हेटौंडा–४, अजर अमररोडमा सडकपेटी नै कब्जा गरेर घर बनाउन बनाइएको रड बंग्याउने स्थल ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका क्षेत्रमा हेर्दा सामान्य लाग्ने तर गम्भीर गल्ती भइरहेका प्रसस्त उदाहरण देख्न सकिन्छ । सडक सुरक्षा, सर्वसाधारण नागरिकको सहजता, स्थानीय सरकारको सहजीकरण, नियमन, जनताप्रति जवाफदेहिता निर्वाह गर्नुपर्ने पक्षहरुमा बेवास्ता भइरहेको देखिन्छ ।

सडकनै अवरोध गरेर मापदण्ड विपरित हेटौंडा–५ राईटोलमा सडक स्ल्याब ढलान गरिँदै ।

सडकपेटीबाट नागरिकलाई सहज हिँड्ने वातावरण बनाउन सकेको छैन । स्थानीय सरकारका प्रशासक तथा सुरक्षा संयन्त्रले देखे नदेखे गरिरहन्छ । नियम पालना गराउनुपर्ने स्थानीय सरकार नै कानुन मिचिरहेको हुन्छ । बिहीबार हेटौंडा–५, राइटोलमा भित्री सडक स्ल्याब ढलान गर्ने क्रममा राइटोल जाने बाटो नै बन्द गरेर निर्माण कार्य गरिरहेको थियो । निर्माण कार्यको नाममा सडक अवरुद्ध गरे दण्ड गर्नुपर्ने स्थानीय सरकारकै विकास निर्माणको कामले बाटो अवरुद्ध भइरहेको छ ।

हेटौंडा–२, पुरानो मकवानपुररोड निर्माणको क्रममा बनेको माटोको ढिस्कोमा गहुँको बोट ।

सडकपेटीलाई पैदलयात्रीमैत्री एवम् सुरक्षित बनाउनेतर्फ स्थानीय सरकारको ध्यान जान सकेको छैन । पैदलयात्रुलाई अवरोध हुने गरी सडकपेटी नै कब्जा भइरहँदा पनि स्थानीय, प्रदेश र संघीय तीनै सरकारका अधिकारी चुपचाप छन् । विकास निर्माणको कार्यमा भइरहेको ढिलासुस्ती र त्यसले निम्त्याइरहेको असरबारे तीनै सरकार बेखबर जस्तै छ । ढल निकाससहित सडक निर्माणको कार्य भइरहेका नगरका अधिकांश स्थानमा महिनौंदेखि काम हुन सकेको छैन ।

हेटौंडा–४, कमलडाँडामा ढल निकासका लागि पाइप बिछ्याउन खाल्डो खनेको ठाउँमा माटोको ढिस्कोमा बेथुको साग ।

ढल निकासका लागि पाइप गाड्न खनिएको खाल्डोको माटोको ढिस्कोमा गहुँ फलिसक्यो, गोलभेँडाको बोट हुर्किएर फुल फुल्दैछ । बेथुको साग, रायोको सागको बोट फुलेर बुढो भइसक्यो । तर, पनि तीनै तहको सरकारको ध्यान जान सकेको छैन । घरअगाडि बंकर बनेर बसेको छ । नगरभित्र विकास निर्माणको चालढाल देखेर नगरवासी निराश छन् ।