के हो पठन संस्कृति ?
सामान्य अर्थमा पढ्ने बानी वा संस्कार नै पठन संस्कृति हो । अझ सजिलोसँग भन्दा कुनै पनि विषयका पुस्तक, पत्रपत्रिकालगायत अन्य कुनै पनि प्रकारका लिखित वा मुद्रित सामग्री पढ्ने प्रक्रियालाई पठन संस्कृति भनेर बुझ्न सकिन्छ । पठन वा पढाइको कुरा गर्दा बोध वा बुझ्ने प्रक्रिया पनि सँगै जोडिएर आउँछ । त्यसैले, पठन संस्कृति भनेको पढ्ने र पढेका कुरा बुझ्ने साथै पढेर बुझेका कुरालाई जीवनमा उतार्ने प्रक्रिया पनि हो । पठनका नाममा पढ्ने तर पढेर सिकेका जानेका कुरालाई हाम्रो व्यावहारिक जीवनमा उतार्न सकिएन भने पढ्नु वा नपढ्नुको कुनै अर्थ र औचित्य रहँदैन ।
के पढ्ने ?
संसारमा पढ्नुपर्ने विषयहरू धेरै छन् । पठन संस्कृतिका नाममा म संसारमा भएका सबै कुरा पढेर भ्याउँछु भन्नु मूर्खता हुने छ । किनभने हामीसँग समय सीमित छ तर संसारमा पढ्नुपर्ने कुराहरू असीमित छन् । डा. मतिप्रसाद ढकाल भन्छन्, “पढ्ने नाममा हामीले जीवनको एकचौथाइ भाग शिक्षण संस्थाहरूमा बिताउँछौं तर हाम्रो पढाइले हामीलाई सजिलोसँग जीवन गुडाउने आधार भने प्रदान गर्न सकिरहेको छैन । शिक्षण संस्थामा पढ्ने पढाइ मात्र पढाइ हो भन्ने कुरामा हामी बढ्ता अभ्यस्त भयौं । शिक्षित त भयौं तर जीवनलाई पढ्न नसक्ने भयौं ।” त्यसकारण जीवनलाई बुझ्न पनि पाठ्यक्रमबाहिरका कुराहरू पढ्नु आवश्यक छ । हरेक मानिसका फरक फरक रुचि र चाहनाहरू हुन्छन् । त्यसैले आफ्नो रुचि वा झुकाव जुन क्षेत्रतिर बढी छ त्यसै विषयका सामग्रीहरू पढियो भने हामी आफ्नो रुचिको विषयको गहिराइसम्म पुग्न सक्छौं । तैपनि पढाइको प्रारभ्मिक चरणमा के पढ्ने भन्ने द्विविधा हुन सक्छ । यसका लागि नयाँ पुस्ताले आफ्ना अग्रज, अभिभावक वा शिक्षकसँग के पढ्ने भनेर सल्लाह लिनु राम्रो हुन्छ । यो पढ्दा राम्रो त्यो पढ्दा नराम्रो भन्ने छैन । आफ्नो रुचि जुन विषयमा छ त्यही विषयका सामग्री पढ्ने बानी गर्नु उपयुक्त हुन्छ ।
किन पढ्ने ?
किन पढ्ने वा पढेर के हुन्छ भन्ने प्रश्न महत्त्वपूर्ण छ । पठनले हाम्रो ज्ञानको दायरा बढाउँछ । कुनै विषयलाई नयाँ नयाँ ढंगले सोच्ने र व्याख्या गर्ने क्षमता बढाउँछ । प्रशिद्ध लेखक तथा राजनीतिज्ञ प्रदीप ज्ञवाली भन्छन्, “पठन संस्कृति निर्माण गर्ने भनेको आलोचनात्मक चेत भएका पाठक निर्माण गर्ने हो ।” व्यक्तिमा आलोचनात्मक चेत निर्माण हुनु निश्चय नै महत्वपूर्ण कुरा हो । कतिपय अभिभावकमा अन्य विषयको पठनले विषयगत पठनमा नकारात्मक प्रभाव पर्छ कि भन्ने द्विविधा पनि देखिन्छ तर विद्यार्थीलाई पाठ्यक्रम बाहिरका पुस्तक पढ्न दिँदा यसले पाठ्यपुस्तकका विषयवस्तुलाई बुझ्न अझ सघाउँछ । पठन संस्कृतिको विकासले फुर्सदको समयलाई सिर्जनात्मक ढंगले सदुपयोग गर्न सिकाउँछ । आफूले पढेका पुस्तकका बारेमा समीक्षात्मक टिप्पणी गर्ने, सोही पुस्तकप्रति अरु साथीहरूका विचार सुन्ने र छलफल गर्ने गरेमा कुनै विषयलाई फरक फरक दृष्टिकोणबाट हेर्ने चेतनाको विकास गर्न सकिन्छ ।
त्यति मात्र हैन, पठनले नयाँ पुस्तालाई लेखनतर्फ पनि प्रेरित गर्छ । किनभने पठन भनेको लेखनको कच्चा पदार्थ हो । कुनै विषयको राम्रो पाठक मात्र त्यस विषयको राम्रो लेखक पनि बन्न सक्छ । आज संसारमा लेखेर बाँच्ने वातावरण बनिसकेको छ । हाम्रै देशमा पनि कतिपय मानिसहरू पूर्णकालीन लेखक भएर बाँचिरहेका छन् । लेखनबाट सामाजिक प्रतिष्ठा र मानसम्मान पनि उत्तिकै प्राप्त हुन्छ । विचार गर्नुहोस् त संसारमा सबैभन्दा बढी सालिक कसका बनेका छन् ? निश्चय पनि संसारमा सबैभन्दा बढी सालिकहरू लेखककै बनेका छन् । सयौं वर्षपछिसम्म तिनै लेखकले लेखेका कुराहरू मानिसहरूले पढ्छन् । त्यसकारण पनि पठन संस्कृतिको विकास आवश्यक छ ।
कसरी पढ्ने ?
