साहित्य भनेको शब्द र भाषाको प्रयोगमा आधारित कलात्मक अभिव्यक्ति हो । यो लिखित र मौखिक दुबै हुन्छ । साहित्य शैक्षिक विधाका साथै साहित्यिक रचनाहरुको अध्ययन गर्ने सिद्धान्तको नाम हो । कोरोना भाइरस संक्रमण बढेसँगै मकवानपुर जिल्लामा सुरु भएको निषेधाज्ञा अहिले खुकुलो भए पनि साहित्यिक क्षेत्रका प्रत्यक्ष गतिविधि सुरु भएका छैनन् । यसै सन्दर्भमा बु्ढ्यौली साहित्य समाजका संयोजक आरसी रिजालसँग समृद्ध समाज राष्ट्रिय दैनिककी जमुना थिङले गरेको कुराकानीः
समाजः बुढ्यौली साहित्य भनेको के हो ? कस्ता साहित्य बुढ्यौली साहित्य हुन् ?
रिजालः बुढ्यौली साहित्य भनेको बुढाबुढी तथा बृद्धबृद्धाको विषयमा लेखिएको साहित्य हो । जुन बालबालिका, युवायुवती तथा कुनै पनि उमेरका व्यक्तिले आफ्ना हजुरबुबा, हजुरआमाका बारेमा लेखिएका हुन्छन् । बुढाबुढी तथा बृद्धबृद्धाको साहित्यमार्फत वर्णन गरी कदर गरिन्छ ।
समाजः यस समाजको स्थापना कहिले र कसरी सुरु गुर्नुभयो ?
रिजालः हामी उमेर गएका पाका साहित्यकारले नै आफ्ना समस्यालाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने उद्देश्यले बुढाबुढी तथा बृद्धबृद्धाहरुकै लागि भनेर २०७७ सालको मंसिर महिनामा बुढ्यौली साहित्य समाज स्थापना गर्यौं । अन्य साहित्यिक संघसंस्थामा आबद्ध भएका, जसले ६० वर्ष पूरा भएर पनि साहित्य विधामा कलम चलाइरहेका छन्, यिनीहरुकै समूहद्वारा नै बुढ्यौली साहित्य मकवानपुरमा सुरुवात गर्नुपर्छ भनेर स्थापना गरिएको हो । म यो समाजको संयोजकका रुपमा रहेको छु् ।
समाजः बुढ्यौली साहित्य समाजले कस्ता नीति निर्माण तथा कार्यहरु गर्दै आएको छ ?
हाम्रो यस समाजले प्रत्येक आइतबार ८ः४५ बजे बागमती प्रदेशको राजधानीबाट प्रशारण भइरहेको थाहा एफएम ९९.६ मेघाहर्ज र काठमाडौंबाट प्रशारण भइरहेको ९९.४ मेघाहर्जमा बुढ्यौली साहित्य विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैगरी बुढ्यौली साहित्य विशेष भनेर अक्षर–अक्षर भन्ने हेटौंडाबाट ६/६ महिनामा साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन गर्ने तयारी भएको छ । रेडियोमा बुढाबुढी तथा बृद्धबृद्धालाई केन्द्रित रहेर अन्तरवार्तामार्फत् छलफल तथा प्रतिभा प्रष्फुटन गराउने उद्देश्यका साथ कविता, गजल, मुक्तक, कथा र गीत पनि प्रस्तुत गरी साहित्यको माध्यमबाट बृद्धबृद्धालाई एकीकृत गरी हर्षमय तरिकाले कुराकानी र प्रतिभाहरु प्रस्तुत गर्दै आइरहेका छौं । साहित्यिक कथाहरूको वर्णनमा भावना, समवेदना, गन्ध, स्वाद, ठाउँ, चरित्र र परिस्थितिहरूलाई एक विशेष तरिकाले उजागर गर्ने क्षमता हुँदा यसले भाषाको काव्य प्रणालीलाई हाइलाइट गर्दछ ।
समाजः बुढाबुढी तथा बृद्धबृद्धाले यस संस्थाबाट कस्ता अनुभूति लिन सकिन्छ ?
