हेटौंडाः सामाजिक सेवामा सक्रिय अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था अन्तर्राष्ट्रिय रोटरी क्लबको सदस्य संस्था रोटरी क्लब अफ मकवानपुरले २० दिन सञ्चालन गरेको निशूल्क खाना खाने कार्यमा ६ हजार ९४ जनाले खाना खाएका छन् । कोरोना महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा लम्बिँदै जाँदा विपन्न परिवार र व्यक्ति भोकै पर्ने जोखिमलाई मध्यनजर गर्दै रोटरी क्लब अफ मकवानपुरले जेठ १२ गतेबाट निशूल्क खाना खुवाउन सुरु गरेको हो ।
निशूल्क खाना खुवाउने कार्यमा अपेक्षा गरिएभन्दा राम्रो भएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभयो । असार १ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा केही सहज बनाउँदै लगेसँगै रोटरी क्लबले निशूल्क खाना खुवाउने कार्य बन्द गरेको छ । रोटरी क्लबले जेठ १२ गतेदेखि हेटौंडाको हुप्रचौरमा निशूल्क खाना खुवाउने व्यवस्था गरेको थियो भने हेटौंडा अस्पतालमा उपचाररत विरामीलाई पनि खाना खुवाउने र असहाय परिवारमा पनि घरमै खाना पुर्याउने व्यवस्था गरेको थियो । रोटरी क्लबले हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीका लागि दैनिकरुपमा पोषणका लागि कुखुराको अण्डा र मुंग दालको सुप पनि खुवाएको थियो ।
रोटरी क्लबले निशूल्क खानाका साथै केही परिवारलाई खाद्यान्न पनि सहयोग गरेको थियो । असहाय परिवारलाई लक्षित गरी खाद्यान्न वितरण गरिएको थियो । निशूल्क खाना खुवाउने कार्यमा पञ्चसिद्धि फाउण्डेशनको साथमा सुरुवात गरेको थियो । खाना खुवाउने कार्य सुरु भएको दिनबाटै सहयोग गर्नेहरु प्रसस्त आएको अध्यक्ष सांगामी बताउनुहुन्छ । रोटरी क्लब अफ मकवानपुरका निर्देशक शुक्र राज जोशीको संयोजकत्वमा खाना खुवाउने समिति गठन गरिएको थियो । खाना खुवाउने कार्यमा रोटरी तथा रोट्र्याक्ट क्लबका पदाधिकारी तथा सदस्यहरु नियमित सक्रिय थिए ।
निशूल्क खाना खुवाउने कार्यमा करिब ४ लाख रुपैयाँ खर्च भएको अध्यक्ष सांगामीको भनाइ छ । खर्च भएको रकम मध्ये करिब अढाई लाख रुपैयाँ विभिन्न व्यक्ति तथा संघ, संस्थााबाट सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ । निशूल्क खाना खुवाउने कार्य सुरु गर्नुअघि आर्थिक स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष सांगामीले भन्नुभयो, ‘निशूल्क खाना खुवाउन सुरु गरेलगत्तै देशविदेशबाट व्यक्तिगत, संस्थागत सहयोगको ओइरो नै लाग्यो । अहिले पनि नियमित रुपमा खाना खुवाउनका लागि स्रोतको समस्या हुने अवस्था थिएन ।’
उहाँका अनुसार जनजीवन सहज समेत बन्दै गएका बेला ज्याला, मजदुरी गर्नेले पनि बिस्तारै कामको अवसर पाउने अपेक्षासहित निशूल्क खाना खुवाउने कार्य बन्द गरिएको हो । निशूल्क खाना खुवाउने कार्यमा सहयोग गर्ने सवैप्रति आभार व्यक्त गर्नुहुँदै अध्यक्ष सांगामीले सामाजिक सेवाको क्षेत्रमा समर्पित भएर क्लबका सवै सदस्य, व्यवसायी, सामाजिक व्यक्तित्व, सञ्चारकर्मीको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ ।