प्रिया पौडेल

“जुन जोगी आएपनि कानै चिरेको” भन्ने उखान नसुन्ने कोही छैनन् । चुनावी माहोलको समयमा यो उखान बढी प्रचलनमा आउने गरेको छ । स्थानीय तहको काम प्रति असन्तुष्ट सर्वसाधारणको मुखबाट यस्तो वाक्य निस्किनु नौलो पक्कै होइन । अहिले हरेक चोकमा वा चिया पसलमा चुनावी कुरा हुन थालेको छ । बिहानको चिया होस् वा साँझको चुस्की सबैको गफ चुनाव तिरै छ । कसको मत कति ?, कसले चुनाव जित्छ ?, को आफ्नो ?, को पराई ? आ–आफ्नो अड्कलबाजी जारी छ । यस्तो लाग्छ उनीहरुको लागि चिया गफले नै निर्णय लिन्छ, चुनावी नतिजा आवश्यक छैन ।

बास्तबमा भन्ने हो भने चुनाव नेताको लागि मात्रै राम्रो हो, त्यसैले त सबै नेताहरु टिकटको लागि लुच्छाचुडी गर्दैछन् । जसरी हुन्छ टिकट पाउन मरिहत्ते गरेका नेताहरु अबको दिनमा चुनाव जित्न ज्यान लगाउँछन् । चुनाव जित्नको लागि दिन रात एक गर्ने नेताहरु विजयी भएपछि पनि यस्तै रफतारमा काम गर्छन् त ? चुनावको लागि उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । चुनाव जित्न सम्पूर्ण तरीका अपनाउने उम्मेदवारहरु प्रतिबद्धता पुरा गर्न पनि जीउ ज्यान लगाउँछन् त ? अघिल्लो निर्वाचनमा घोषणा पत्र कत्तिको पूरा गर्ने जनप्रतिनीधिले त्यो मुल्याङ्कन गर्नु जरुरी छ । व्यक्ति होइन योजना अनुसार का मगर्ने जनप्रतिनिधी आजको आवश्यकता हो ।

स्थानीय तह निर्वाचनको लागि जम्मा ११ दिन मात्र बाँकी छ । निर्वाचन आयोगले चुनावको लागि मतपत्र छपाई गरेर जिल्लामा पठाउने काम गरिरहेको छ । ३३ जिल्लाको लागि ५१ लख ८१ हजार मतपत्र ढुवानी गरेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी, भयरहित वातावरण सम्पन्न गर्ने र संवैधानिक दायित्व पूरा गर्न कटिबद्ध रहेको उल्लेख गरेको छ । मकवानपुरमा १८ वर्ष पूरा भएका कुल मतदाता २ लाख ७२ हजार ४ सय ६२ जना रहेका छन् । यस्तै, महिला एक लाख ३४ हजार ५ सय ५२ जना र पुरुष एक लाख ३७ हजार ९ सय ४ जना र अन्य मतदाता ६ जना रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा देखिन्छ । अहिले निर्वाचन आयोग मतदान केन्द्रमा खटिने कर्मचारीको व्यवस्थापनमा काम गरिरहेको छ ।

निर्वाचन आयोगले निर्वाचनको तयारी गरिरहँदा मनोनयन दर्ता गराएका उम्मेवारहरु भने आफ्नो पक्षमा भोट ल्याउन कसरत गरिरहेका छन् । आन्तरिक तयारी सकेर मैदानमा उत्रिएका उम्मेदवारहरु जनताको घर–घरमा पुगेर भोट माग्न सुरु गरेका छन् । स्वतन्त्र उम्मेदवारहरु भने चुनाव चिन्हको पर्खाइमा थिए । उनीहरु पनि आजबाट चुनाव चिन्ह र एजेन्डा सहित भोट माग्न घर गाउँ डुल्न सुरु गर्दैछन् । निर्वाचन आचारसंहिता अनुसार सार्वजनिक पदमा रहेका व्यक्ति चुनावी प्रचारप्रसारमा हिँड्न पदबाट राजिनामा दिएको हुनु पर्छ । आफ्नो पार्टीको चुनावी प्रचारप्रसारका लागि निर्वाचन आचारसंहिताको समेत ख्याल नगरी चुनावी मैदानमा छन् । स्थानीय निकायको चुनाव भनेको समाज रुपान्तरणको विषय पनि हो । स्थानीय सरकार अँएपछि विगत ५ वर्षमा विकास र समृद्धिमा धेरै सम्भावना र आधारहरु देखिए । तर, जुन गतिमा विकास र समृद्धिको क्षेत्रमा काम गर्नुपर्ने हो त्यो भने हुन सकेन । यद्यपी विकास र समृद्धिको क्षेत्रमा केही सुरुवात भएको छ ।

