पछिल्लो समय मकवानपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले दिनहुँजसो लागूऔषध बरामद गरी ओसारपसारमा संलग्नलाई पक्राउ गरिरहेको छ । गाँजा तथा अफिमजस्ता अवैध लागूऔषध खेती व्यापक हुने गरेको मकवानपुरमा ती लागूऔषध बरामद हुनु स्वभाविक भए पनि भारतीय बजारबाट खरिद गरेर ल्याइने लागूऔषध पनि धेरै नै बरामद हुने गरेको छ । प्रहरीले लागूऔषधको खेती, ओसारपसार, बेचविखन तथा सेवनको रोकथामका लागि विशेष निगरानी र अभियान सञ्चालन गरिरहेका कारण दिनहुँजसो लागूऔषधसहित मानिस पक्राउ परिरहेका छन् । गाँजा, अफिम र चरेसजस्ता केही लागूपदार्थको उत्पादन देशभित्रै हुने गरेको भए पनि औषधीजन्य र अन्य लागूपदार्थ विदेशबाट आउने गरेको छ । विशेषगरी नेपाल–भारतबीच रहेको खुला सीमा लागूपदार्थ ओसारपसारका लागि सहयोगी बनिरहेको छ ।

भारतसँगको बढी व्यापारिक कारोबार हुने मुख्य नाका वीरगञ्ज भएर धेरै लागूऔषध नेपाल भित्रने गरेको छ । वीरगञ्जबाट हेटौंडा हुँदै राजधानी काठमाडौं तथा चितवन, पोखरालगायत देशको पश्चिमी भागमा ती लागूपदार्थ ओसारपसार हुने गरेको सहजै अनुमान गर्न सकिन्छ । वीरगञ्जबाट हेटौंडा प्रवेश गर्ने मुख्य नाका रातोमाटे चेकपोष्ट र बसपार्क क्षेत्रबाट लागूपदार्थसहित ओसारपसारमा संलग्न व्यक्तिहरु धेरै संख्यामा पक्राउ हुनुले पनि यसलाई पुष्टि गर्दछ । लागूपदार्थ ओसारपसारको ट्रान्जिट बनिरहेको मकवानपुर जिल्लामा लागूऔषध कारोबारलाई निरुत्साहित गर्न मकवानपुर प्रहरीले सक्रियता देखाइरहेकै छ । सोही अनुसार प्रहरीले दिनहुँजसो लागूऔषध बरामद र मानिसलाई पक्राउ गरिरहेको छ । तर, यसले लागूऔषध ओसारपसार कम हुन सकेको छैन ।

मकवानपुर प्रहरीले पक्राउ गर्ने लागूपदार्थमा धेरैजसो गाँजा र चरेशको मात्रा धेरै पाइने गरेको छ । जिल्लाका ग्रामीण भेगमा उत्पादन हुने गाँजा भारतीय बजारमा बिक्रीका लागि लाने क्रममा प्रहरीले बरामद गर्ने गरेको छ । यसैगरी, कोरेक्स, नाइट्रोभेट, डाइजेपाम, फेनारगन, नोर्फिन, ब्यप्रोनोर्फिन, लुप्रिजेसिकजस्ता लागूऔषधसमेत मकवानपुर प्रहरीले ठूलो परिमाणमा बरामद गर्ने गरेको छ । यस्ता लागूऔषध भने भारतबाट नेपाल भित्रने गरेका छन् । लागूऔषधको समस्यालाई निकै जटिल मान्दै रोकथामका लागि अन्तर्राष्ट्रिय जगतमा नेपालले पनि प्रतिबद्धता जाहेर गर्दै आएको छ । तर, दिनहुँ लागूऔषधसहित मानिस पक्राउ परेको समाचारले सरकारको प्रतिबद्धता निरर्थक देखिएको छ भने नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा लज्जित बनाइरहेको छ ।

लागूपदार्थ र यसबाट हुने दुव्र्यसनीको समस्या व्यापक बनिरहेको छ । लागूपदार्थ दुव्र्यसनको समस्या विश्वव्यापी भए पनि धेरै नेपाली किशोरकिशोरी र युवाहरु लागूपदार्थ दुव्र्यसनको शिकार बनिरहेका छन् । देशको युवा शक्तिलाई लागूऔषध दुव्र्यसनबाट मुक्त राख्न सरोकारवाला पक्षहरु गम्भीर बन्नुपर्छ । नेपाल–भारतबीच हुने लागूपदार्थ ओसारपसार नियन्त्रणका लागि दुबै देशका सरकार र सुरक्षा निकायले विशेष सक्रियता देखाउनुपर्छ । लागूऔषध नियन्त्रणका लागि प्रहरीको सक्रियतासँगै सबैको सामूहिक प्रयास आवश्यक पर्दछ । लागूपदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवन नियन्त्रण गर्न स्थानीय, प्रदेश र संघीय सरकार, सुरक्षा संयन्त्र, नागरिक समाज, राजनीतिक नेतृत्व सबैको सामूहिक प्रयास हुनुपर्छ ।