हेटौंडाः मकवानपुर जिल्लामा सामुदायिक र निजी गरी ४ सय ९९ विद्यालय छन् । प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तहका विद्यालयका ४ सय ९९ प्रधानाध्यापकमध्ये एक सय १६ महिला प्रधानाध्यापक रहेकोे शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लाका १० वटा पालिकामध्ये हेटौंडा उपमहानगरपालिकामा १७ जना, थाहा नगरपालिकामा १४ जना, कैलाश गाउँपालिकामा १२ जना, राक्सिराङ गाउँपालिकामा ७ जना, ईन्द्रसरोवर गाउँपालिकामा ५ जना, मनहरी गाउँपालिकामा ३ जना, मकवानपुरगढी गाउँपालिकामा ८ जना, बकैया गाउँपालिकामा २२ जना, बागमती गाउँपालिकामा ९ जना र भीमफेदी गाउँपालिकामा १३ जना महिला प्रधानाध्यापक रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । सबैभन्दा बढि बकैयामा २२ जना महिला प्रधानाध्यापक छन् भने मनहरीमा सबैभन्दा कम महिला ३ जना छन् ।
हेटौंडा–१, चाइनाक्वाटरमा रहेको अमर माविका प्रधानाध्यापक मालती उप्रेती भन्नुहुन्छ– ‘फलामको च्यूरा चपाएजस्तै महिला भएर प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु परेको छ । विगतमा जति कठिन तथा संघर्षपूर्ण जीवन भोगेँ र ती बाटोलाई पन्छाएर अहिले अमर माविको प्रधानाध्यापकको जिम्मेवारी लिएको छु ।’समाजमा पुरुषको तुलनामा महिलालाई हेर्ने दृष्टिकोण फरक छ । तर पनि महिला प्रधानाध्यापकको रुपमा रहेर विद्यालयको सम्पूर्ण पक्षलाई सम्हाल्न पाएकोमा गौरवको कुरा भएको उहाँले बताउनुभयो । विद्यालयका कर्मचारी, शिक्षक तथा आफ्ना सहकर्मीहरुको साथ र सहयोगका कारण प्रधानाध्यापकको दायित्व निर्वाह गर्न सहज भएको उहाँले बताउनुभयो ।
‘कोरोना भाइरसका कारण विद्यालय क्षेत्र ठप्प छ । अनलाइन कक्षामा विद्यार्थीहरुलाई निर्देर्शित गर्दैछु, झ्याप्प बिजुली जान्छ । जसले निराशापन अनुभव गरिदिन्छ’, प्रधानाध्यापक उप्रेतीले भन्नुभयो । पुरुष या महिला प्रधानाध्यापक सबैलाई वैकल्पिक शिक्षण सिकाई प्रभावकारी बनाउन कठिनाई भएको उहाँको अनुभव छ । विद्यालयको र घरपरिवारको हेरचाह र स्याहारका तुलनामा धेरै नै भूमिका फरक हुन्छन्, यसकारण महिलाको रुपमा प्रधानाध्यापक भएर आइपुग्दा तथा जिम्मेवारी लिइरहँदा फलामको च्यूरा चपाएको अनुभूति भएको उहाँले बताउनुभयो ।
यसैगरी, बकैया गाउँपालिकामा रहेको जनजागृति माविका प्रधानाध्यापक भवानीकुमारी तिमल्सिनाले आफूले प्रधानाध्यापकको भूमिक निर्वाह गरेको विद्यालयमा ३ सय ५० जना विद्यार्थी रहेको बताउनुभयो । उनीहरुमध्ये ५० जना निकै न्यून अवस्थाका परिवारबाट रहेको उहाँको दावी छ । ‘बकैया गाउँपालिका सुगमजस्तो देखिन्छ, तर पारिवारिक अवस्था हेर्ने हो भने पढाउनसमेत गुहार गर्नुपर्ने स्थिति छ’, प्रधानाध्यापक तिमिल्सना भन्नुहुन्छ– ‘यस्तो ठाउँमा रहेर महिला प्रधानाध्यापकको जिम्मेवारी लिनुपरेको छ ।’एकातिर महिलालाई घरको काम, अर्कोतिर विद्यालयको सम्पूर्ण काम गर्नुपर्दा भ्याइनभ्याइ हुने गरेको तिमल्सिनाले बताउनुभयो । ‘मावि तहमा विद्यालय गाँभिएको २ वर्ष भयो, प्रशासनदेखि शिक्षक र विद्यार्थीको पाटोलाई गहनरुपमा हेर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘२०७७ सालको एसईई नतिजा पनि पहिलो पल्ट मावि तह भएपछि सार्वजनिक गर्न पाएको छु ।’
अशिक्षित समाज र परिवार यस गाउँपालिकामा भएकाले पालिकाका बुद्धिजीवी, वडाध्यक्ष तथा शिक्षकहरुको पहलमा घरदैलो गरी विद्यालयमा बालबालिका भर्नाको वातावरण बनाउन सकिएको उहाँले बताउनुभयो । ‘अहिलेको कोरोना भाइरस संक्रमण तेस्रो लहरका रुपमा फैलिएको छ, गाउँघरका मानिसदेखि विद्यार्थी भाइबहिनीहरु पनि संक्रमणमुक्त हुन सकेका छैनन्’, प्रधानाध्यापक तिमल्सिनाले भन्नुभयो– ‘रुघाखोकी, ज्वरोले कोरोना लक्षण देखाए पनि कोरोनाको जाँच गराउने वातावरण गाउँघरमा हुँदैन । यसले गर्दा शिक्षकहरुले पनि वैकल्पिक शिक्षण सिकाई आगाडि बढाउन सकेका छैनन् ।’
‘प्रधानाध्यापकको दायित्व निर्वाह गरेपछि दिन र रात भन्न मिल्दैन । कहिले कहाँ बैठक तथा कार्यक्रम हुन्छ थाहा हुँदैन’, तिमल्सिना भन्नुहुन्छ– ‘आफूलाई महिलाको रुपमा प्रधानाध्यापक हुँदा पुरुषको तुलनामा कठिनाइको समाना गरिएको महसुस हुने गरेको छ ।’ दुर्गम पहाडी भेगका विद्यार्थी जनजागृति माविमा अध्ययनरत रहेकाले अति नाजुक अवस्थाका परिवारका विद्यार्थीको पढाइ निरन्तरता दिन विद्यालयको चासोले मात्र सम्भव नहुँदा संघसंस्था र सम्बन्धित निकायको सहयोगको अपेक्षा उहाँले गर्नुभएको छ । सबैको चासो र सहयोग भएमा भावी दिनमा ती विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा केही सहज पुग्ने तिमाल्सिनाले बताउनुभयो ।
महिला प्रधानाध्यापक हुँदा किशोरी विद्यार्थीका समस्या सहजरुपमा समाधान गर्न तथा बुझ्न सकिने उहाँले बताउनुभयो । महिला प्रधानाध्यापकलाई विद्यार्थीले खुलेर आफ्ना समस्या तथा कुरा राख्न सहज हुने भन्दै केही बोल्न नसक्नेका लागि भने महिला प्रधानाध्यापक हुँदा पनि समस्या समाधानमा सहज नहुने उहाँले बताउनुभयो ।