देशको सबैभन्दा ठूलो दल नेकपा एमालेको महाधिवेशन सकिएको छ । सर्वसम्मतिको लामो प्रयास असफल भएपछि निर्वाचनद्वारा नेतृत्व चयन गर्दै महाधिवेशन सकिएको हो । चितवनको पट्यारलाग्दो बसाईका बीच एमाले कार्यकर्ताहरुले पुरानै अनुहारलाई नेतृत्वको अवसर दिएका छन् । आलोचनात्मक चेत भएका केही नेताहरुले उम्मेद्वारी नहालेका भए प्रतिनिधिहरुको विवेक बन्धक नै बन्ने अवस्था थियो । भीम रावललगायतका नेताहरुले लिएको अडानका कारण लोकतान्त्रिक चरित्र जीवित भएको सन्देश दिन एमालेको दशौं महाधिवेशन सफल भएको छ । हुकुमी शैलीमा घोषणा गरेको सूचीकै मानिसहरु विजयी भएका छन् । तर निर्वाचन प्रक्रियाले लोकतान्त्रिक छवि बचाउन सहयोग पुगेको छ । निर्वाचनको परिणामले एमालेभित्र आलोचनात्मक चेत निकै कमजोर भएको देखिएको छ ।

महाधिवेशनपछिको नतिजाले अध्यक्षप्रति बफादारहरु विजयी भएका छन् भने आलोचक पराजित भएका छन् । सर्वसम्मतिका नाममा अध्यक्ष ओलीले प्रस्ताव गरेका उम्मेद्वारमात्र विजयी भएका हुन् । अध्यक्षको प्रस्ताव अस्वीकार गर्नेहरु सबै पराजित भए । माओवादीबाट प्रवेश गरेकाहरु विजयी हुँदै गर्दा एमालेमा लामो समयदेखि योगदान दिएकाहरु पराजित भएका छन् । यसले पार्टीभित्र नयाँ र पुरानाको खाडल छैन भन्ने सन्देश दिएको छ । पार्टी एकताका लागि यो सकारात्मक सन्देश पनि हो । प्यानल बनाउन नपाइने पार्टीको आचारसंहिता विपरित अध्यक्ष ओली पक्षले प्यानल नै बनाएर निर्वाचनमा धाँधली गरेको आरोप पनि लागेको छ । जे भए पनि अध्यक्ष ओलीले चाहेकामात्रै उम्मेद्वार विजयी हुनुले निर्वाचन त प्रक्रियामात्र रहेछ भन्ने आभाष दिलाएको छ ।

राष्ट्रवादी छवि बनाएका ओली सबैभन्दा ठूलो दल एमालेको दोस्रो पटक अध्यक्ष भएका छन् । अब त्यो दलभित्र उनलाई टक्कर दिन वा आलोचना गर्न वा चित्त नबुझेको कुरा भन्नसक्ने क्षमता भएका कोही पनि पदमा पुगेका छैनन् । १९ सदस्यीय पदाधिकारीमा उनले चाहेअनुसारकै अनुहार पुगेका छन् । अध्यक्षले गल्ती नै गरे ढाकछोप गर्नेदेखि प्रशंसकहरुको समूहबाट पार्टी सञ्चालन गर्ने अवसर ओलीले पाएका छन् । यसले पार्टीमा विकास हुँदै गएको सामूहिक नेतृत्व सकिएको छ भने एकल नेतृत्व स्थापित भएको छ । आलोचकहरु सबै पाखा लागेपछि अध्यक्षका कमजोरी औंल्याउने आँट भएकाहरु बाहिरिएका छ्न् । यो अवस्थाले पार्टीभित्रको लोकतान्त्रिक चरित्रमाथि प्रश्न लाग्नसक्ने अबस्था आउन सक्नेछ ।

आगामी निर्वाचनमा एकल बहुमतको दावीसहित महाधिवेशनमा होमिएको एमाले सौराहाबाट फर्कंदै गर्दा पार्टी एकताको सन्देश दिन सकेको छ त भन्ने प्रश्न खडा भएको छ । पार्टी भित्रको एकता वा अनेकता अध्यक्ष तथा पदाधिकारीका आगामी व्यवहारबाट प्रष्ट हुँदै जानेछन् । विधि विधानलाई थन्क्याउँदै पदाधिकारी तथा केन्द्रीय कमिटी घोषणाको अधिकार एकजनामा सीमित गर्ने गराउने प्रवृत्तिले फरक विचारलाई कति सहने हो भन्ने पक्ष आगामी व्यवहारबाट देखिनेछ । आफ्नो प्रशंसामात्र चाहने नेतृत्वले गरेका गल्तीलाई औंल्याउने आँट नगर्ने कार्यकर्ताबाट कुनै पनि कुरामा अब अध्यक्षलाई अवरोध हुने अवस्था एमालेमा छैन । अध्यक्ष ओलीले अब केही समय पार्र्टीभित्र एकल नेतृत्वको अभ्यास गर्ने सहज अवसर पाएका छन् ।