हेटौंडाः संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको आय–व्यय अनुमान प्रस्तुत गर्नुभएको हो ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७८/०७९ को संशोधित बजेट अनुमानभन्दा करिब १ खर्ब ६२ अर्बले बढी हो । चालु आर्थिक वर्षको बजेट १६ खर्ब ३२ अर्ब रुपैयाँ छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४५ अर्बको बजेट सीमा पठाएको थियो । अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब बजेट विनियोजन भएको छ । प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरणका लागि ४ खर्ब २९ अर्ब ८३ करोड बजेट छुट्याइएको छ ।
आगामी आर्थिक वर्षका लागि सरकारले राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड उठाउने लक्ष्य लिएको छ । यस्तै, २ खर्ब ५६ अर्ब आन्तरिक ऋण, ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान तथा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिएर बजेटको स्रोत पूरा गर्ने अर्थमन्त्री शर्माको बजेट वक्तव्यमा उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि छुट्याएको छ । आगामी वर्षका लागि सरकार शिक्षामा १ खर्ब ९६ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ बराबरको बजेट छुट्याएको हो । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, प्रदेशका लागि ५ अर्ब ३२ करोड र स्थानीय तहका लागि १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको भन्दा १८ अर्ब १९ करोड १० लाख रुपैयाँ बढी बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले शिक्षामा १ खर्ब ७८ अर्ब २० करोड २१ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।
यसैगरी, सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयका लागि एक खर्ब ८५ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा २० अर्ब १० करोड ३३ लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्षका लागि गृहमा एक खर्ब ६५ अर्ब ८४ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रका लागि एक खर्ब ४५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । कृषि, वन, मत्स्यपालन र सिंचाइ कार्यक्रमका लागि उक्त रकम छुट्याइएको हो । ऊर्जा मन्त्रालयका लागि आगामी वर्ष एक खर्ब ८ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि विशेषगरी कृषि उत्पादन, रोजगारी, ऊर्जा, भौतिक पूर्वाधार र औद्योगिक क्षेत्रमा बजेट केन्द्रित गरेको छ । सरकारले आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्रको मार्ग कोरेको बजेट वक्तव्यमा अर्थमन्त्री शर्माले बताउनुभएको छ ।