बालविवाह गर्नु नेपालमा कानुनीरुपमा अपराध मानिन्छ । केही वर्ष आगाडिसम्म अभिभावकले नै बालबालिकाको जबरजस्ती विवाह गरिदिने प्रचलन थियो । जब अभिभावक बालविवाहबारे सचते बन्दै गए र बालविवाह गर्ने परिपाटी कम गर्दै लगे, तब बालबालिकामा आफूखुसी विवाह गर्ने प्रवृत्ति बढ्न थाल्यो । यसै सन्दर्भमा मनहरी गाउँपालिकाको बालसञ्जालका सल्लाहकार, शैशव मञ्च नेपाल मकवानपुरको संयोजक र युवा महिला समूहको अध्यक्षसमेत रहनुुभएका बालअधिकारकर्मी अनुजा गुरुङसँग समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददाता जमुना थिङले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः पछिल्लो समय बालबालिकामा आफूखुसी विवाह गर्ने परिपाटी बढ्दै गइरहेको छ । बालअधिकारकर्मीको हिसाबले तपाईंले बालविवाहलाई कसरी बुझ्नुभएको छ ?
गुरुङः २० वर्षभन्दा मुनिका कुनैपनि बालबालिकाले कानुनविपरीत विवाह गर्छ भने त्यो बालविवाह हो । कसैले २० वर्ष नपुुग्दै म विवाह गर्छु भनेर बालबालिकाले आफ्नै सहमतिमा वा बालबालिकाको मञ्जुरीबिना विवाह हुनु बालविवाह हो, जुन कानुनी अपराध मानिन्छ ।
समाजः तपाईं बालअधिकारकर्मीको रुपमा सक्रिय हुनुभएको कति वर्ष भयो ? तपाईंको अनुुभवमा बालविवाह रोक्न कतिको चुनौती हुँदोरहेछ ?
गुरुङः जब मैले बालबालिकाको क्षेत्रमा केही गर्छु भन्ने उद्देश्यसहित म आफैं बालअधिकारकर्मीको रुपमा आगाडि बढेको ५ वर्ष भयो । कतिपय अनुभव पनि बटुलेको हुँदा एकदम चुनौती देखिए पनि केही अवसर पनि छ । यदि बालविवाह रोक्ने हो भने सरकारले लिएको समृद्व नेपाल र सुखी नेपाली अभियान साकार पार्न थप सहयोग पुग्नेछ । कतिपय बालबालिका सानै उमेरमा विवाह गरेर पछि पछुताएको अवस्था पनि छ । म आफू बालविवाह गर्दिन र अरु बालबालिकालाई पनि बालविवाह गर्न दिन्न भन्ने उद्देश्यले बालअधिकारकर्मीको रुपमा सक्रिय छु । जसले बालबालिकाको शारीरिक, मानसिक र सामाजिकरुपमा वृृद्धि र विकासका लागि सहयोग पुग्नेछ । तर बालश्रमको तुलनामा बालविवाह रोक्न भने कठिन देखिँदैन । अहिलेको परिवेशमा सामाजिक सञ्जाल तथा मोबाइल बालबालिकाको हातमा भएकाले पनि अपरिचित व्यक्तिसँग कुराकानी तथा चिनजान हुुने कारणले बालविवाह भएको छ । मनहरी गाउँपालिकामा आफ्नो पहलमा गतवर्ष र यसवर्ष मात्र ९ वटा बालविवाह रोकिएको छ । जसको तुलनामा अभिभावकले जबरजस्ती गर्नुभन्दा पनि आफूखुसी बालबालिका विवाह गर्ने संख्या बढ्दो छ ।
समाजः बालबालिकाबीच आफूखुसी बालविवाह बढ्नुुचाहिँ के कारणले होलाजस्तो लाग्छ ?
गुरुङः बालबालिकामा आफैं के सही र के गलत भन्ने कुरा छुट्याउने अवस्था भएको हुँदैन । जब सकारात्मक सोचाइले बालविवाह किन बढे भन्ने कारण खोजी सम्बन्धित निकायले समाधानको प्रयास गर्दैन, तबसम्म बालविवाह बढिरहनेछ । जसमा गरिबीका कारण, आमाबुबाभन्दा साथीको कुरा मान्ने, पढ्न सक्ने वातावरण नभएका कारण पनि विवाह गर्दा नै सजिलो हुन्छ भन्ने सोचाईका कारणले बालविवाह भएको देखिन्छ ।
समाजः बालविवाह न्यूूनीकरण हुन नसक्नुका कारणहरु के होला ?
