आनन्दराम पराजुली, नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति

स्थानीय तहमा निर्वाचन भएर आएका जनप्रतिनिधहरु झण्डै पाँचौं वर्षमा छन् । केही समयपछि स्थानीय तहको चुनाव पनि आउँदैछ । गएको चुनावमा एमालेका तर्फबाट हेटौंडा उपमहानगरका मेयर निर्वाचित हरिबहादुर महतसँग थोरै मतले आनन्दराम पराजुली पराजित हुनुभएको थियो । नेपाली कांग्रेसको उपमहानगर सभापति पराजुलीले आफू पराजित भएपनि उपमहानगरले राम्रो काम गर्ने आशा गर्नुभएको थियो । तर त्यस्तो कुनै काम नभएको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरले झण्डै ५ वर्षको अवधिमा कुनै एक काम आँखाले देख्न नपाएको बताउनुभएको छ । उहाँले मेयरको रुपमा आफूसँगै चुनाव लडेर आएका हरिबहादुर महतले काम नै गर्न नसकेको दाबी गर्नुभएको छ ।

उपमहानगरका विकट क्षेत्रहरुमा पुग्न नसकेको भन्दै मेयरले मनलाग्दी कामहरु गर्दै आएको उहाँको भनाई छ । उहाँले बजारमा अहिले मेयर कमाउन लागेको भन्ने कुराहरु आइरहेको बताउनुभयो । यसै सन्दर्भमा रहेर प्रतिपक्ष दलको भूमिकामा रहेका नेपाली कांग्रेसले स्थानीय तहको कामलाई कसरी मूल्यांकन गरेको छ ? प्रतिपक्षलाई काम गर्दा सहज असहज कस्तो छ ? भन्ने विषयमा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले नेपाली कांग्रेस हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुलीसँग गर्नुभएको संवादको अंशः

समाजः प्रमुख विपक्षी दलको हिसाबाले हेटौंडा उपमहानगरको कामलाई तपाईंहरुले कसरी समीक्षा गर्नुभएको छ ?
पराजुलीः उपमहानगरको कामको विषयमा हामीले बोल्दा विरोध गरेजस्तो हुनेरहेछ । आम उपमहानगरबासीको कुरा पनि हामीले सुनेका छौं । कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन सकेन भन्ने पनि आयो होला । तर प्रतिपक्षको भूमिका भन्दैमा जे पायो त्यहि गर्ने कांग्रेसको स्वभाव पनि छैन । हेटौंडा उपमहानगरको मेयरमा चुनाव लड्दै गर्दा थोरै मतले पराजित भए पनि मलाईचाहिँ निर्वाचित मेयरले राम्रो काम गरिदिए हुन्थ्यो, जनताको काम हुन्छ भन्ने आशा लागेको थियो । तर त्यस्तो काम हेटौंडा उपमहानगरले गरेको पाइएन । सुरुमा मेयरमा जितेर आउनेबित्तिकैे करको दायरा बढाइदिने काम गर्नुभयो । त्यसैलाई पनि वैज्ञानिक ढंगले गर्न सकिन्थ्यो । सरोकारवाला व्यवसायी, संघसंस्थासँग छलफल गरेर बढाइदिएको भए उत्तम हुन्थ्यो । तर उहाँले आफ्नो मनलाग्दी ढंगले मचाहिँ अधिकारवादी जसरी कर बढाइदिनुभयो । त्यो हामीलाई राम्रो लागेन । यसले सबै व्यवसायीलाई अप्ठेरो पनि पर्‍यो ।

त्यसैगरी मेयरले पार्किङ व्यवस्थापन गर्ने भनेर ठूलो हलचल गर्नुभयो । दुईचार दिनमा त्यो पनि जस्ताको तस्तै भयो । कुनै पनि कुराहरु उठाइसकेपछि त्यसलाई टुंगोमा नपुर्‍याई उपमहानगरले जे पायो त्यहि गरिरहेको अवस्था छ । उदाहरणको रुपमा बसपार्कमा तौलपुल निर्माण गर्ने भन्दै खाल्डो खनियो, पछि पुरियो । हामीले किन नचाहिने काम गर्नुभएको, जनताको पक्षमा काम गर्नुपर्‍यो भन्दा उहाँले यत्रो सडकमा फूलहरु रोपेको छु, शहर सुन्दर बनाएको छु भनेर भन्नुभयो । एकपटक मैले उमपहानगर पुगेर जे पायो त्यहि गर्ने भन्दा मेयरले म अहिले काम गर्ने ठाउँमा छु, तपाईंले भनेर हुँदैन भन्नुभयो ।

