हेटौंडाः शैक्षिक सत्र २०७८ को कक्षा १२ को परीक्षा देशैभर आज सोमबारबाट एकैसाथ सुरु भएको छ । मकवानपुर जिल्लामा ५ हजार ३ सय ९ जना परीक्षार्थीले कक्षा १२ को परीक्षा दिँदैछन् । मकवानपुरमा १२ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
मकवानपुरको पालुङमा एउटा र हेटौंडामा ११ वटा केन्द्र तोकिएको छ । पालुङको पालुङ बहुमुखी क्याम्पस र हेटौंडाको २ वटा क्याम्पस तथा ९ वटा विद्यालयमा केन्द्र तोकिएको शिक्षा विकास समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो । हेटौंडामा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पसमा कक्षा १२ को परीक्षा केन्द्र तोकिएको छ । यसैगरी, आधुनिक राष्ट्रिय मावि, ज्ञानदा मावि, भूटनदेवी मावि, बालज्योति मावि, सिद्धार्थ मावि, बंशगोपाल मावि, निर्मल मावि, प्रगति मावि, त्रिभुवन माविमा केन्द्र तोकिएका पौडेलले बताउनुभएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म हुने पौडेलले बताउनुभयो ।