सांकेतिक चित्र ।

हेटौंडाः स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने कानुनी प्रावधान रहेको छ । तर, बाध्यात्मक अवस्थामा बाहेक महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन् । मकवानपुर जिल्लाको १० वटा स्थानीय तहमध्य जम्मा दुई वटा स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी छ । यसरी प्रमुख पदमा जिल्लामा महिला उम्मेदवार २० प्रतिशत मात्र रहेको देखिन्छ ।

दोस्रो स्थानीय तहको निर्वाचनमा प्रमुख दलहरुले न्यून संख्यामा मात्र प्रमुख पदमा महिलाको उम्मेदवारीलाई स्वीकार गरेका छन् । संघीयता आएपछि पहिलो स्थानीय निकायको चुनावको तुलनामा यसपटक उम्मेदवारी बढे पनि यसलाई सन्तोषजनक मान्न भने सकिँदैन । अघिल्लो निर्वाचनमा मकवानपुरको १० वटै स्थानीय निकायको प्रमुख पदमा महिलाको उम्मेदवारी थिएन । पहिलो निर्वाचनमा उपमेयर वा उपाध्यक्ष भएकाहरुले यसपाली मेयर वा अध्यक्षमा उम्मेदवारी दिएका छन् । यसले पनि नेतृत्व तहमा बिस्तारै महिलाको संख्या बढ्दै गएको देखिन्छ । कानूनमा अध्यक्ष अथवा उपाध्यक्ष भनिएकाले पनि धेरै महिलाहरुले उपाध्यक्षमा स्थान पाएका छन् ।

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा समाजवादीले मीना कुमारी लामालाई मेयर पदमा उम्मेदवारी दिएको छ । उम्मेदवार मिना कुमारी लामा वहालबाला उपमेयर समेत हुनुहुन्थ्यो । यस्तै, नेकपा एमालेले बकैया गाउँपालिकाको अध्यक्ष पदमा सरला बोलखेलाई उम्मेदवार बनाएको छ । उम्मेदवार बोलखे बकैया गाउँपालिकाको बहालबाला उपाध्यक्ष समेत हुनुहुन्थ्यो । मेयरको उम्मेदवार मिना लामालाई कामको मुल्याङ्कन गर्दै र उपमेयरको रुपमा ५ वर्ष कार्यकाल बिताएको अनुभवको आधारमा मेयर पदको उम्मेदवारी दिएको हो । यस्तै, बकैया गाउँपालिकामा सरला बोलखेलाई पनि उपाध्यक्षको भूमिका राम्रोसँग निर्वाह गरेको भन्दै अनुभवको आधारमा काम गर्न सहज हुने ठानेर उम्मेदवारी दिईएको जनाईएको छ । महिलाको क्षमता भएपनि पुरुषत्व हावी हुने कारण पनि महिला पछि हट्नु पर्ने बाध्यात्मक अवस्था आउने गरेको उम्मेदवारको दाबेदारहरु बताउँछन् ।

यस्तै, नेकपा एमालेबाट सुमित्रा काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईन्दिरा न्यौपाने उपमेयरमा उम्मदेवार छन् । त्यसैगरी, हेटौंडा उपमहानगरपालिका भित्र अध्यक्ष पदमा महिलाको उम्मेदवारी निकै न्यून छ । १९ वटा वडा मध्य जम्मा दुईवटा वडा अथात् १० प्रतिशत मात्र महिला अध्यक्ष पदमा उम्मेदवार छन् । जिल्लामा ३ सय ५० जना महिला सदस्य उम्मेदवार छन् भने ३ सय जना दलित महिला सदस्य उम्मेदवार रहेका छन् । महिला सदस्य र दलित महिला सदस्यमा अनिवार्य महिला हुनै पर्ने कानूनी प्रँवधानका कारण मात्र महिलाको उपस्थिति भएको जस्तो देखिन्छ ।

हेटौंडा वडा नम्बर ११ मा भने दुई वटा ठूलो दलले नै अध्यक्ष पदमा महिला उम्मेदवार बनाएका छन् । नेकपा एमालेको तर्फबाट जुना दाहाल र नेपाली काँग्रसको तर्फबाट सुभद्रा बतौलालाई उम्मेदवार बनाएका छन् । हेटौंडा १४ मा राप्रपाले जानुका दुवाडीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । मकवानपुर जिल्लामा कूल एक हजार ९ सय ३१ जना उम्मेदवार रहेका छन् ।