सामाजः प्रतिपक्षको हिसाबले तपाईंहरुले पनि उपमहानगरको कामको मूल्यांकन गर्नुभएको छ । तर कुनै गलत हुँदा पार्टीको तर्फबाट विज्ञप्तिसमेत आइरहेको हुँदैन, यस्तो किन ?
पराजुलीः यसमा हामीले विज्ञप्ति, ज्ञापनपत्र लिएर नै हामी मेयरलाई दिनचाहिँ गएनौं । तर पत्रकारसँग आफ्नो कुरा राखेका छौं । सार्वजनिक स्थानमा हामीले बोलेका छौं । हाम्रा कुराहरु मिडियामार्फत्, सामाजिक सञ्जालमार्फत्, व्यवसायी साथीहरु, जनताको कुराहरु हामीले राखेका छौं । हामीले हाम्रो कुरा राख्दै गर्दा कांग्रेस हो, विपक्षी हो, विरोध गरिहाल्छ भन्ने हिसाबले उहाँहरुले हेर्नुभएको छ ।

मेयरको रुपमा आउनेबित्तिकै उहाँले जग्गाको प्लानिङ रोक्नुभयो । त्यो कुरा हामीलाई राम्रो लागेन । जग्गावाला सरोकारहरु धेरै मान्छे त्यहाँ काम गर्थे । कसैले लगानी गर्थे, कोही माध्यम बनेर दुईचार पैसा आम्दानी गरेर आफ्नो बालबच्चा पढाइरहे्का थिए । यस्तो कुरालाई व्यवस्थित नगरी आफूलाई झोक चल्यो, मन परेन, आफू अनुकूल साथीहरुले व्यवसाय गरेको छैन, चित्त बुझेको छैन भनेर एक्कासी निर्णय गरेर बन्द गर्नुभयो । उहाँले मन लागेपछि तुरुन्त खोलदिनुभयो । ३ वर्षसम्म बन्द गर्नुपर्ने र त्यसपछि खोल्नुपर्ने देखिँदा उहाँहरुको नियतमाथि पनि शंका छ । अहिले बजारमा हल्ला पनि छ, मेयर अहिले पैसा कमाउन लाग्यो भनेर ।

समाजः कांग्रेसको निर्वाचित वडा अध्यक्षहरुलाई प्रयोग गरेर तपाईंहरुको असन्तुष्टि, गलतलाई गलत भन्ने काम भयो होला नि ?
पराजुलीः यो कुरा मलाई पनि लागेको हो । स्वभाविक हो, जब पाँच वटा वडा अध्यक्षमा हाम्रो साथीहरुले जित्नुभएको हो । उहाँहरु पनि कति राजीतिक क्षेत्रबाट आउनुभएको छ भने केही भर्खरै राजनीतिमा प्रवेश गर्नुभएको थियो । कांग्रेस जिल्ला कमिटीले सबै स्थानीय तहका वडा अध्यक्षहरुलाई तपाईंहरु यसरी प्रस्तुत हुनुपर्छ भनेर तालिम नै दिएर पनि पठाएको छ । तर, उहाँहरुको सबैको क्षमताअनुसार भाव निस्किएन । वडा अध्यक्षहरु पनि हामीले भनेको जसरी प्रस्तुत हुन सक्नुभएको छैन । कतिपय कुराहरुमा असहमति राख्दा पनि बहुमत उहाँहरुको हुँदा त्यहिअनुसार चल्नुभएको छ ।

समाजः सहमति नभएका विषयमा आवाज उठाउँदा वडा अध्यक्षहरुलाई मेयरले केही योजना, बजेट थपिदिने गरेर सामसुम गर्नुभएको भन्ने कुरा पनि छ । यसलाई कसरी लिनुभएको छ तपाइँले ?
पराजुलीः त्यो रणनीतिक हिसाबले हुन सक्छ । कांग्रसका वडा अध्यक्षहरु रणनीतिक हिसाबले प्रयोग गरिएका छन् । हेटौंडा उपमहानगरमा पनि कोही वडा अध्यक्ष बढी कराए भने उसको मात्र सम्बोधन गरेर सानोमा राख्ने काम भएको छ । अन्य पालिकाहरुमा पनि हाम्रा वडा अध्यक्षहरु प्रयोग गरिएको छ । यसमा हामीलाई चाहिँ चित्त बुझेको छैन । वडाका साथीहरुको काम भयो त्यसमा विमत्ति भएन । तर समग्रमा भन्ने हो भने हेटैंडामा अहिलेसम्म एउटा काम यो गरेँ भनेर आँखाले देख्न हामीले पाएका छै्रनौं ।

समाजः कांग्रेसबाट पनि केही साथीहरुले वडा अध्यक्षमा जित्नुभएको छ । पार्टीसँग नगरमा रहेर काम गर्दा असहज भएको पार्टीले सहजीकरण गर्नुपछ भनेर रिर्पोटिङ आएको छ ?
पराजुलीः यस्तो भएको छ । त्यस्तो रिपोर्टिङ दुईचार पटक आएपछि हामीले पार्टी सभापति ईन्द्र बानियाँसँगै बसेर छलफल गर्दा मेयरले हैन ठिकै छ, मेरो कुनै कमजोरी भएको छ भने सच्याएर जान्छुसमेत दुईतीन पटक भन्नुभएको छ । हाम्रो कुराहरु विमति हुँदा नगरसभा नै बहिस्कार गर्ने भनेपछि उहाँहरु त्यसमा पछि तयार पनि हुनु भएको छ ।

सामाजः स्थानीय सरकारको रुपमा हेटौंडा उपमहानगरले के के कुराचाहिँ कमजोरी गर्‍यो भन्ने लाग्छ ?
पराजुलीः अहिले हेटौंडाको १९ वडामध्ये ६–७ वटा वडा धेरै विकट छ । सारै विकट ठाउँहरु पनि छन् । साविकको हेटौंडा नगरमा सेवा सुविधा पुगेको छ । बजार क्षेत्रमा बस्नेले सुविधा पाएको भए पनि समग्रमा हेर्दा हेटौंडा १९ को लेकपानी, ज्यामिरे, हेटौंडा १ को नकौली, हेटौंडा १५ को चिप्लेटी, बाँसघारी, हेटौंडा १६ को आकाशेधारालगायत धेरै ठाउँहरु छन् । त्यताका मान्छेहरुले खानेपानी पाएका छैन्न् । त्यताका बच्चा नाङ्गै छन्, स्कूल पढ्दैनन् । यस्ता कुराहरुमा उपमहानगरपालिकाको ध्यान जान सकेको छैन । उपमहागर त्यहाँ पुग्न सकेको छैन । त्यो ठाउँमा खानेपानी, सडक, शिक्षा पुर्‍याउन आवश्यक थियो । यो त विकटको स्थानमा भयो । उपमहानगरले नजिकै रहेकोे भैरबडाँडामा नै खानेपानीको व्यवस्था गर्न सकेको अवस्था छैन ।

अहिलेका मेयर आउनेबित्तिकै कर बढाउनतिर लाग्नुभयो । कर बढाउनु ठिक छ । तर सम्बन्धित निकायहरु उद्योग वाणिज्य संघ, व्यवसायीसम्बन्धित संघसंस्थाहरु राखेर यो यो कारणले हामी कर बढाउँछौं, त्यसबापत यो यो सुविधा दिन्छौं भनेर भन्न सक्नुभएन । त्यो भएन । ठूलो सिटी बनाउने कुरा मुख्यमन्त्री डोरमणि पौडेलको पनि गर्नुभयो । जग्गा व्यवस्थापनको कुरा आउँदा ३–३ वर्षसम्म पनि प्लानिङ रोकिदिनुभयो । पछि मेयरलाई चित्त बुझेपछि खोलिदिनुभयो । अहिले माथिबाटै स्वीकृत भएर आएको हटियामा शहरीकरणको फाइल उपमहानगरमा अड्किएर बसेको छ । अहिले हेटौंडा त ठूलो भइसक्यो । धरान चतराको बाटोले पनि हेटौंडालाई सुन्दरता थपेको छ । त्यहाँ एउटा सिटी बन्दा नगरलाई के आपत्ति भयो ? त्यहाँ उपमहानगरले लगानी पनि गर्नु पर्दैनथ्यो । यस्ता कुराहरुमा हामीलाई चित्त बुझेको छैन । हेटौंडामा दुईचार वटा साना शहरहरु निर्माण गरिदिँदा देशकै आकर्षणको केन्द्रबिन्दु हेटौंडा बन्नसक्छ ।

समाजः जिल्लाका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरमा कामहरु ठिकै भएका छन् भनेर चित्त बुझाउन सकिन्छ । अन्य स्थानीय तहहरुमा यहाँभन्दा बढी कामहरु भएको छ भनेर चित्त बुझाउन सक्ने अवस्था कत्तिको देख्नुहुन्छ ?
पराजुलीः अन्य स्थानीय तहभन्दा हेटौंडामा धेरै काम भएको छ । स्रोत यहाँ बढी छ । गाउँपालिकामा थोरै नै हुन्छ, स्रोत । गाउँपालिकामा धेरै वडा भएपनि स्रोत कम छ । तर हेटौंडामा पनि ५–७ वडामा पुग्नै कठिनाई छ । त्यहाँ कुनै काम पनि भएन । राम्रोसँग हेर्ने हो भने त पालिकाहरु नै अघि छन् ।

समाजः अब के कांग्रेसले स्थानीय तहमा भएका कामहरु समीक्षा गर्ला त ?
पराजुलीः यो पक्कै पनि हुन्छ । अहिले हामी आफ्नै अधिवेशनको तयारीमा भएका कारण हाम्रो ध्यान अलि कम त्यता गएको हो । हामीले अहिलेसम्म हेटौंडा उपमहागनरले के राम्रो काम गर्‍यो, के के नराम्रो भयो समग्र क्षेत्रको समीक्षा गर्नेछौं । त्यसलाई मिडियाको माध्यमबाट हामी सार्वजनिक पनि गर्छौ ।