देशका विभिन्न जिल्लामा जस्तै मकवानपुरमा पनि कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जारी भएको निषेधाज्ञा एक साताका लागि थपिएको छ । बन्दाबन्दी केही खुकुलो बनाउँदै संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । डेड महिनादेखिको बन्दाबन्दीमा संक्रमणमा संख्यात्मक नियन्त्रण भएको देखिएको छ । तर संक्रमण प्रतिशत उस्तै भएको विज्ञहरुले बताउँदै आएका छन् । निषेधाज्ञा कडाईका साथ पालना गराउने प्रयास गर्दा पनि संक्रमण प्रतिशतमा कमी आउन नसकिरहेको अवस्थामा केही खुकुलो बनाउँदा जोखिम थप बढ्ने त हैन भन्ने आम आशंका छ । यसका लागि प्रशासन र प्रहरी भन्दा पनि नागरिकको ब्यवहार बढी जिम्मेवार देखिन्छ ।

महामारी नियन्त्रणमा कानुुन, नियम, पुलिस प्रशासन भन्दा पनि प्रत्येक नागरिकको जिम्मेवारी हुन्छ । कोरोना व्यक्तिहरुको व्यवहारबाट फैलने भएकाले प्रत्येक नागरिकले आफ्ना बानी व्यवहारमा परिमार्जन नगरेसम्म नियन्त्रण हुने देखिँदैन । अहिले केही कमी भए पनि कुनै पनि समय फेरि फैलन सक्ने विज्ञहरुको दावी छ । विज्ञको अनुमान असत्य प्रमाणित गर्न नागरिकले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न आवश्यक छ । जोखिम अरुलाई नभई आफैंलाई हुन्छ भन्ने मान्यता राख्नुपर्छ । प्रत्येक नागरिकले आफूूबाहेक अरु संक्रमित छन् भन्ने आशंकाबाट होशियारी अपनाउने हो भने महामारीबाट समाजलाई मुक्त गर्न सकिनेछ । तर मानिसको व्यवहार त्यसप्रकारको नहुँदा संक्रमण कम हुन सक्दैन ।

कोभिड संक्रमण केही कम देखिँदै गएपछि निषेधाज्ञालाई केही खुकुलो बनाइएको हो । खुकुलो शब्दसँगै हेटौडा बजारमा मानिसहरुको भिड बढेको छ । अत्यावश्यक काम नहुँदा पनि मानिसहरु बजार डुल्न निस्कने गरेका धेरै घटना छन् । जसले जोखिम बढाउनेछ । कसैले नभनि मानिस आफैं होशियार बन्न तयार हुँदैन । त्यसैले प्रहरी प्रशासनले नियन्त्रणका लागि सक्रियता यथावत राख्नैपर्ने हुन्छ । निषेधाज्ञा आदेश उल्लंघन गरेमा प्रचलित कानुुनबमोजिम कडा कारबाही हुने बताइएको छ । तर आदेशलाई पालना गर्ने र गराउने पक्षको जिम्मेवारीले मात्र कोरोना कम हुनसक्छ । आदेशमात्रले होइन । मकवानपुरमा लगाइएको बन्दाबन्दीमा मानिसको जीवन निकै अस्तव्यस्त भएकै हो तर केही पाउन केही गुमाउन तयार हुनुको विकल्प छैन । त्यसैले अझै केही समय निषेधाज्ञाको पूर्ण पालना गर्नु सबैको जिम्मेवारी हो ।

कोरोनासँग सधैं भाग्ने भन्दा सँगै बाँच्ने बानीको विकास हुनैपर्दछ । यसका लागि स्वास्थ्य मापदण्ड पूर्ण पालना पहिलो शर्त हो । यदि अत्यावश्यक काममा घरबाहिर जानैपर्ने भएमा स्वास्थ्य मापदण्ड पालना गर्नु अनिवार्य हुन्छ । पुलिस प्रशासनले मानिसहरुलाई हिँड्डुल गर्नमा प्रतिबन्ध गर्नुभन्दा केही खुकुलो अवस्था दिनुपर्दछ । तर मास्कको प्रयोग, सामाजिक दुरी र कामको औचित्यका विषयमा छानविन र परीक्षण गर्नै पर्दछ । औचित्यपूर्ण कामका लागि हिँडेको र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेको अवस्थामा वातावरण सहज बनाउने काम प्रशासनको हो । सामाजिक व्यवहारमा सुधार अझै देखिँदैन । व्यक्तिगत असावधानीले अझै भयावह अवस्था नआओस् भन्ने विषयमा संबै गम्भीर बन्नुको विकल्प छैन ।