हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभर थप १ साताका लागि निषेधाज्ञा बढाएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै प्रशासनले आगामी असार ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्लाभित्र कोरोना संक्रमणको जोखिम यथावत नै रहेको भन्दै जिल्ला कोभिड व्यवस्थापन समिति, मकवानपुरकोे सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ । आइतबार बसेको बैठकबाट संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञालाई निरन्तरता दिई २०७८ साल जेठ ३१ गते सोमबार राती १२ः०० बजेदेखि असार ७ गते सोमबार राती १२ः०० बजेसम्म जिल्लाभर निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो ।

निषेधाज्ञा अवधीभर निषेधाज्ञाको उल्लङ्घन गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने समेत उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधीभर अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू, पुस्तक तथा स्टेसनरी, कम्प्युटर तथा मोबाईल मर्मत गर्ने पसलहरू आलोपालो मिलाई विहान ४ बजेदेखि विहान १० बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल भने नियमित सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ । पसल सञ्चालन गर्दा अनिवार्य रूपमा भौतिक दूरी कायम गर्न, जनस्वास्थ्यका मापदण्ड पालना गर्न र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्न पनि निर्देशन दिइएको छ । सो बाहेकका अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने बताइएको छ ।

यस्तै औषधी उपचार र खाद्य वस्तु तोकिएको समयमा खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जान बाहेक कुनै पनि व्यक्तिहरू घर बाहिर निस्कन, मर्निङ तथा इभनिङ्ग वाकमा जान र हिँडडुल गर्न नपाइने जनाइएको छ । हेटौडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका तरकारी तथा माछामासु बजार भने पूर्णरूपमा बन्द रहने निर्णय पनि बैष्कले गरेको छ ।

सवारी साधनहरू सञ्चालनको विषयमा बैठकले पुरानै नियमहरुलाई यथावत नै कायम राखेको छ । जसमा अत्यावश्यक एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाईने छ ।

यसैगरी अन्य सबै पहिलेकै निर्णयहरुलाई कार्यान्वयन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । निषेधाज्ञा अवधीमा उल्लिखित आदेश उल्लङ्घन गरेमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ र २२ बमोजिम कारबाही गरिने भन्दै कुनै व्यक्तिले निषेधाज्ञाको उल्लङ्घन गरेमा एक लाख रूपैयाँसम्म र कुनै संस्थाले उल्लङ्घन गरेमा पाँच लाख रूपैयाँसम्म जरिबाना गरिने बताइएको छ । यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रूपैयाँ, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लङ्घन गर्नेलाई पटकैपिच्छे दुई सय रूपैयाँ, अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी साधन भए दुई हजार रूपैयाँ र अन्य सवारी साधन भए पाँच हजार रूपैयाँ जरिबाना लगाई निश्चित समयसम्म सवारी साधन नियन्त्रणमा लिइने भएको छ ।

निषेधाज्ञामा नियम विपरीत काम गर्ने संस्था वा व्यवसायलाई थप ६ महिनासम्मको लागि बन्द गर्न समेत सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।