थाहा नगरपालिकाका मेयर लवशेर विष्टलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । रोटरी क्बलले ४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभएको छ ।

रोटरी क्लबले मंगलबार थाहा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर १ थान, अक्सिजन सिलिण्डर ५ थान, २ हजार थान मास्क, २५ लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ मकवानपुर सदस्य सर्मेन्द्र पौडेलको संयोजकत्वमा थाहा नगरपालिकाका मेयर लवशेर विष्टलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

यस्तै मंगलबारै मकवानपुरको कैलाश गाउँपालिका–९ स्थित स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर १ थान, मास्क २ हजार थान, फोल्डिङ बेड १ सेट, सर्जिकल ग्लोब्स, फेस सिल्ड हस्तान्तरण गरिएको रोटरी क्लब अफ मकवानपुरका सचिव कृष्णबहादुर कार्कीले जानकारी दिनुभएको छ । रोटरी क्लबका सदस्य शम्भु पुडासैनीको संयोजकत्वमा कैलाश गाउँपालिका ९ नम्बर वडा अध्यक्ष सुमन लटौलालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्न रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कबिन सांगामी, रोटरी क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, रोटरी क्लब अफ हेटौंडाका सुदर्शन ढकालसहित रोटरी तथा रोट्र्याक्ट क्लब अफ मकवानपुरका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो ।