हेटौंडाः कोभिड माहामारीको जोखिम मकवानपुरमा कायमै छ । अझैै पनि मानिसहरु मास्क नलगाई हिँड्ने गर्छन् । मकवानपुर प्रहरीले शुक्रबार मास्क नलगाई हिँड्ने १ सय ३४ जनालाई जनही १ सय रुपैैयाँका दरले जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञा थप कडा बनाइएको छ । हेटौंडाका विभिन्न संघसंस्थाहरुलाई छुट्टाछुटै स्थानबाट निःशुल्क मास्क वितरण गर्न निर्देशनसमेत प्रशासनले दिएको छ । केही संस्थाहरुले मात्र केही स्थानबाट मास्क नलगाई हिँड्ने नागरिकहरुलाई मास्क वितरण गर्दे आएका छन् । तर पनि मानिसहरु अझै पनि आफ्नो सुरक्षाका लागि मास्क लगाउन तयार देखिएका छैनन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न निर्देशन दिएसँगै प्रहरीले सोमबारबाट मास्क नलगाउनेलाई जरिवाना गर्न सुरु गरेको हो । प्रहरीले शुक्रबार जिल्ला प्रशासन कार्यालयले तोकेको निश्चित समयभन्दा बढी पसल सञ्चालन गर्ने २ पसल सञ्चालकहरुलाई नियन्त्रणमा लिएको छ । उनीलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
प्रहरीले सोमबारबाट निश्चित समयभन्दा बढी समय पसल सञ्चालन गर्ने पसल सञ्चालकलाई नियन्त्रण गरी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउँदै आएको हो । प्रहरीले सोमबार निश्चित समयभन्दा बढी सयम पसल सञ्चालन गर्ने सञ्चालकहरुलाई सम्झाईबुझाई छोडेको भए पनि मंगलबारबाट नियन्त्रण गरी जिल्ला प्रशासन कार्यालय पठाई प्रशासनले ३ हजारदेखि ५ हजारसम्म जरिवाना गर्दै आएको छ ।
मकवानपुर प्रहरीले शुुक्रबार मास्क नलगाई हिँड्नेलाई एक हजार ४ सय ९८ थान मास्क निःशुल्क प्रदान गरेका छ । उनीहरुलाई मास्क प्रदान गरी सम्झाईबुझाई गरेर छाडिएको थियो । प्रहरीले सोमबारबाट नै दैनिकरुपमा एक हजारभन्दा बढी मास्क वितरण गर्दै आएको छ ।
कोभिड जोखिम कायमै रहँदा मास्क, सेनिटाइजर लगाउने र साबुनपानी बेलाबेलामा हात धोइरहनुपर्ने हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले बताउनुभयो । कोरोना हुनुभन्दा पहिले नै मानिसहरु सतर्क र सुरक्षित हुनुपर्ने उहाँको भनाई छ ।