गुरुङः जब अभिभावकले नै बालबालिकाका लागि ध्यान दिन सक्दैनन्, तब बालविवाह रोक्न सकि“दैन । आफ्ना बालबालिका के गर्दैछन् र कस्ता क्रियाकलापमा संलग्न छन् भन्ने कुरामा अभिभावकले विशेष ध्यान दिन जरुरी देखिन्छ । बालबालिकाले पनि साथीका साथसाथै दोस्रो व्यक्तिको कुरा सहजै विश्वास गरेको अवस्था छ । अभिभावक र बालबालिकाबीच एकअर्कामा कुराकानी सेयर हुने हो भने आफ्ना बालबालिका कस्ता छन् र कुन बाटो अंगाल्दैछन् भन्ने कुरा अनुमान गर्न सकिन्छ । भावी दिनमा आफ्ना बालबालिका नकारात्मक बाटो अपनाउन भने कम हुनुका साथै बालविवाहमा कमी आउने देखिन्छ । यसमा बालबालिका आफू पनि म बालविवाह गर्दिन र गर्न दिन्न भन्ने कुरा सिर्जना भए चाँडै नै बालविवाह न्यूूनीकरण हुनेछ । बाल अभियन्ताका रुपमा बालबालिकालाई समेटेर बालविवाह न्यूूनीकरणका प्रयास जारी रहे पनि सबैलाई समेट्न सकिएको छैन ।
समाजः बालविवाह न्यूूनीकरणका लागि कसरी आगाडि बढ्नुभएको छ र कस्ता कार्यक्रम गर्दै आउनुभएको छ ?
गुरुङः हामी आफैं फिल्डमा गएर बालविवाह रोकेका छौं । यस्तै बालमनोविमर्श, सडकनाटक, जनचेतनामूलक कार्यक्रम पनि गरेर हामी र हाम्रो समूह सक्रिय भएर लागेका छौं । यसबाट सबैतिर नभए पनि मनहरी गाउँपालिकामा केही हदसम्म बालविवाह रोक्ने प्रयास भइरहेको छ । हामीले पहिला आफ्नो समाज र समुदायलाई नै जागृत बनाई सकारात्मक बाटोमा डो¥याउन आवश्यक हुन्छ ।
समाजः बालविवाह हुन नदिन कसको भूमिका महत्वपूर्ण हुन्छ ?
गुरुङः यसका लागि सबैभन्दा पहिला बालबालिका आफैं सचेत हुनुपर्छ । म बालविवाह गर्दिन र मैले विवाह गरे मेरो स्वास्थ्यका साथसाथै सामाजिकरुपमा पनि असर पर्छ भन्ने कुराको प्रत्याभूत गरिनु अवश्यक देखिन्छ । जसमा बालबालिका, अभिभावक र स्थानीय सरकारको समन्वयमा जनचेतनामूलक कार्यक्रमसहित सकारात्मक धारणा बालबालिकासमक्ष प्रस्तुत गर्नु आवश्यक छ । बालबालिकाको क्षेत्रमा आएका बजेट सदुपयोगका लागि बालबालिका आफैं अग्रसर भएर बालबालिकाको क्षेत्रमा काम गरिनु आवश्यक छ । प्रत्येक बालबालिकाले बालविवाह गर्नुहुँदैन, बालविवाह गरे कानुनी सजायको भागिदार भइन्छ र भावी दिनमा आमासँगै बच्चाको स्वास्थ्यमा पनि जोखिम आउनसक्ने कुरा बुझ्नुुपर्छ । अरुले त विवाह गरेका छन्, हामीले गर्दा के हुन्छ भन्ने सोच्नु हुँदैन । यसले देखासिकी बढ्ने हुुँदा यस विषयमा बालबालिका स्वयम् र अन्य सरोकारवाला निकायको ध्यानाकर्षण आवश्यक देखिन्छ ।
समाजः अबका दिनमा बालविवाह हुन नदिन स्थानीय सरकारका साथै बालबालिका र अभिभवाकको कस्तो समन्वय हुनु आवश्यक देखिन्छ ?
गुरुङः विद्यालय तहमा अहिलेको अवस्थामा बालक्लबहरु सक्रिय छैन । जुन अति आवश्यक देखिन्छ । बालबालिका आफैं आफ्ना अधिकार प्राप्तिका लागि जागरुक बनाउन विद्यालय व्यवस्थापन समितिमा एक बालक र एक बालिका सहभागी गराउनुपर्ने हुन्छ । जसबाट आफ्ना विद्यालय बालमैत्री छन् या छैनन् भन्ने कुरा यकिन गर्न सकिन्छ । बाल कार्यक्रमका लागि विद्यालयसँगसँगै वडामा बालमैत्री कार्यक्रमका लागि बजेट हुनुपर्छ । विद्यालयका शिक्षक, बालबालिका, वडावडामा सहजकर्ताहरु एकजुट भएर भावी दिनमा बालबालिकाको उज्ज्वल भविष्यको निर्माण गर्न सकिन्छ । बालबालिकाको क्षेत्रमा कस्ता नीति तथा कार्यक्रम ल्याउने र कसरी कार्यान्वयन गर्ने भन्ने कुरामा सबै सरोकार निकायबीच समन्वय हुनु आवश्यक हुन्छ ।