हेटौंडाः विश्व वातावरण दिवसका अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिने भएको छ । ५०औं विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले आजदेखि सप्ताहव्यापी कार्यक्रम गर्ने भएको हो ।
“सबैको साझा पृथ्वी” भन्ने मूल नाराका साथ यस बर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । भोलि मंगलबार खानेपानी व्यवस्थापन बोर्डको संयोजनमा खानेपानी सरसफाई स्वच्छता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिनेछ ।
यस्तै वृक्षरोपण, राप्ती खोला विशेष सरसफाई कार्यक्रम, ४० माइक्रोन तलको प्लाष्टिक झोलामा लगाइएको प्रतिबन्ध सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गरिनेछ । हेटौंडा बजार क्षेत्रको विशेष सरसफाई, माविस्तरीय वक्तृत्वकला प्रतियोगिता, वातावरण सचेतनामूलक साईकल र्याली र माविस्तरीय वक्तृत्वकला प्रतियोगिताको कार्यक्रम तय भएको आयोजकले जनाएको छ । जेठ २२ गते (जुन ५) ५०औं विश्व वातावरण दिवसको दिन बिहान ७ बजे उल्लेख्य जनसहभागितामा हेटौंडा–४ स्थित हुप्रचौरबाट बाजागाजा झाँकीसहितको वृहत वातावरणीय सचेतना र्याली निकालिने छ ।