हत्या अभियोगमा बारा प्रहरीले पक्राउ गरेका दुई अभियुक्त ।

हेटौंडाः २५ वर्षे युवक वीरेन्द्र बैठालाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

गत बिहिबार बिहान साढे ६ बजे बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–२, भलबरिया टोल बस्ने बैठालाई कुटपिट गरी हत्या गरेको अभियोगमा बारा जिल्लाको फेटा गाउँपालिका–३, फुलबरियाटोलका ३५ वर्षीय पारस महत्तो धानुक र बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–२, बरैनियाटोलका ७२ वर्षीय वीरबहादुर यादव (दास बाबा) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।

हत्या गरिएका बैठा सानैदेखि गाउँघरमा चोरी गर्दै हिँड्ने गरेको तथा गाउँलेले पनि कुटपिट गर्दै छाड्दै आएको प्रहरीले जनाएको छ । मृतक बैठा गाँजा खान मन्दिरमा जाँदा पुजारी समेत रहेका दासबाबाले फलामको डण्डीले हिर्काएको र धानुकले बाँसले हिर्काउँदा बैठाको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । धानुक र दासबाबाले कुटपिट गरेर हत्या गरेपश्चात बैठाको शवलाई बाटोमा घिसारेर फ्याँकेको प्रहरीले जनाएको छ । बारा प्रहरीले दास बाबा र धानुक विरुद्ध ज्यान मुद्दा दायर गर्ने तयारी गरेको छ ।