म माध्यमिक तथा स्नातक तहमा विद्यार्थीहरूलाई पढाउँछु । कहिलेकाहीँ कक्षामा विद्यार्थीलाई मौन पठनको अभ्यास गराउन खोज्छु तर उनीहरू मुख नचलाइकन, आवाज ननिकाली पढ्न आउँदैन भन्छन् । पढाइका मुख्यतः दुई तरिका हुन्छन्, सस्वर पढाइ र मौन पढाइ । सस्वर पढाइ आवाज निकालेर शब्दहरूको उच्चारण गर्दै गरिन्छ भने मौन पढाइमा आँखाले शब्दहरूलाई टिपेर मस्तिष्कसम्म पुर्याउने काम गरिन्छ । प्रारम्भिक तहमा सस्वर पठन गराइन्छ भने क्रमशः माथिल्ला कक्षाहरूमा मौन पढाइमा विद्यार्थीलाई अभ्यस्त बनाइन्छ । मौन पठनले छोटो समयमा धेरै कुरा पढेर बुझ्ने क्षमता विकास गराउँछ । त्यसैले पठन संस्कृतिको विकास गर्ने कुरा गर्दै गर्दा नयाँ पुस्तालाई मौन पठनमा अभ्यस्त हुन प्रेरित गर्नुपर्छ ।
माथि पनि भनियो, पढ्नु भनको बुझ्नु पनि हो र बुझ्नु भनेको पढेर सिकेका नयाँ कुरालाई आफ्नो दैनिक जीवनमा प्रयोग गर्नु पनि हो । त्यसैले कुनै पुस्तक वा मुद्रित सामग्री पढ्दा त्यसमा आफूलाई महत्वपूर्ण लागेका कुराहरूलाई रेखांकन गर्ने वा अन्यत्र टिपोट गर्ने, आफूले पढेका विषयमा छलफल गर्ने, त्यही विषयमा अन्य साथीहरूको धारणा बुझ्ने, पढेका कुराको विषयमा संक्षिप्त समीक्षा लेख्ने, त्यसका सवल पक्ष र सवल बन्न नसकेका पक्षको खोजी गर्ने जस्ता कार्यहरू गर्ने हो भने हामीमा आलोचनात्मक चेतनाको विकास हुन्छ । यसो गर्नाले पढेका कुराहरू लामो समयसम्म हाम्रो स्मृतिमा ताजा रहन्छन् ।
पठन सामग्री कहाँ पाइन्छन् ?
पुस्तकालय पाठ्यसामग्री प्राप्त गर्ने सबैभन्दा सहज र प्रभावकारी स्रोत हो । त्यहाँ बसेर निःशुल्क रूपमा पुस्तकहरू पढ्न सकिन्छ । निश्चित शुल्क तिरेर घरमै पुस्तक लगेर पढ्ने सुविधा पनि पुस्तकालयहरूले दिन्छन् । केही पुस्तकालयले निशूल्क सदस्यता प्रदान गर्ने भएकोले निशूल्क नै पुस्तक अध्ययनको अवसर रहन्छ । कतिपय सामग्रीहरू बजारबाट किन्न पनि सकिन्छ । पढ्ने साथीहरूको समूह बनाएर सबैले थोरै थोरै पैसा जम्मा गरेर पुस्तक किन्ने र त्यसरी किनिएका पुस्तक पालैपालो पढ्न पनि सकिन्छ । इन्टरनेट पाठ्यसामग्रीको अर्को सस्तो र सहज स्रोत हो । गुगलमा आफूले रुचाएको विषयमा खोजी गरेर थुप्रै सामग्रीहरू निःशुल्क प्राप्त गर्न सकिन्छ । कतिपय अनलाइनहरूले सस्तो मूल्यमा इ–बुकहरू बिक्री पनि गर्छन् । त्यहाँबाट पनि किन्न सकिन्छ ।
अन्त्यमा, पठन संस्कृतिको विकास वास्तवमै आजको समयको माग हो । आज हाम्रा बालबालिका डिजिटल दुनियाँमा हराएर दिनानुदिन एकलकाटे बन्दै गएका छन् । प्रविधिको यो लत कतिपय अवस्थामा घातक बनेको दुखद समाचार पनि हामीले सुन्दै आएका छौं । त्यसैले अब हरेक घर, समुदाय, समाज र देशले नयाँ पुस्तालाई प्रविधिको कुलतबाट बचाउन तथा उनीहरूमा भोलिको समयले माग गरेको दक्षता अभिवृद्धि गराउन पनि पठन संस्कृतिलाई एउटा विशेष अभियानका रूपमा अघि बढाउनु अत्यावश्यक भइसकेको छ । (निमेष निखिल सर्जक सञ्जाल मकवानपुरको संयोजक हुनुहुन्छ ।)