एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत तेस्रो दिन आज (आइतबार) राति समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । समूह ‘डी’ मा इंग्ल्यान्ड र क्रोएसियाले प्रतिस्पर्धा गर्दा समूह ‘सी’ तर्फ अष्ट्रिया र नर्थ म्यासेडोनिया तथा नेदरल्यान्ड्स र युक्रेनबीच आज राति नै प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्ड र क्रोएसियाबीचको खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ । दुवै टोली जित निकाल्दै युरोकपमा सुखद नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । स्टार र युवा खेलाडीले भरिएको उपाधि दावेदार इंग्ल्यान्ड घरेलु मैदानमा क्रोएसियालाई हराउँदै मैदानमा उत्रनेछ । गत नोभेम्वरमा बेल्जियमसँग २–० ले पराजित भएयता लगातार ६ जित निकालेको इंग्ल्यान्ड क्रोएसियाविरुद्ध पनि सोही जितको यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

यता, विश्वकपको उपविजेता क्रोएसिया पनि इंग्ल्यान्डलाई हराउँदै सुखद नतिजा निकाल्ने दाउमा हुनेछ । २०१८ को विश्वकपमा अप्रत्यासित रुपमा फाइनलमा स्थान बनाएको क्रोएसिया सोही प्रदर्शनलाई युरोकपमा पनि निरन्तरता दिने लक्ष्यमा हुनेछ । तर, टोलीको पछिल्लो प्रदर्शन राम्रो रहन सकेको छैन । क्रोएसियाले युरोकपअघिको तयारी खेलमा अर्मेनियासँग बराबरीमा रोकिदा जर्मनीलाई १–० ले नतिजा सुम्पिएको थियो । क्रोएसिया इंग्ल्यान्डलाई हराउँदै जितको लयमा फर्कन चाहन्छ ।

यि दुई टोलीको पछिल्लो तीन भेटमा समान एक जित, बराबरी र हारको नतिजा छ । २०१८ को विश्वकपको सेमिफाइनलमा क्रोएसियाले अतिरिक्त समयमा २–१ को जित निकाल्दा त्यसपछि नेसन्स लिगमा गोलरहित बराबरी हुदा नेसन्स लिगमै इंग्ल्यान्डले २–१ को जित निकालेको थियो ।

यस्तै समूह ‘सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजेपछि बुकारेस्टस्थित एरिना नासिनोलामा हुनेछ । जर्मन बुन्डेसलिगामा प्रभावशाली प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको अष्ट्रिया पहिलोपटक युरोकपमा प्रतिस्पर्धा गर्न लागेको नर्थ म्यासेडोनियालाई हराउँदै विजयी सुरुवात गर्न चाहन्छ । तर, नर्थ म्यासेडोनियाविरुद्ध मैदान उत्रदा टोलीलाई एक प्रकारको दवाव हुनेछ ।

सन् २००८ र २०१६ मा दुईपल्ट युरो खेलेको अष्ट्रियाले दुई बराबरी र चार हार आत्मसात गरेको छ । छनोट चरणमा अस्ट्रियाले म्यासेडोनियालाई दुवैपल्ट हराएको थियो । यता, म्यासेडोनिया पहिलोपल्ट प्रतियोगिता खेलिरहँदा डेब्युू खेलमा जित निकालेर यसलाई सम्झनलायक बनाउन चाहन्छ । सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको म्यासेडोनिया पहिलोपल्ट कुनै ठूलो प्रतियोगिता खेलिरहेको छ । टोलीको युरोकपसम्मको यात्राको लागि नेसन्स लिगको प्लेअफमार्फत जर्जियालाई पन्छाएको थियो ।

यस्तै समूह ‘सी’ मै रहेको नेदरल्यान्ड्सले घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टरडममा युक्रेनको आतिथ्यता गर्नेछ । खेल राति १२ः४५ बजे हुनेछ । नेदरल्यान्ड्स सन् २०१४ पछि पहिलोपटक ठुलो प्रतियोगितामा फर्कदैछ । सन् २०१६ को युरो र २०१८ को विश्वकपमा छनोट हुन असफल रहेको नेदरल्यान्ड्स फेरि एकपल्ट ठूलो प्रतियोगितामा फर्किएको छ । टोलीका लागि युरो २०२० आफ्नो प्रतिष्ठा कायम राख्ने प्रतियोगिता हुनेछ ।

लगातार तेस्रोपटक युरो खेलरिहेको युक्रेन बलियो डच टोलीलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सन् २०१६ को संस्करणमा युक्रेन कुनै गोल गर्न असफल रहेको युक्रेनले यसपल्ट राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ । यसको कारण छनोट चरणमा टोलीको दमदार प्रदर्शन हो । तर, टोली पछिल्लो ६ खेलमा अपराजित रहेपनि मात्रै दुई जित छ । ६ मध्ये पछिल्लो दुई जितले टोलीले युरोकपको लागि तयार रहेको संकेत दिएको छ ।