एउटा कान भए पनि चल्थ्यो तर ब्रम्हाजीले किन दुईवटा कानको सृष्टितिर दृष्टि दिएका होलान् भनेर बेलाबेलामा मेरो मथिङ्गलमा धेरै कचिङ्गल नचलेको होइन । तर मथिङ्गलमा कोचिएका कैयौं कुराहरुलाई फिल्टर गरेर चाहिँदो राख्ने, नचाहिँदो कोचेलगाँडा जति बाहिर फ्याँक्नका लागि पनि कतै अर्को दुलो त चाहियो । टाउकोमा जथाभावी प्वाल पारेर झ्याल राख्ने कुरा पनि भएन । दायाँबायाँ दुवैतिर कान भयो भने एउटा कानले सुन्ने अर्कोले उडाउने । हेर्नोस् त ब्रम्हाको कस्तो राम्रो आइडिया । एउटा मात्र कान भएको भए टाउकोमा एकापट्टि चुच्चो र अर्कोपट्टि बुच्चो हुन्थ्यो । हेर्दै नसुहाउँदो देखेपछि ब्रम्हाजी कस्तो छुच्चो भनेर सबैले गाली गर्थे । त्यो गालीबाट बच्न पनि उनले दुईवटा कानतिर ध्यान दिएका होलान् ।
ध्वनीतरङ्ग वा शब्दलाई ग्रहण गर्ने शरीरको अङ्ग, एक ज्ञानेन्द्रीय वा श्रवणेन्द्रीय भनी नेपाली शब्दकोषमा उल्लेख गरिएको कानको मुख्य कर्म भनेको अरुका कुरा सुन्ने र सुनेका कुरा फिल्टर गरेर आवश्यक राख्ने र अनावश्यक बाहिर फ्याँक्ने हो । यसका अतिरिक्त चश्मा अडकाउन पर्यो कान, भएभरका गहना ढल्काउनु पर्यो कान, कसैका कुरा सुनिदिनु पर्यो कान, कसैको गाली खानु पर्यो कान, ताली खानु पर्यो कान, उचाल पछार गरेर झगडा लगाइदिनु पर्यो कान, नराम्रा कुरा भरेर उपद्रो मच्चाइदिनु पर्यो कान, बढाइचढाइ गरेर कसैलाई थच्चानइदिनु पर्यो कान, इयरफोन घुसार्नु पर्यो कान, मुखमा मास्क मुसार्नु पर्यो कान, अभिभावकले निमोठ्नु पर्यो कान, गुरुले चिमोट्नु पर्यो कान । यदि कान नभएको भए हाम्रो हालत के हुन्थ्यो होला ? फेरी कानलाई पाल्न अति सजिलो छ । न यसलाई खान दिनुपर्छ, न लाउन । तर पनि यसले निःशुल्क हाम्रो सेवा गरिरहेको हुन्छ । यसलाई खान दिने भनेको सुख्खा भएमा तेल लगाएर दल्ने र बिसञ्चो भएमा औषधी राखेर कपासले धकेल्ने हो ।
अनुमान गर्नोस् त जन्मेदेखि मृत्य नहुन्जेलसम्म कानले कति कुरा कोचेको हुन्छ ? तैपनि अब भयो, मेरो राख्ने ग्यारेज खाली छैन । अब म कसैका कुरा सुन्दिनँ भनेर कहिल्यै कुनै कुरा फिर्ता गरेको छ ? दुःखीका कुरा, गरिबका कुरा, पीडितका कुरा, भोकमरीका कुरा, रोगीका कुरा । यस्ता जति नै कुरा सुनाउनोस् उ सुनिरहन्छ । अरुका कुरा सुनिरहँदा पनि कानलाई घुमाउरो पाराले यसले मेरो कानै खायो भनेर छेड हान्न पनि पछि पर्दैनन् । तर अरुले जे भने पनि नचाहिँदा कुरा कोचेर राखी रहँदा दिमागलाई बोझ हुन्छ भनेर एउटा कानले सुन्छ, अर्को कानले उडाइदिन्छ । यसो गर्दा कानको ग्यारेज पनि कहिल्यै भरिदैन । सधै खाली । हेर्नोस् त कानको करामत । टाउकाको दुईतिर च्याउ झैं उम्रिएका मेरा यी कानमा केटाकेटीमा नुवाइधुवाइ गरेर घाममा सुताएपछि आमाले तेल हालिदिनुहुन्थ्यो । स्कूल जाँदा पनि कानमा, कपालमा तेल दलेर पठाउनुहुन्थ्यो । पाठ बुझाउन नसक्दा गुरुहरुले कान समातेर तान्नु हुन्थ्यो । औंलाहरु चिप्लियो भने लौराले हान्नुै हुन्थ्यो । कहिलेकाहीँ त अझ सयौं चोटि कान समाएर उठबस गराउन पनि उचित ठान्नु्हुन्थ्यो ।
एकपटक सार्वजनिक मञ्चमा जोडदारको आमसभा हुँदै थियो । सायद चुनावताका हो कि जस्तो लाग्दछ । देशमा चाँडै समृद्धि आउने र मुलुक स्विटजरल्यान्ड जस्तो बनाउने जोशिलो भाषणमा सबै लठ्ठिएका थिए । म पनि कान ठाडो पारीपारी सुन्दै थिएँ । तर एकजना बुढा बा कानै अघायो भाषण सुनेर उदर छ खाली भनेर जुरुक्क उठेर हिँड्नुभयो । त्यतिबेला मैले कुरो बुझिनँ अहिले सम्झिँदा उहाँको कुराले मनै छुने गर्दछ । गाउँमा कसैलाई कान दुख्यो भने धामी झाँक्रीकोमा गएर फुकफाक गर्थे । बाठा झाँक्रीहरु लौ मैले किरा झारी दिएँ भन्दै रकम र चामल पोको पार्थे । कहिलेकाहीँ निको हुन्थ्यो घरेलु झारफुक र उपचारले छुन्थ्यो पनि ।