रिजालः अहिलेको आधुनिक तथा परिवर्तनशील जीवनशैलीका कारण कतिपय बृद्धबृद्धाहरु आफ्ना सन्तान भएपनि आश्रयस्थलमा र सडकमा कष्टकर जीवन बिताउनुपरेको अवस्था छ । जसकारण साहित्यमार्फत् भावी दिनमा आइपर्ने समस्याप्रति जागरुक भई चेतनशील बनाउने र सुरक्षित जीवनशैली अपनत्व गर्नका साथसाथै कसरी सम्पत्ति संरक्षण गर्न सकिन्छ भन्ने कुरामा जानकार गराउँछौं । काम गर्न नसक्ने बेलामा र सिकिस्त बिरामी भएर दिशा र पिशाब एकै गर्ने स्थितिमा घिन र हेप्ने गरिने हुँदा सदा आफ्नो सुरक्षाका निम्ति सम्पत्तिलाई जीवन जिउन्जेलसम्म जोगाइराख्न जनचेतना अभिवृद्धि गरिँदा प्रशंसायोग्य हुन्छ ।
समाजः कार्यक्रमलाई प्रभावकारी बनाउन आर्थिक समस्या हुन्छ या हुँदैन ?
रिजालः अहिले कोरोना भाइरस संक्रमण बढेको अवस्थामा निषेधाज्ञा खुकुलो भए पनि जारी छ । तर हाम्रो कोषमा अहिले ७ लाख ६७ हजार एक सय ६३ रुपैयाँ रकम जम्मा भएको अवस्था भएकाले अभाव नभएको र हुन नदिन निडरका साथ अघि बढ्न प्रयत्न जारी छ । जसले कुनै बृद्धबृद्धा धेरै नै पीडित अवस्थामा रहे केही सहयोग गर्नेछ भने हामीजस्ता क्रियाशील साहित्यकारमाथि आइपर्ने जटिल समस्या जुन स्वास्थ्य उपचारका लागि खर्च गरिनेछ । साहित्यिक विधामा क्रियाशील साहित्यकारलाई पनि प्रोत्साहनस्वारुप सम्मान गरिनेजस्ता कार्यक्रमका लागि यस कोषले सहयोग पुग्ने अपेक्षा राखेको छौं ।
समाजः आगामी दिनमा यस्ता प्रशंसायोग्य कार्यलाई कसरी निरन्तरता दिनुहुन्छ ?
रिजालः हजुरी शाह, गोपालबहादुर रायमाझी (चट्याङ मास्टर), कृष्णमुरारी गौतम, एसपी कोइरालाजस्ता सहयोगी मनहरुले झन ऊर्जावान र क्रियाशील बनाउन सहयोग मिलेको छ । जसले साहित्य लेखनमा सबै उमेरका व्यक्तिहरुलाई बृद्धावस्थामा हुने इच्छा, चाहना, भावना हुन्छन् । जुन चाहेर पनि कसैले इच्छा प्रकट गर्न नसक्ने स्थिति हुन्छ र अरुको भरमा जीवन निर्वाह गर्नुपर्ने हुन्छ । जसकारण यस्ता साहित्य लेखनमा प्रोत्साहन गरी जतिसक्दो चाँडो सम्बन्धित निकायमा गई संस्था दर्ता गराएर राष्ट्रव्यापीरुपमा समिति निर्माण गरिनेछ । कोरोना भाइरस कम भएपछि सबै क्षेत्र खुलेपश्चात् साहित्य गोष्ठीलाई निरन्तरता दिने र सम्बन्धित निकायमार्फत् आफ्ना कार्यक्रमको उद्देश्य जानकार बनाएर बुढ्यौली साहित्य समाजलाई सबैको आफ्ना अभिव्यक्ति साहित्य माध्यमबाट प्रस्तुत गराउने केन्द्र बनाउने छौं । भावी पुस्तालाई क्रियाशील बनाउँदै कलाको रुपमा कलाको विशेषता सौन्दर्य तत्वहरूको प्रयोग गरेर, पढ्नेबाट रमाइलो गर्ने, पाठकको कल्पनालाई जगाउने र यसलाई अकल्पनीय ठाउँ र समयमा स्थानान्तरण गर्न सक्षम पार्नेछौं ।