चुनावी मैदानमा आएका कतिपय उम्मेदवारहरु दोहोरिएका छन् । स्थानीय तहको वडा वा गाउँपालिकामा उम्मेदवारहरु दोहोरिएका छन् । उनीहरुले ५ वर्षे एउटा कार्यकाल काम गरिसकेका छन् । दोहोरिएका उम्मेदवारहरुको काम जनताले मुल्याङ्कन गरेका छन् । अघिल्लो कार्यकालको काम कारबाही देखेर असन्तुष्ट रहेका सर्वसाधरणको मत जित्न मुस्किल छ । स्थानीय निकायको काम प्रति असन्तुष्ट सर्वसाधारण मतदान कस्ता व्यक्तिलाई गर्ने भन्ने तर्फ ध्यान केन्द्रित गर्न थालेका छन् । बिगत ५ वर्षमा गर्न नसकेको काम आगामी ५ वर्षमा गर्छु भनेर मत माग्न उम्मेदवारहरुलाई सहजै भएपनि मतदाताले उनीहरुलाई कत्तिको विश्वास गर्छन् भन्ने गम्भिर प्रश्न अहिले खडा भएको छ । त्यसकारण पनि ५ वर्षको अवधिमा असन्तुष्ट रहेका जनताको मन र मत जित्न दोहोरिएका उम्मेदवारको लागि थप चुनौतिको विषय हो ।

पार्टीमा कार्यकर्ताको भूमिका निर्वाह गर्नेलाई कसरी चुनावी माहोल आफ्नो पक्षमा ल्याउने भन्ने तर्फ ध्यान भएपनि आम सर्वसाधारण भने चुनावी माहोल देख्दा दिक्क मान्छन् । सर्वसाधरणलाई सक्षम व्यक्तिको खाँचो छ । पछिल्लो समय स्थानीय निकायको निर्वाचनमा पार्टीभन्दा पनि व्यक्ति हेर्ने सोचको विकास हुँदै गएको छ । यसले स्थानीय निकायमा मनोनयन दर्ता गराएका उम्मेदवारको चरित्र पनि राम्रो हुनु आवश्यक छ । राजनीति र पार्टी देख्दा दिक्क मान्ने कारण पनि स्वतन्त्र उम्मेदवारको संख्या बढ्दो छ । पार्टीले भन्यो तेसैले समर्थन अनि पार्टिले भन्यो त्यसकारण बिरोध होइन । राम्रो कामको पार्टीले समर्थन गर्नु पर्छ नराम्रो कामको पार्टिले बिरोध गर्नु पर्छ भन्ने युवा आजको आवश्यकता हो ।

चुनाव निकै खर्चिलो बन्दै छ । अहिलेको खर्च चुनावमा विजयी भएपछि उठाउने सोच उम्मेदवारहरुको छ । यसले भ्रष्टचारलाई बढावा दिन्छ । देशव्यापी रुपमा राजनीतिमा आफु र आफ्नो परिवारलाई मात्र प्राथमिकता दिएको पाइन्छ । छोरी, श्रीमति र आफन्तलाई जसरी भएपनि टिकट मिलाउने नाममा नेताहरुले खेल खेलिरहेका छन् । वडातहमा एउटै व्यक्ति बारम्बार उम्मेदवार हुँदा नयाँ अनुहारले काम गर्ने मौका पाउन सकेको छैन । यसले पार्टीमा लाग्ने अन्य नेताहरुलाई निरुत्साहित गर्ने देखिएको छ । निर्वाचन भनेको राजनीतिक व्यक्तिहरुका लागि परीक्षा हो । यसमा उत्तिर्ण हुनको लागि उम्मेदवारले समाजमा राम्रो काम गरेर जनताको मन जितेको हुनुपर्छ ।