अञ्जना लामा
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका बालमैत्री पालिका घोषणाको तयारीमा जुटेको छ । यसअघि पूर्ण साक्षर गाउँपालिका घोषणा गरिएको गाउ“पालिकाले बालमैत्री गाउँपालिका घोषणाको तयारी गर्नु सुखद् पक्ष हो । तर, बालमैत्री घोषण गर्नुअघि २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई नियन्त्रण गर्न गाउँपालिकाका लागि चुनौतिको विषय हुनेछ ।
मकवानपुरगढी गाउँपालिकास्थित स्वास्थ्य चौकीमा २० वर्ष नपुगी १४ जना सुत्केरी भएका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्म ९६ जना महिलाको प्रसुति गराउँदा २० वर्ष नपुगी १४ जनाले प्रसुति गराएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य निरीक्षक धु्रव लामिछानेले
जानकारी दिनुभयो । गत आर्थिक वर्षमा पनि धेरै जनाले २० वर्ष नपुगी प्रसुति गराएको भन्दै लामिछानेले मकवानपुरगढी गाउँपालिकाको १, ७ र ८ नम्बर वडामा बालविवाह गर्नेको संख्या धेरै देखिएको बताउनुभयो । बालमैत्री गाउँपालिका घोषणाको अभियानमा रहेको वडामा बाल विवाह गर्नेको संख्या धेरै देखिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
वडास्तर तथा टोलटोलमा बाल समूह, बाल सञ्जाल गठन गरेर बालबालिका तथा युवाहरुलाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि बालविवाह न्यूनीकरणमा चुनौती भइरहेको मकवानपुरगढी गाउँपालिकाको १ नम्बर वडा अध्यक्ष आइतमान सिंह लोले जानकारी दिनुभयो । विभिन्न माध्यमबाट जनचेतनाका साथै बालविवाह न्यूनीकरणसम्बन्धी प्रशिक्षण, तालिम गराउँदा पनि वालविवाह नियन्त्रण तथा न्यूनीकरण गर्न नसकेको उहाँले बताउनुभयो । बालविवाह न्यूनीकरणमा आम नागरिकको चासो हुनुपर्ने उहाँको भनाई छ ।
वर्तमान समयमा विवाह गर्न महिला पुरुष दुबैको न्यूनतम उमेर २० वर्ष पूरा भएको हुनुपर्छ । विडम्बना नेपालमा अझै ४१ प्रतिशत बालिका र ११ प्रतिशत बालकको बालविवाह हुने गरेको तथ्यांक छ । बाध्यतावश अभिभावकले नै उमेर बढाएर जन्मदर्ता गर्न पुग्छन् । वर्तमान कानुनअनुसार वालविवाह गराएमा तीन वर्ष कैद र जरिवानाको व्यवस्था छ । तर व्यवहारमा भने कडाई गरिएको पाइँदैन । ऐन कानुन एकातिर रहेको छ भने अर्कोतिर समाजमा दिन प्रतिदिन गैरकानुनी र विकृतिपूर्ण व्यवहार बढ्दो छ । यो अवस्थालाई अन्त्य गर्न प्रभावकारी कदम चाल्नु आवश्यक देखिन्छ ।