सानामा मलाई पनि नराम्रोसँग कान पाक्ने रोगले सतायो । गाउँका जान्ने सुन्नेले आमाको दुध परेर होला भन्थे, कपास र कनकर्नुले सफा गरिदिन्थे । कहिलेकाहीँ सिउँडीको पात आगोको रापमा तताएर त्यसको झोल हालेपछि ठिक पनि हुन्थ्यो । कहिले पाक्ने कहिले थाक्ने यो क्रम चलिनै रह्यो । व्रतबन्ध गर्दा गुरुले गोप्यसँग गुनगुनाउँदै खुसुक्क मेरो कानमा सुनाउनु भएको गायत्री मन्त्र भोलिपल्टै भुसुक्कँ बिर्सिएँ । पैसा लिँदा गन्नु, मनको कुरा कसैलाई भन्नु भने झैं सो कुरा मैले मेरा हितैषी मित्र पूण्यप्रसाद पतरकोटीलाई भनेँ ।
झिकिदे गाँड भन्दा थपिदे न गाँड भने जस्तो कहिलेकाहीँ आफूले सोच्यो सुल्टो भइदिन्छ उल्टो । मित्रले मन्त्र सिकाइदिन्छु तर एउटा सर्तमा भनी खोचे थापे । त्यतिबेला अहिलेको जस्तो मोबाइलको जमाना थिएन । कसैलाई प्रेम प्रस्ताव पस्किनुपर्यो भने पत्र नै प्रेषित गर्नुपर्ने । साथीको पनि सोही सर्त रहेछ, उसकी प्रेयसी पूण्यवतीलाई प्रेमपत्र लगेर दिनुपर्ने । प्रेमिकासँग उसको खटपट परेको रहेछ । बिग्रिएको वातावरण बलियो बनाउन प्रेमपत्र लगेर उनलाई दिनुपर्ने । लौ त नि भनेर मैले उसको प्रस्तावलाई सहर्ष स्वीकारेँ । पत्र लगेर पूण्यवतीको हातमा थमाउदै पूण्यले पठाएको मात्र के भनेको थिएँ, उनले कानको जाली फुट्ने गरी पट्काएकोले तोरीको फूल देखेँ ।
उनकै पट्काइले हो वा अन्य कारणले हो फेरि मेरो कानको समस्या बल्झियो । त्यतिबेला गाउँघरमा औषधी उपचारको कुनै सुविधा थिएन । यसो केही भयो कि घरायसी जडिबुटी वा झाँक्रीको भर पर्नु बाहेक कुनै विकल्प थिएन । गाउँमा नाम चलेका एकजना माटे धामी थिए । अर्काको खेतवारीको आँठो सार्न अति बाठो भएर होला उनले यो उपाधि पाएका । कसैलाई केही भयो कि सबै उनको शरणमा पर्थे । उनी झारफुक र घरेलु उपचार गर्थे । कतिका बेथा पनि टर्थे ।
बुबाले उनै धामीलाई बोलाउनुभयो । उहाँले नारी समाएर लामो सास फेर्दै भने, लौ केटालाई रातीखानी लागेछ । रातीखानी होइन पूण्यको प्रेयसीले हानी भनेर भन्न मन लागेको थियो तर धामीको अगाडि त्यसो भन्नु भएन । धामीबा फूकफाक गरेर गए तर अक्षता भेटी धामीलाई बेथाजति हामीलाई भने झैं कानको समस्या उस्तै रह्यो । बिस्तारै गाउँमा पनि उपचारको सुबिधा पुगेकोले कहिलेकाहीँ कम्पाउन्डरलाई देखाउथेँ । कान सुख्खा भएर होला तेल हाल्ने गर्नोस् भनेर दबाई पनि दिन्थे । म दबाई लिएर आउथेँ र कानमा लाउथेँ । आमाले कान सफा गर्दै र तेल पनि भर्दै गर्नु हुन्थ्यो । तैपनि कानबाट पिप आउन र दुख्न कम भएन ।
एक दिन गाउँमा विदेशी पर्यटकहरु घुम्दै आएको देखेँ । दौडँदै गएर उनीहरुलाई माई कान इज ठप्प, पिप आउँछ तप्प… तप्प… भनेर देखाएँ । उनीहरुले ओ आइसी भन्दै कानमा यसो हेरेर दुई तीन चोटी फूः फूः गरेर फुक्दै झोलामा रहेको औषधी झिकेर हालिदिए । त्यो दिनदेखि कान दुख्न दोहोलो भयो ।
स्वदेशी झारफुक र औषधीमुलोले नछुने हाम्रा कान विदेशीहरुले फुकेपछि ठिक हुँदो रहेछ र पो हाम्रा राजनीतिज्ञहरु बेलाबेलामा कान फुकाउन विदेश दौडिँदा रहेछन् भन्नेँ कुरा त्यसपछि मात्र बल्ल मलाई थाहा भयो । इति (लेखक सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष हुनुहुन्छ)