, हेटौंडामा हेटौंडा स्कुल अफ म्यानेजमेन्टको प्रायोजन, प्याब्सन मकवानपुरको सहकार्य र संस्थाकै आयोजनामा प्रथम राष्ट्रिय बाल कविता महोत्सव पनि सम्पन्न गरियो । कार्यक्रममा अग्रज बाल साहित्यकार प्रमोद प्रधानका साथ सातै प्रदेशका बाल प्रतिभाहरू सम्मानित भए । यो एउटा ऐतिहासिक उपलब्धि हो ।

यो भन्दा अगाडि पनि नवसर्जकहरूलाई केन्द्रित गरेर साहित्यिक गतिविधि सञ्चालन गरेका संस्थाहरू थुप्रै थिए तर नवसर्जक साहित्य चौतारीमा जस्तो नवसर्जकहरूको उत्साहजनक सहभागिता ती संस्थाहरूमा रहेन । त्यसैले पनि यो चौतारी एउटा नौलो अभ्यास हो । यो नौलो अभ्यासमा हामीलाई सातै प्रदेशका वरिष्ठ बाल साहित्यकारहरूले पनि प्रोत्साहित गरिरहनु भएको छ ।

नवसर्जक साहित्य चौतारीको अर्को मुख्य उपलब्धि हो रेडियो कार्यक्रम–नवसिर्जना । पछिल्लो १ वर्षदेखि संस्थाले रेडियो निकाससँगको सहकार्यमा यो रेडियो कार्यक्रम सञ्चालन गरिरहेको छ । अहिलेसम्ममा हेटौंडामा रहेका करिब–करिब सबै कार्यसमिति सदस्यहरूले पालैपालो कार्यक्रम सञ्चालन गरिसकेका छन् । यसर्थ नवसिर्जना कार्यक्रमले नवसर्जकहरूको व्यक्तित्व विकासको पक्षमा पनि सहयोग गरेको छ ।

“यसरी नियमित रुपमा जस्तो साहित्यिक गतिविधिहरूमा सम्मिलित हुँदा पढाइमा असर गर्दैन र ?” भन्ने प्रश्नहरू पनि नउठेका होइनन् तर नवसर्जकहरूले साहित्य साधनाका साथसाथै औपचारिक शिक्षाको क्षेत्रमा पनि उत्कृष्ट उपलब्धि हासिल गरेर प्रश्नकर्ताहरूलाई नै गलत सावित गरिसकेका छन् । मेरो विचारमा त साहित्यमा अभिरुचि राख्नाले पढाइमा असर गर्नुको साटो झन् सिर्जनशीलता विकास गरी औपचारिक शिक्षालाई नै टेवा पुर्याउँछ । यो कुरा विस्तारै विद्यालयहरूले पनि बुझ्दै गएको आभाष हुन्छ । तसर्थ, विद्यालय भित्र नै साहित्यिक वातावरण निर्माण गर्ने हेतुले हेटौंडा भित्रका विभिन्न विद्यालयहरूमा नवसर्जक साहित्य चौतारी नेपालको एकाइ कमिटी पनि गठन गर्ने कार्यमा हामी अग्रसर भएका छौं । यस क्रममा हामीले शैक्षिक तथा साहित्यिक संस्थाहरूबाट साथ सहयोग र हौसला पाइरहेका छौं ।

यद्यपि, हामीले यस्तो स्तरमा कार्यक्रमहरू गरिसक्दा पनि राज्य पक्षले चाहिँदो साथ सहयोग गर्नुको साटो उल्टै बेवास्ता गरिरहेको बिडम्बना छ । एउटा कार्यक्रम गर्नका लागि पनि संरक्षक, सल्लाहकार र कार्यसमितिले निजी स्तरबाट आर्थिक सहयोग मागिरहनु परेको छ । यस पक्षमा बालबालिकाको क्षेत्रमा काम गर्ने निकायको ध्यान जानु जरुरी छ ।

यति हुँदाहुँदै पनि अझै पनि धेरै कामहरू गर्न बाँकी छन् । नवसर्जक साहित्य चौतारीले यति उपलब्धि हासिल गरिसक्दा पनि संस्था दर्ता भइसकेको छैन । अबको क्रममा संस्था दर्ता हाम्रो मुख्य प्राथमिकता रहनेछ । त्यसैगरी प्रदेश समितिहरूका कार्यक्रमहरूलाई अझ प्रभावकारी र नियमित बनाउने चुनौती पनि छँदै छ । यस बाहेक पनि अझ नयाँ र रोचक ढंगका कार्यक्रमहरू आयोजना गर्ने कुरामा संस्था अग्रसर छ । यस क्रममा संस्थाले यहाँहरूको साथ, सहयोग र सदाशयताको अपेक्षा राख्दछ ।

(लेखक नवसर्जक साहित्य चौतारी नेपालका महासचिव हुनुहुन्छ ।)