हेटौंडाः बैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनका बेला दिइने मतदाता शिक्षा अहिलेको परिवेशमा विशेष छ । मत कसरी हाल्ने ?, कस्तो मत सदर र बदर हुन्छ ? लगायतका विषयमा यस वर्ष मतदाता शिक्षा दिईएन । यो चुनावमा समय अभावका कारण देखाएर निर्वाचन आयोगले घर–घरमा गएर मतदाता शिक्षा दिने कार्यक्रम गर्न सकेन । जसले गर्दा घरभित्रै रहने वृद्धवृद्धालाई चुनाबले छुन सकेको छैन ।
बागमती प्रदेशको राजधानी हेटौंडाकै ९३ वर्षीय वृद्धलाई स्थानीय तहको निर्वाचन २०७९ कहिले हुँदैछ भन्ने कुरा थाहा छैन । दलहरूले घरदैलो, कोणसभा, आमसभासँगै समाजिक सञ्जालमा विभिन्न तर्कसहित अमूल्य मत मागिसकेका छन् । निर्वाचनका लागि प्रचारप्रसार सकिएर मंगलबार मध्यरातबाट मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार गर्न र मतका लागि हारगुहार गर्न पाइँदैन । एकातिर मौन अवधि सुरु भएको छ भने अर्कोतिर मतदान कहिले भन्ने विषयसमेत कतिपय नागरिकलाई थाहा छैन । हेटौंडा–१० का ओमबहादुर कटुवाल वृद्धावस्थाका कारण राज्यले सञ्चालन गर्ने निर्वाचनजस्ता विभिन्न गतिविधिप्रति चासो कम हुँदै गएको बताउनुहुन्छ । “घरबाट बाहिर हिँडडुल नगरेकोसमेत धेरै समय भइसकेको छ”, कटुवाल भन्नुहुन्छ– “हेटौंडामा अहिले के हुँदैछ र के भइरहेको छ भन्ने कुरासमेत जानकारी छैन ।” ९३ वर्ष भइसकेकाले हिँडडुल गर्न नसकेर घरमा आराम गरी बस्ने गरेको उहाँले बताउनुभयो ।
स्मरणशक्ति कमजोर भइसकेको भए पनि बढी चासो भजन र लोकदोहोरीहरुमा भएकाले धार्मिक र मनोरञ्जनात्मक कार्यक्रमहरु टिभीमा हेर्ने गरेको उहाँको भनाई छ । सामाजिक सञ्जाल र टिभीमा आउने समाचारप्रति न्यून चासोकै कारण स्थानीय तहको निर्वाचनबारे जानकारी नभएको उहाँले बताउनुभयो । उम्मेदवारहरुले प्रचारप्रसार गर्दा सडक–सडकमै नारा, जुलुस गरेर भीडमात्र प्रदर्शन गर्ने गरे पनि घरघरमा गएर सबै मतदातालाई निर्वाचनको बारेमा जानकारी दिई मतदान गर्ने तरिका बताउन नसकेको उहाँको गुनासो छ ।
घरदैलो कार्यक्रममा प्रत्येक घरमा रहेका शारीरिक अवस्था कमजोर भइसकेका वृद्धहरुलाई मतदानका लागि अनुरोध नगर्दा निर्वाचनबारे जानकारी नभएको हो । प्रभावकारी मतदाता शिक्षा नहुँदा कटुवालजस्ता धेरै वृद्धवृद्धा मतदानबाट वञ्चित हुनसक्ने सम्भावना देखिएको छ । कटुवाल भन्नुहुन्छ– “मतदान कसरी गर्ने थाहा छैन । मतदान स्थलसम्म पु¥याउने मान्छे भएन भने मतदान पनि गर्दिन ।”
यसअघिको स्थानीय तह निर्वाचनमा पनि मतदाता शिक्षाकै अभावका कारण ६ हजारभन्दा बढी मत बदर भएको तथ्यांक छ । ५ वर्षको अवधिमा एक दिन हुने स्थानीय तहको निर्वाचनमा समेत मतदाताहरुलाई मतदाता शिक्षा दिन नसक्दा मत बदर भएको निर्वाचन आयोगले दावी गर्दै आएको छ । यसवर्ष पनि समय अभावको कारण देखाउँदै निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छैन । राजनीतिक दल तथा उम्मेदवारहरुले पनि घरघरमा गएर मतदाता शिक्षाका साथै मतदान गर्ने सही तरिका बुझाउन कञ्जुस्याइँ गरेका कारण मत बदर हुने जोखिम कायमै रहेको छ ।