मुलुकको शिक्षा शैद्धान्तिकमात्र भयो भन्ने व्यापक गुनासो छ । शिक्षालाई समयसापेक्ष व्यवहारिक र व्यावसायिक बनाउन नसकिएकै हो । अझै पनि ९० प्रतिशतभन्दा बढी विद्यार्थी विश्वविद्यालय तहमा शैद्धान्तिक शिक्षा हासिल गर्न बाध्य छन् । विश्वविद्यालय तहको अध्ययन पूरा गरिसक्दा पनि रोजगारमूलक र व्यावसायिक ज्ञान तथा सीप हासिल गर्न नसकेको विद्यार्थी तथा अभिभावकको गुनासो छ । उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु नै स्वदेशमा कुनै राम्रो अवसर पाइएन भन्दै विदेश पलायन हुनेको संख्या उल्लेख्य छ । सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिने नीति अवलम्बन गरेको भए पनि त्यसको विकास र विस्तार पर्याप्त हुनसकेको छैन । आधारभूत तहसम्मको अध्ययनपछि विद्यार्थीले आफ्नो रुचि तथा क्षमताअनुसारको प्राविधिक र व्यावसायिक शिक्षा हासिल गर्ने सहज अवसर अझै पाउन सकेका छैनन् ।

पढाई सँगसँगै विद्यार्थीले रोजगारका लागि उचित मार्गदर्शन गराउने उद्देश्यले हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले क्याम्पसमै व्यवसाय प्रवर्द्धन केन्द्र (विजेनेस इन्क्युवेशन सेन्टर) स्थापना गरेको छ । विश्वविद्यालय तहको अध्ययन गर्दै गरेका विद्यार्थीको व्यक्तित्व विकासका साथै व्यावसायिक सीप, दक्षता र कौशल अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले व्यवसाय प्रवर्द्धनकेन्द्र स्थापना गरिएको छ । आइतबार केन्द्रको स्थापना भएको हो । केन्द्र उद्घाटन कार्यक्रममा सहभागीहरुले सफल व्यवसायी उत्पादन गर्न केन्द्र सफल हुनेमा विश्वास व्यक्त गर्दै मेयर शुभकामना दिएका थिए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टसम्बद्ध व्यक्तिहरुले केन्द्रको स्थापनाले विद्यार्थीलाई उद्यमी तथा व्यवसायी बन्न प्रेरित गर्ने बताएका छन् ।

अहिले धेरैजसो शैक्षिक संस्थाहरुले विद्यार्थीको रिजल्ट राम्रो बनाउनमात्र ध्यान केन्द्रित गर्दै आएका छन् । राम्रो ग्रेड वा श्रेणी ल्याएर उत्तीर्ण भएका विद्यार्थीले आफ्नो ज्ञानलाई कहाँ र कसरी प्रयोग गरेर कति सफलता हासिल गरे भन्ने पक्षबाट शैक्षिक संस्थाको उपलब्धी मापन हुन सकेको छैन । मात्र यति विद्यार्थीले यो स्तरमा नतिजा हासिल गरेमात्र भनेर शैक्षिक संस्थाको उपलब्धी मापन गर्ने हो भने त्यसबाट उत्पादित जनशक्ति बेरोजगारको भिडमात्र हुने निश्चित छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले जस्तै सबैजसो क्याम्पस तथा ठूला विद्यालयहरुले विद्यार्थीलाई स्वरोजगार बनाउन तथा सजिलै रोजगारमा लाग्न सक्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । प्राविधिक विषय पठनपाठन भइरहेका शैक्षिक संस्थाले समेत आफ्ना विद्यार्थीमा तत्काल रोजगार पाउने र वा स्वरोजगार बन्न सक्ने ज्ञान, सीप र क्षमता विकास गराउनु पर्छ ।

दशकौंसम्म शिक्षा हासिल गरेर प्रमाणपत्र प्राप्त गरेका विद्यार्थी काम नपाएर बेरोजगार बन्नु हुँदैन । विद्यार्थीले अध्ययन गरेका सबै विषयसँग जोडिएका तमाम ज्ञान, सीप र दक्षता विद्यार्थीलाई दिनुपर्छ । विद्यार्थीले शैक्षिक प्रमाणपत्र प्राप्त गरेपछि आफ्नो विषयगत क्षेत्रमा सहजै रोजगारीको अवसर पाउने वा स्वरोजगार बन्न सक्ने हुनुपर्छ । विश्वविद्यालय तहको शिक्षालाई रोजगारमुखी, पेसामुखी, तर्कमुखी एवम् खोज तथा अनुसन्धानमुखी बनाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउन यस्ता व्यवसाय प्रवर्द्धन केन्द्र सहयोगी हुनसक्छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादन (रोजगारी, व्यवसाय)सँग र उत्पादनलाई समृद्धिसँग जोड्न सकेमा मात्र शिक्षाले सार्थकता पाउनेछ ।